१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २३ मंगलबार ०१:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीले बोलाएको सर्वदलीय बैठकमा यस्ता छन् कांग्रेसका एजेन्डा

आज प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार ०१:००:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने भएको छ । प्रधानमन्त्री, सरकारका क्रियाकलाप र सत्तासीन दल नेकपाका कारण संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध आवाज गुन्जिन थालेको निष्कर्ष निकाल्दै कांग्रेसले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीलाई यसबारे सचेत गराउने निर्णय गरेको छ । 

आफ्नै पार्टीभित्र तीव्र मतभेद भएको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा ठाउँठाउँमा प्रदर्शन भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बोलाइएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक आयोजना गरेको र समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरोधी शक्तिको चलखेल बढेको भन्दै सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए । यद्यपि, पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली बैठकमा भने अनुपस्थित थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न शीर्ष नेताहरूको बैठक बोलाएका थिए । बैठकपछि नेता बालकृष्ण खाणले बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने जानकारी दिए । ‘नेकपाभित्रको विवादले सरकारले पनि काम गर्न सकेको छैन, जसले गर्दा संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै गम्भीर धक्का पुगेको महसुस भएको छ,’ खाणले नयाँ पत्रिकासँग भने, ‘अहिले सडकमा जुन खालका नारा सुन्न थालिएको छ, त्यसमा प्रधानमन्त्री, सरकार र राष्ट्रपतिले पनि बढावा दिनुभएको हाम्रो निष्कर्ष छ ।’ 

बैठकमा सरकारले संविधानको रक्षा र पालना गर्ने दायित्व पूरा गर्न नसकेकोबारे छलफल भएको नेता खाणले बताए । ‘संविधानको रक्षा र पालना गर्ने दायित्व सरकारको हो । तर, सरकार स्वयं कतिपय सन्दर्भमा संविधानका प्रावधानहरू उल्टाउने, प्रतिकूलतामा हिँड्ने, लोकतान्त्रिक मूल्य र पद्धतिलाई असहज रूपमा लिने, आफूसँग असहमत हुने सबैलाई सखाप पार्ने सर्वसत्तावादी र निरंकुश शैलीमा हिँडिरहेको छ,’ उनले बैठक राख्ने विषयबारे भने । 

राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका कारण समेत लोकतान्त्रिक व्यवस्थाप्रति निराशा छाएको कांग्रेसको निष्कर्ष रहेको उनले बताए । ‘राष्ट्रपति भइसकेको व्यक्ति कुनै अमूक पार्टीको समर्थक वा नेता होइन, उहाँले आमनेपालीको आस्थाको केन्द्रबिन्दु बन्नुपर्छ, तर अहिले त राष्ट्रपतिको भूमिकामाथि नै प्रश्न उठेको छ,’ उनले भने । 

बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला प्रधानमन्त्रीले अचानक सर्वदलीय बैठक बोलाएको विषयमा भन्दै आश्चर्य प्रकट गरे । मुलुकको समस्या समाधानका लागि नभई आफूमाथिको अप्ठ्यारो टार्न कुनै उपाय निस्किन्छ कि भनेर प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको कांग्रेस नेताहरूको आरोप छ । ‘आमनागरिक, संविधान र राष्ट्रको सुरक्षा गर्न नसक्ने र नेकपाको झगडामा मुलुकको ध्यान र शक्ति लगाउने र जनताको बेहाल बनाउने अवस्था सरकारले निर्माण गरेको छ, यसको जवाफदेहिता प्रधानमन्त्री, सरकार र सत्तासीन पार्टीले लिनुपर्छ,’ बैठकको निष्कर्ष सुनाउँदै नेता खाणले भने । 

बैठकमा कांग्रेसले संसद्को बैठक बोलाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गर्ने जनाएको छ । ‘हठात्मा बन्द भएको संसद् यस्तो विषम परिस्थितिमा पनि पाँच महिनासम्म ठप्प राख्नु उचित होइन, जनताका समस्यामाथि छलफल हुने संसद् खुला गर्न माग गर्दै कांग्रेसले निर्णय गरिसकेको छ,’ खाणले भने, ‘यथाशीघ्र संसद् बैठक बोलाउन पनि कांग्रेस माग गर्छ ।’ 

बैठकमा ‘सरकारको दमनकारी र पक्षपाती कार्यशैलीका विरुद्ध कांग्रेसले देशभरि प्रदर्शन नै गर्दै छ, सर्वदलीय बैठकमा कांग्रेसको प्रतिनिधित्व गर्ने टोलीले सोबारेमा पनि अवगत गराउने’ नेता खाण बताए । देउवानिवास बुढानीलकण्ठमा भएको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, गोपालमान श्रेष्ठलगायत सहभागी थिए ।