परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ ।
कवियत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरूलाई कवितामा उतारेकी छिन् ।
‘स्वभिमान’नाम दिइएको कवितासंग्रहमा देशप्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरू पनि समेटिएको छ ।
कवियत्री ज्ञवालीले आफ्नो कवितासंग्रहलाई अपांगता भएका बालबालिकालाई समर्पित गरेकी छिन् ।
कवियत्री ज्ञवाली आफैँ पनि अपांगता भएकी छोरीको अभिभावक हुन् ।
संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शीर्षकमा नेपाली नारीहरूमाथिको उत्पीडनलाई उतारिएको छ ।
यस्तै ‘कवितासंग्रहको आवाज’ शीर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ । फरक शारीरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ ।
कवियत्री ज्ञवालीले कवितामा आफ्नी छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छिन् ।
०१९ कात्तिक महिनामा पाल्पा जिल्लामा जन्मेकी कवियत्री ज्ञवाली वामपन्थी आन्दोलनमा संलग्न थिइन् ।
यसअघि उनको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठकसामु आइसकेको छ ।