मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/एपी
२०७७ मङ्सिर १७ बुधबार १३:२१:००
Read Time : > 1 मिनेट
विश्व

चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण 

Read Time : > 1 मिनेट
रासस/एपी
२०७७ मङ्सिर १७ बुधबार १३:२१:००

चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले घोषणा गरेको छ । मानवरहित उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने बुधबार चीन सरकारले जनाएको छ ।

चांगे– ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्बिरहरू पनि सार्वजनिक गरेको छ । 

चिनियाँ अन्तरिक्ष प्रशासनले चांगे यानले चन्द्रमामा ढुंगाहरूका नमुना संकलन गरेको जनाएको छ । यानले चन्द्रमामा अवतरण गर्ने क्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्नेछ ।

चीनको हैनान प्रान्तबाट गत २४ नोभेम्बेरमा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्वाकांक्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलोपटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो । चीनले हाल मंगलग्रहको खोज र अनुसन्धानका लागि पनि यान प्रक्षेपण गरिसकेको छ । चीनले चाँडै मानवरहित यान चन्द्रमामा उतार्ने योजना बनाएको छ । 

दुई दिनसम्म यान चन्द्रमामै रहने
यसपटक चन्द्रमामा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट दुई किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्नेछ । यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ । यी नमुनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ । 

यसैबीच, अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरूले चिनियाँ सफलताका लागि बधाई दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा) का वैज्ञानिक अभियान प्रमुख टमस जर्बुचेनले ट्विटरमा चांगे ५ अभियानको सफलताका लागि चीनलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘यो त्यति सजिलो काम होइन ।’
पृथ्वीमा यसअघि अन्तिमपटक सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो ।  संयुक्त राज्य अमेरिकाका अन्तरिक्ष यात्रीले सन् १९६९ र १९७२ को अवधिमा ३८२ किलोग्राम ढुंगा चन्द्रमाबाट पृथ्वीमा ल्याएका थिए । ती ढुंगाको अध्ययन र विश्लेषण आजपर्यन्त जारी छ ।