मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १७ बुधबार १५:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड संक्रमण पहिचान गर्न एन्टिजिन परीक्षण सुरु 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार १५:५२:००

सरकारले कोभिड– १९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण सुरु भएको हो । 

गत सोमबारदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा उपत्यकाका तीन हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिनेछ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक कोशलचन्द्र सुवेदीले काठमाडौं उपत्यकाभित्रका बढी संक्रमण देखिएको ६ वटा वडामा तीन हजार नमुना लिएर परीक्षण गर्न लागिएको बताए । 

मन्त्रालयबाट स्वीकृत भएअनुसार ५ सयभन्दा बढी संक्रमित भएका क्षेत्रहरूमा एन्टिजिनमार्फत परीक्षण गरिनेछ । जसअनुसार सक्रिय संक्रमितहरूको नजिकमा रहेकाहरूको मात्रै परीक्षण गरिनेछ । 

यो विधिअन्तर्गत पिसिआर परीक्षणका लागि नमुना लिएजस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिनेछ र किटमा राखेर आधा घन्टामै रिपोर्ट प्राप्त गर्न सकिनेछ ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)बाट प्रमाणित भइसकेकोले एन्टिजिन परीक्षणलाई विश्वसनीय मानिएको बताए । 

नेपालमा अहिलेसम्म कोभिड संक्रमणको पहिचान गर्न पिसिआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको बताए । एन्टिजिन परीक्षण गरिसकेपछि पिसिआर परीक्षण गर्न नपर्ने पनि उनले बताए । 

पछिल्लो समय उपत्यकामा संक्रमण दर बढ्दै गएको छ । यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने पनि महाशाखाको भनाइ छ । 

एन्टिजिन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा प्रयोग गरिनेछ । मास स्क्रिनिङ, अस्पतालमा उपचाररत बिरामीहरूको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवासगृह, सुरक्षाकर्मीमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिनेछ ।

एन्टिजिन परीक्षणले शरीरमा भाइरसको जिनको अवस्थालाई पत्ता लगाई नतिजा दिन्छ । त्यसैले यसलाई पिसिआरबराबर भएको मानिएको निर्देशक पाण्डेले बताए ।