मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर १९ शुक्रबार १३:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘लाइभ सेभिङ’ औषधिको आपूर्ति सहज बनाउन माग  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर १९ शुक्रबार १३:२२:००

जीवन रक्षाका लागि अति आवश्यक ‘लाइभ सेभिङ’ औषधिको सहज आपूर्तिका लागि मोरङका औषधि व्यवसायीले माग गरेका छन् । 

जीवन रक्षाका लागि अति आवश्यक ‘लाइभ सेभिङ’ औषधिहरूमा अझै राज्यबाट वैधानिक  सेन्डिकेट लगाउने काम भइरहेकाले बिरामीले सहज रूपमा प्राप्त गर्न नसकेको र कालोबजारी भइरहेको व्यवसायीहरूले आरोप लगाए । 

यसैले मोरङका औषधि व्यवसायीहरूले अति आवश्यक पर्ने औषधिहरूको आयातमा भइरहेको सेन्डिकेट हटाएर आपूर्ति सहज बनाउन माग गरेका हुन् ।   

औषधि व्यवस्था विभागमा दर्ता भएका ‘लाइभ सेभिङ’ औषधिहरूको आयातमा राज्यबाटै वैधानिक सेन्डिकेट कायम गराउने काम भइरहेकोले  बजारमा बिरामीले सहज रूपमा पाउन नसकेको र कालोबजारी झन् बढ्दै गएको औषधि व्यवसायीको भनाइ छ ।  

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना अझै पनि मोरङमा कोरोनाको रेम्डेसिभिर भ्याक्सिनसँगै अन्य औषधिहरूको अभाव भएकोले कालोबजारी भइरहेको बताउँछन् ।

उनले भने, ‘जबसम्म  राज्यले आयतमा कायम गराएको सेन्डिकेट हटाउँदैन तबसम्म औषधिको अभाव र कालोबजारी चलिरहन्छ ।’   

औषधि आयातमा कायम  सेन्डिकेट नहट्दा संक्रमित बिरामीहरू भारु ४५ सय मूल्य पर्ने रेम्डेसिभिर औषधि कालोबजारमा  सातदेखि १५ हजारसम्म मूल्य तिरेर प्रयोग गर्न बाध्य भइरहेका छन् । 
 
कतिपयले भारतीय बजारबाट आफन्तमार्फत मगाउने गरे पनि धेरै बिरामी महँगो मूल्य तिरेर प्रयोग गर्न बाध्य भइरहेका छन् ।

औषधि व्यवसायीका अनुसार ‘रेम्डेसिभिर’ इन्जेक्सन काठमाडौंका एतिकेम, माइलोन र हेड्रोलगायत तीनवटा कम्पनीले मात्र आयात गरिरहेका छन् । तर, हालसम्म कति आयात भयो र आपूर्ति कहाँ–कहाँ कति–कति भयो भन्ने विवरण सार्वजनिक भएको छैन । 

सरकारी प्रयोजनका लागि मात्र आयात गरिँदै आएको भनिए पनि हालसम्म कति आयात भयो र कहाँ–कहाँको अस्पताललाई उपलब्ध गराइयो र कति खपत भयो भन्ने कुनै विवरण सार्वजनिक नहुँदा औषधिको कालोबजारी भएको हुन सक्ने आशंका व्यवसायीको छ ।
  
साथै कोरोनाको उपचार गर्ने  विराटनगरका निजी अस्पताल  आसपासका औषधि पसलले रेम्डेसिभिर औषधिको खुलमखुल्ला कालोबजारी गरिरहेका छन् ।
  
धेरै कम्पनीले  रेम्डेसिभिर आयात गर्न अनुमति पाएमा आपूर्ति सहज हुने र बिरामीले तोकिएकै मूल्यमा सहज रूपमा प्राप्त गर्न सक्ने दाबी व्यवसायीको छ । 
 
औषधि कालोबजारी गर्नेलाई कारबाही माग 

अर्कोतिर मधुमेह, मानसिक, रक्तचाप, दम, किड्नी, मुटु आदिका लागि अतिअत्यावश्यक ‘लाइफ सेभिङ’ औषधिहरू कोरोना संक्रमणले गर्दा आयात हुन नसकेको कृत्रिम बहाना बनाएर पनि कालोबजारी गर्ने काम भइरहेको छ । 
  
केहीले औषधिको अभाव देखाएर नेपालमा दर्ता नै नभएका प्रतिबन्धित औषधिहरू पनि तस्करीबाट भित्र्याएर लुकाइछिपाई बिक्री गर्ने गरेका छन् । 
    
नेपाल औषधि व्यवसायी संघ मोरङ उपाध्यक्ष   देशबन्धु ढकालले अधिक नाफाका लागि औषधि व्यवसायीले नै गैरकानुनी प्रतिस्पर्धा गरेर सेन्डिकेट कायम गराउनु र कालोबजारी गर्नु आचारसंहिताविपरीत हुने बताए । 

उपाध्यक्ष ढकालले भने, ‘अवैध औषधि चोरीतस्करी गरी ल्याएर हाम्रो व्यवसायलाई बदनाम गराउने काम भइरहेको छ, यसलाई  सरकारले तुरुन्त रोक्नुपर्छ ।’ 

कोरोना महामारीको समयमा अति आवश्यक पर्ने लाइफ सेभिङ औषधिहरूको अभावसँगै कालोबजारी हुन थालेको भन्दै औषधि व्यवसायी संघ मोरङले व्यवसायलाई मर्यादित बनाउन चरणबद्ध छलफल र अन्तर्क्रिया गर्न थालेको छ ।