१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ मङ्सिर १९ शुक्रबार १५:३२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कृषिमा सहुलियत ऋण, ६ स्थानीय तहले गरे बैंकसँग सम्झौता

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ मङ्सिर १९ शुक्रबार १५:३२:००

रुकुम पश्चिमका कृषकले सहुलियत ऋण पाउने भएका छन् । विभिन्न कृषि उद्यमका लागि जिल्लाका कृषकले विभिन्न बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउने भएका हुन् । 

कृषिमा व्यावसायिकता बढाउँदै उत्पादनमा वृद्धि गर्ने र आयआर्जनमा सुधार गर्न जिल्लाका ६ वटै स्थानीय तहले विभिन्न बैंकसँग सहुलियत ऋणका लागि सम्झौता गरेका छन् ।

चौरजहारी नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंक, मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकाले ग्लोबल आइएमई बैंक, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले लक्ष्मी बैंक तथा सानीभेरी गाउँपालिकाले सनराइन बैंकसँग सम्झौता गरेका छन् । 

पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा ६ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले बैंकहरूसँग सम्झौता गरेका हुन् । 

बैंकहरूले नेपाल सरकार सहुलियत कर्जा प्रवाहसम्बन्धी कार्यविधि २०७७ अनुसार सम्झौताबमोजिम ऋण उपलब्ध गराउनेछन् । ब्याजदर बैंकअनुसार फरक–फरक हुनेछ । ५ देखि १० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध हुने स्थानीय तहहरूले बताएका छन् । 

जिल्लाका लागि कृषि नै समृद्धिको आधार भएकाले कृषिमा लगानी बढाउन यस्तो कदम लिइएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए ।

‘कृषिबाटै समृद्धिको सपना देखेका छौँ, त्यसलाई साकार पार्नका लागि कृषिमा लगानी बढाउन खोजेका हौँ,’ उनले भने, ‘सहुलियतमा ऋण लगानी गर्न बैंकहरू तयार भएका छन्, अब कृषिमा लगानी बढ्छ, यसले जिल्लावासीको आर्थिक स्थितिमा सुधार आउने विश्वास लिएका छौँ ।’  

एक समूहलाई १० लाखसम्म ऋण 

सहुलियत ऋणका लागि पाँच–पाँचजनाको सहकार्य समूह गठन गरिनेछ । उक्त समूहलाई बढीमा १० लाखसम्म ऋण उपलब्ध हुने आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए । 

समूहको निर्णयअनुसार उक्त ऋण सदस्यहरूले व्यक्तिगत रूपमा खर्च गर्न पाउनेछ । एक व्यक्तिले दुई लाखसम्म ऋण लिन पाउने नगरप्रमुख केसीले बताए । सहकार्य समूहले कस्ता उद्यम गर्ने हो त्यसका आधारमा ऋण उपलब्ध हुनेछ । 

यसरी प्राप्त हुने ऋण उत्पादनमूलक कृषिमा लगानी हुनेछ । ‘भैँसीपालन, बाख्रापालन, तरकारी खेती, बिउ उत्पादन, फलफूल उत्पादन, मसला उत्पादनजस्ता उत्पादनमूलक काममा ऋण लगानी हुनेछ,’ नगरप्रमुख केसीले भने ।

यो ऋण जिल्लाका सबै ३० हजार घरधुरीलाई नै उपलब्ध गराउने गरी सोचिएको स्थानीय तहहरू बताउँछन् । कृषि उत्पादनमा जोडिन चाहने जोसुकैले पनि कार्यक्रमसहित स्थानीय तहमा आएमा उनीहरूलाई ऋणका लागि स्थानीय तहहरूले बैंकमा सिफारिस गरी पठाउनेछन् । 

स्थानीय तहले कृषकलाई ऋणका लागि सहयोग गर्नुका साथै कृषकले उत्पादन गरेका उपजको बजारीकरण, मल, बिउ तथा उपकरणमा समेत सहयोग गर्ने जनाएका छन् । 

ऋण असुलीमा समेत स्थानीय तहले बैंकलाई सघाउनेछन् । कुनै समूहले ऋण लगेर फिर्ता नगरेमा समूहमा रहेका सदस्यहरूको चल तथा अचल सम्पत्तिबाट अथवा सम्झौताअनुसार बैंकहरूले असुलउपर गर्नेछन् । 

सुनौलो भविष्यका लागि जोखिम 

कृषि क्रान्तिका लागि यो कदम चालिएको पहलकर्ता प्रतिनिधिसभा सदस्य ‘प्रभाकर’ले बताए । ‘यो ठूलो जोखिम हो, हामीलाई थाहा छ, तर सुनौलो भविष्यका लागि जोखिम मोलेका छौँ, हामी सफल पनि हुनेछौँ,’ उनले भने । 

जोखिम छ भनेर हात बाँधेर बस्ने अवस्थामा आफूहरू नभएकाले सिंगो जिल्ला र जिल्लावासीका लागि जोखिम लिएको उनले बताए । यो जोखिमलाई अवसरका रूपमा परिणत गर्दै कृषि क्रान्तिलाई सफल पारिछाड्ने उनको ठोकुवा छ । 

जिल्लाका स्थानीय तहहरूले पनि अप्ठ्याराका बीचबाट अगाडि बढ्दै राम्रो प्रतिफल निकाल्न ध्यान केन्द्रित गर्ने बताएका छन् । 

मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले परम्परागत कृषिलाई अब आधुनिक र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । समाजवादको जग निर्माणमा आफूहरू रहेको र कृषिमा सहुलियत ऋणले जिल्लाको कृषिले मुहार फेर्ने उनको दाबी छ ।