मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १९ शुक्रबार ०९:२६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुख्यमन्त्रीको वडामा २६ करोडको पुल शिलान्यास

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १९ शुक्रबार ०९:२६:००

हेटौँडा– ११ स्थित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवास रहेको वडामा २६ करोडको पुल निर्माण गरिने भएको छ । हेटौँडा–११ नवलपुर र १२ पदमपोखरी जोड्ने पक्की पुलको बिहीबार मुख्यमन्त्री पौडेलले नै शिलान्यास गरे । दुई वर्षभित्र निर्माण सक्ने गरी मुख्यमन्त्री पौडेलकै पहलमा योजना अघि सारिएको मन्त्रालयले जनाएको छ ।

पुलको लागत २६ करोड ४१ लाख ८७ हजार रुपैयाँ अनुमान गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण सुरु गरिएको पुलको लम्बाइ दुई सय १५ मिटर र चौडाइ ११ मिटर हुनेछ । पुल निर्माणको ठेक्का एलिट कन्स्ट्रक्सन काठमाडौंले पाएको छ । नवलपुल–पदमपोखरी जोड्ने पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारणले मुख्यबजार आउन करिब एक घन्टाको यात्रा गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रका सर्वसाधारणले १५ वर्षदेखि पुल निर्माणको माग गर्दै आएका थिए । 

प्राथमिकताका आधारमा विकास : मुख्यमन्त्री पौडेल

पुल शिलान्यास गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारले तय गरेका विकासका आयोजना प्राथमिकताका आधारमा अघि बढ्ने दाबी गरे । उनले प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका विकासलाई क्रमशः अघि बढाउने भन्दै सबै क्षेत्रबाट सहयोग गर्ने आग्रह गरे । ‘सहरीकरण र समानुपातिक रूपमा प्रदेशभर विकासका आयोजना प्राथमिकताका आधारमा निर्माण भइरहेका छन्,’ उनले भने, ‘प्रदेश गौरवको आयोजनाको कामसमेत सुरु भइसकेका छन् ।’ अहिले प्रदेश आवश्यकताका आधारमा समानुपातिक विकासतर्फ अग्रसर भइरहेको उनले बताए । 

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले प्रदेशले प्रदेशभित्रका जिल्लामा मागका आधारमा खानेपानी, पक्की पुल, सडक र विद्युतीकरणतर्फ विशेष ध्यान दिइरहेको दाबी गरे ।