मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १६ मंगलबार ०८:०१:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : इज्जतका खातिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १६ मंगलबार ०८:०१:००

रौतहटमा एकजना युवतीका आमाबाबुले एक लाख रुपैयाँ सुपारी दिएर आफ्नै छोरीको हत्या गर्न लगाएछन् । अहिले पक्राउ खाएर खोरतिरको यात्रा आरम्भ हुनुअघि उनीहरू निश्चिन्त थिए कि छोरीका कारण अब इज्जत जाँदैन । छोरीले एकजना युवक मन पराउँथिन् । दुवै बिहे गर्न चाहन्थे । त्यो बिहे हुन दिँदा समाजमा आमाबाबुको इज्जत जान्छ भन्ने छोरीले त स्वीकार गरिनन्, तर आमाबुबाका लागि त्यो कथित इज्जतको सवाल बन्न पुग्यो । तिनले सर्लाहीतिर अर्को युवा खोजेर छोरी अन्माइदिए । तर, युवतीले आफ्नो प्रेमीलाई भुल्न सकिनन् । उनीहरूको पारपाचुके भयो र माइत बस्न थालिन् । अब झन् प्रेम झाँगिने नै भयो । यो कुरा आमाबाबुलाई ठूलो पिरलोको विषय बन्यो । अन्ततः छोरीले आफूले रोजेको युवासँग घरजम गर्नुअघि नै तिनले सुपारी किलरको खोजी गरे र आफ्नै घरमा आमासँगै सुतिरहेकी छोरीको हत्या गराउन पुगे । 

रौतहट र रुकुममा जे भयो, त्यसबाट एउटा सभ्य समाजका सबै सदस्य झस्किनु पर्नेछ, तर अझै हाम्रो राज्य र नागरिक समाजले यस्ता घटना नदोहोरिऊन् भनेर ध्यान दिएको देखिन्न

एउटा भयानक उद्देश्य भएको हत्याकाण्ड पर्दाफास हुँदा उनीहरूसँग न छोरी रहिन्, न इज्जतको कुनै अर्थ रह्यो । समाजमा भइरहेका अनेक हत्या–हिंसाका घटनाका बीचमा यो समाचारले धेरै महत्व नपाएको हुन सक्छ । तर, अन्तर्यमा यसले निकै गम्भीर प्रश्न उठाउँछ । नेपाली समाज पछिल्ला वर्षमा थुप्रै राजनीतिक उथलपुथलबीचबाट अघि बढेको छ । समाजको भित्री तहमा आइरहेको आर्थिक परिवर्तनको दबाब झेल्न नसकेर जसरी हामीले छोटो समयमा सक्रिय राजतन्त्र, संसदीय प्रजातन्त्र र गणतन्त्रको यात्रा तय गरेका छौँ, त्यसरी नै यसले हाम्रो समाजको सांस्कृतिक पाटोमा, पारिवारिक सम्बन्ध र कुलगोत्र सम्बन्धमा पनि हस्तक्षेप गरेको हुनुपर्ने हो । 

सतहमा महिलाले पाएको स्वतन्त्रता र अवसर बढ्दै गएको छ । दलित, मधेसी र जनजातिका राजनीतिक अधिकार विस्तारित भएका छन् । राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलापमा परम्परागत सम्भ्रान्तको नियन्त्रण र एकलौटी भत्केको छ । वैदेशिक रोजगारीका लागि छ्यासमिस भएर बिदेसिएका नेपालीको ठूलो समूहले सांस्कृतिक अन्तरघुलनसहित एउटा नयाँ परिचय लिएर फर्केको छ । यो अग्रगतिको अनुमान गरिएकै समयमा समाजमा घट्ने यस्ता घटनाले एउटा उल्टो र भयप्रद सूचना सम्प्रेषित गरेका हुन्छन् । भारत, पाकिस्तान, बंगलादेश तथा कतिपय अरेबियन देशमा अनर किलिङ भनिने यो हत्यारो मत प्रभावशाली नै छ । उत्तरप्रदेश सरकारले त भर्खरै बिहेपछि हिन्दू महिलाको मुस्लिम धर्ममा हुने धर्मान्तरणलाई निषेध गर्ने कानुन ल्याएर महिलाको आफ्नो शरीर यौनिकता र जीवनमाथिको अधिकार खुम्च्याइदिएको छ । यो एकप्रकारले राज्य संरक्षित अनर किलिङजस्तै हो । 

नेपालमा रुकुम पश्चिममा गत साउनमा भएको दलित युवा र उनका साथीको हत्या त्यस्तै कथित अनर किलिङ नै हो । यस्ता घटना दोहोरिनु समाजले पश्चगामी मूल्य संस्कृति अपनाउन थालेको संकेत हो । रौतहट र रुकुममा जे भयो, त्यसबाट एउटा सभ्य समाजका सबै सदस्य झस्किनु पर्नेछ । तर, अझै पनि हाम्रो राज्य र नागरिक समाजले यस्ता घटना नदोहोरिऊन् भनेर प्रेम र बिहेको विषय युवा–युवती वा स्त्री–पुरुषको स्वतन्त्र छनोटको विषय हो र कसैले यसमा हस्तक्षेप गर्छ भने त्यो कानुनका अघि र समाजका अघि पनि अपराधी ठहरिन्छ भन्ने मूल्य स्थापित गर्न पर्याप्त ध्यान दिएको देखिन्न । यस्ता घटना धर्मान्ध र जाति वा धर्मका आधारमा संगठित समाजका बिम्ब हुन् । यो प्रवृत्तिमाथि वेलैमा नियन्त्रण गर्नु जरुरी छ ।