नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा सधैँझैँ हुने सिकार घटेको छ ।
विभिन्न देशबाट सिकार खेल्नका लागि आउने सिकारी कोरोनाकै कारण यस वर्ष ढोरपाटन आउन सकेका छैनन् ।
कोरोनाका कारण गत वर्षको दोस्रो सिजनको रोकिएको सिकार देशमा लकडाउन खुलेसँगै यस वर्षको पहिलो सिजनको भने भएको छ । तर, विगतमा झैँ सिकार खेल्नका लागि सिकारी भने आएका छैन ।
हरेक वर्ष असाेज महिनादेखि मंसिर पहिलो हप्तासम्म पहिलो यामको सिकार गरिन्छ भने फागुन महिनादेखि वैशाख पहिलो हप्तासम्म दोस्रो यामको सिकार गरिन्छ ।
ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीहरूले आफ्नो प्रमुख गन्तव्यका रूपमा मान्दै आएका छन् ।
प्रत्येक वर्ष आठदेखि १० नाउर र झारलको सिकार खेल्नका लागि अनुमति माग्ने कम्पनीहरूले कोरोनाका कारण यस वर्ष भने धेरै अनुमति मागेनन् ।
यस वर्षको पहिलो सिजनमा जम्मा एक झारल र एक नाउरको मात्र सिकार भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकारका लागि असोज ९ गते बोलपत्र प्रकाशन गरे पनि कोरोना कहरका कारण एउटा कम्पनीले मात्रै आवेदन दिएपछि यस वर्ष सिकार पर्यटन घटेको कँडेलले बताए ।
‘विगतमा विभागले प्रत्येक वर्ष २० नाउर र ११ झारलका लागि दुई सिजनमा बोलपत्र आह्वान गर्थ्यो,’ कँडेलले भने, ‘यस वर्षको पहिलो सिजनका निम्ति पनि १० नाउर र ६ झारलको बोलपत्र आह्वान थियो । कोरोनाका कारण एउटा कम्पनीको मात्र आवेदन पऱ्याे ।’
उनले सिकारका निम्ति विभागमा नेपाल टुर एक्पिडिसन कम्पनीले मात्र सिकार आवेदन दिएको र सोहीअनुसार मंसिरको ५ गतेदेखि १० गतेभित्र सिकार गरिसकेको बताए ।
विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि सिकारका लागि यस वर्ष एउटा कम्पनीले मात्र प्रस्ताव पेस गरेको थियो ।
अन्य कम्पनीहरूले नेपालमा कोरोनाका कारण देखाउँदै सिकार गर्न नआएका कँडेलले बताए ।
‘यस वर्ष अन्य कम्पनीले सिकारका लागि प्रस्ताव गर्न नआउँदा प्रतिस्पर्धा हुन सकेन । यसले गर्दा नाउर र झारलको सिकार मूल्य निकै घटेर गएको हो,’ कँडेलले भने, ‘एउटा मात्र कम्पनीले हालेको प्रस्तावमा विभागले स्वीकृत गऱ्याे । नाउरका लागि १ लाख ६० हजार रुपैयाँ र झारलका लागि ९० हजार रुपैयाँ मात्रै राजस्व बुझाएर सिकार गरेका थिए ।’
सिकारका लागि अनुमति पाएको कम्पनीमार्फत बेल्जियमका सिकारीले सिकार आरक्षको धुस्तुङ ब्लकमा एक झारल र एक नाउरको सिकार गरेका हुन् ।
कोरोनाका कारण यस वर्षको सिकारयाममा सिकार गर्नेका निम्ति विदेशी सिकारीहरू नआउँदा घटेको कँडेल बताउँछन् ।
अघिल्लो वर्षको दोस्रो सिजनमा कोरोना कारण १० नाउर र पाँच झारलको सिकार अनुमतिमै सीमित हुन पुगेको थियो । कोरोना बढेका कारण त्यो वेला कुनै पनि सिकार भएन ।
आरक्ष क्षेत्रमा सिकारका लागि अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार थालेपछि चार दिनमै सिकार सकेर फर्केको आरक्षण कार्यालयले जनाएको छ ।
कोरोनाअघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारका लागि सिकारी आउने गरेका थिए ।
कोरोना कहरका कारण यस वर्ष अन्य कम्पनीले सिकारका लागि आह्वान नै गरेनन् । बाग्लुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ ।
आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ ।
अहिले आरक्षणको सुरक्षाका लागि नेपाली सेनाको शत्रुमर्दन गुल्मसमेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।
विभागका अनुसार अघिल्ला वर्षहरूमा एक नाउर र झारललाई बढीमा १२ लाख रुपैयाँ राजस्व बुझाएका कम्पनीले कोरोनाका कारण यस वर्ष भने प्रस्ताव नै ल्याएनन् ।
ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको सिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि सिकारी आउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
सरकारले ०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि बर्सेनि सिकारका लागि अनुमति प्रदान गरिँदै आइएको छ ।
विश्वभरका साहसिक सिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा सिकार गर्नका लागि अमेरिका, रुस, स्पेनलगायतका विकसित मुलुकबाट धनाढ्य सिकारी हेलिकाेप्टर चार्टर्ड गरी ढोरपाटन आउने गर्दछन् ।