मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सचिन घिमिरे
२०७७ मङ्सिर १६ मंगलबार ०८:२८:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वविद्यालयमा बलमिचाइ

Read Time : > 5 मिनेट
सचिन घिमिरे
२०७७ मङ्सिर १६ मंगलबार ०८:२८:००

फरक विचार भएकै कारण बाहुबलीबाट कुटिनुपर्ने अनि विश्वविद्यालय सक्षम व्यक्तिका लागि आकर्षणको थलो भएन भन्नुको तुक छैन 

नेपालमा मधेस आन्दोलन चलिरहेको ताका वामपन्थी नेता प्रदीप ज्ञवाली जेएनयूको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा संविधान निर्माणमा नेपाली अनुभवबारे प्रवचन दिन आउनुभएको थियो । सरकारको प्रभावशाली नेता भएका नाताले उहाँलाई प्रवचन दिन तय गरिएको विभागको प्रांगणमा त्यहाँ अध्ययनरत मधेसका नेपाली विद्यार्थीले तत्कालीन सरकारले मधेसप्रति देखाएको रबैयालाई लिएर विरोध प्रदर्शन गरेका थिए । मधेसी विद्यार्थीको आक्रोशित नारा देखेर ढोकैसम्म पुगेका ज्ञवाली जताबाट आउनुभएको थियो, त्यतै फर्केर जानुभयोे । त्यसताका जेयएनयूमा सोही विभागमा अध्ययनरत नेपाली कांग्रेसनिकट नेपाली विद्यार्थी शंकर तिवारीले फेरि उहाँलाई फर्काएर विभागतिरै लिएर आउनुभयो । यसैबीचमा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक संगीता थपलियाले ‘उहाँ मैलै बोलाएको अतिथि हो, तिमीहरूको विरोध गर्ने अधिकारलाई ढोकाबाहिरसम्म मात्र प्रयोग गर’ भनेपछि प्रदर्शनकारी विद्यार्थी शान्त भए । 

नाराबाजीकै बीच प्रदीप ज्ञवालीले भित्र प्रवेश गरेर अतिथिको आसन सम्हाल्नु भयो र संविधान निर्माणको सवालमा नेपालको अनुभवबारे गम्भीर प्रस्तुति दिनुभयो । ढोकाबाहिर आक्रोशित भएर प्रदर्शन गरिरहेका विद्यार्थी पनि नेपालबाट गएका अतिथिको प्रस्तुतिमा भाग लिन भित्र सहभागी भए । त्यस दिन ज्ञवालीले प्रदर्शनकारी नेपाली विद्यार्थीलगायत अन्य नेपाली र भारतीय विद्यार्थीले समेत सोधेका थुप्रै प्रश्नको प्राज्ञिक ओजका साथ अत्यन्त मर्यादित र शिष्ट रूपमा जवाफ दिनुभएको थियो । त्यस दिनको घटनामा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले आफूलाई चित्त नबुझेको विषयवस्तुमा खुलेर विरोध गर्ने अधिकारको प्रयोग गरेको देखियो । 

विश्वविद्यालयभित्र प्रदर्शन गर्ने अधिकारको सीमालाई मनन् गरेर प्रदर्शनकारीले प्राध्यापकको अनुरोधलाई सम्मान गर्दै नेपालदेखि गएको अतिथिलाई कार्यक्रममा आफ्नो धारणा राख्ने अवसर पनि प्रदान गरे । त्यस उपरान्त प्रश्नोत्तरमा भाग लिएर ढोकाबाहिरको आक्रोशलाई ढोकाभित्र गएर नै प्राज्ञिक मर्यादाका साथ आफ्नो असन्तुष्टिलाई अभिव्यक्त पनि गर्न भ्याए । पंक्तिकार स्वयं साक्षी भएको त्यस दिनका दृश्य परिदृश्यले विश्वविद्यालयभित्र राजनीतिक अधिकार प्रयोग गर्ने स्वतन्त्रताले प्राज्ञिक मर्यादाको पनि यथोचित सम्मान गर्नुपर्छ भन्ने बलियो अर्थ दिएको थियो ।

जेएनयूमा एमफिल र विद्यावारिधि गर्दा बितेको एक दशक अवधिमा भारत सरकारसँग सम्बन्धित थुप्रै शक्तिशाली व्यक्ति अतिथि भएर आएको समयमा वाम घटकका विद्यार्थीले पटक–पटक आक्रोशित भएर प्रदर्शन गरेको दृष्टान्तको साक्षी बन्ने मौका पाइयो । पोकापुन्तरा तयार गरेर विश्वविद्यालय छोड्न तयार हुनु भन्ने चर्काे नाराबाजी गर्दै विश्वविद्यालयको भिसी र प्रशासनको रबैयाविरुद्ध पनि विभिन्न मुद्दालाई लिएर अनेक सन्दर्भमा प्रदर्शन भई नै रहेको हुन्थ्यो । तर, यस अवधिमा कुनै विद्यार्थी संगठनले वा तिनका मतियार वा अरौटेभरौटेले प्राध्यापक वा विश्वविद्यालयका पदाधिकारीमाथि नब्बेको दशकको मुम्बैया चलचित्रको सिको गरेर मानिसको जीवन नै तलमाथि हुन सक्ने तहको भौतिक आक्रमण गरेको कहिल्यै सुन्न वा देख्न परेन । 

आफूलाई चित्त नबुझ्ने व्यवहार गरेको आरोपमा विश्वविद्यालयको प्राज्ञलाई मरणासन्न हुने गरी कुट्नुपर्छ भन्ने सोच पालेका व्यक्तिहरू विश्वविद्यालयको विभाग वरिपरि रमाउनु र तिनलाई शीर्ष नेतृत्वको संरक्षण हुनुले देशमा लोकतन्त्रको बहाली भएकै हो त भनेर आफूलाई चिमोट्नुपर्ने भएको छ 

नेपालमा भने केही समयअघि मात्र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेलाई विश्वविद्यालय हाताभित्र नै भौतिक हमला गरी प्राध्यापकलाई चरम मानसिक र शारीरिक पीडाबाट गुज्रिन बाध्य पारिएको छ । यो आफँैमा अत्यन्त लज्जास्पद घटना हुन गएको छ । कोभिडको तीव्र संकमणका वेला उपचारका लागि धेरै दिन अस्पताल बस्नुपर्ने बाध्यता सिर्जना गरेर एक कलमजीवी प्राज्ञलाई चोटका अतिरिक्त सम्भावित कोभिड संक्रमणको भयका कारण महसुस हुने मानसिक र शारीरिक यातना हुँदैसम्म भत्र्सना गर्नुपर्ने घटना हुन पुगेको छ । विभागसँगको कलहमा भाडाका मान्छे लगाएर प्राध्यापकमाथि गरिएको उक्त आक्रमणले नेपाली समाजमा, प्राज्ञिक क्षेत्रमा समेत राजनीतिक अपराधीकरणको कालो छाया मडारिरहेको कुरूप तस्बिर बाहिर आएको छ ।

फरक विचार र शैलीमा व्यवहार गरेकै आरोपमा प्राध्यापकको खुट्टा भाँचिदिने तहको आक्रमण हुन्छ भन्ने दृष्टान्तले व्यावहारिक र वैचारिक विविधतालाई लिएर आजको दिनमा पनि राजनीति गर्ने कर्ममा होमिएकाहरू हदैसम्म निकृष्ट र असहिष्णु व्यवहार गर्न पनि पछि पर्दैनन् भन्ने उदाहरण प्रस्तुत भएको छ । आफूले गरेको कुकृत्यको एकान्तमा एकालाप गर्दा दुई–चार पैसाका लागि कसैको इसारामा एक निर्दोष प्राज्ञको खुटा भाँच्नेजस्तो जघन्य अपराध गरेको थिएँ भनेर पेसेवर अपराधीलाई समेत ग्लानि भएर आफैँसँग घृणा जागेर आउने यो किसिमको आक्रमणको जतिसुकै निन्दा गरे पनि कमी नै हुन जान्छ । 
देश चलाउने राजनीतिक नेतृत्वले आफ्नो प्रारम्भिक राजनीतिक ज्ञान लिने स्थान पनि हो– विश्वविद्यालय । राजनीतिक आडभरोसामा अपराधीलाई परिचालित गरेर

विश्वविद्यालयको प्राज्ञको मानसिक र शारीरिक क्षति पुर्‍याउनेजस्तो कुसंस्कारको सिकार भएका आफ्ना कर्मचारीका विषयमा सम्बन्धित विश्वविद्यालयका जिम्मेवार पदाधिकारीले यस मुद्दालाई गम्भीर तरिकाले नउठाउनु विडम्बनापूर्ण अवस्था हो । यस घटनामा केवल एक प्रेम चलाउनेमाथि मात्र हमला भएकोजस्तो गरेर प्राध्यापकको हकहितका लागि आवाज उठाउने संस्था तथा सरोकारवाला व्यक्तिसमेत मौनताको सिरक ओढेर घरभित्रै सुतिरहनुले संकटको वेलामा आवाज उठाउन नसक्ने टिठलाग्दो प्राज्ञिकताले समाज रूपान्तरणमा के भूमिका खेल्छ, प्रश्न उठाउनुपर्ने भएको छ । संसारमा हरेक देशको नियति राजनीतिक सुसंस्कारमा निर्भर भएको हुन्छ । राजनीतिक पार्टी र तिनका कार्यकर्ताले राख्ने सुभबुझले त्यस देशको वर्तमान र भविष्यलाई दिशानिर्देश गर्छ । तर, अफसोच आफूलाई चित्त नबुझ्ने व्यवहार गरेको आरोपमा विश्वविद्यालयको प्राज्ञलाई मरणासन्न हुने गरी कुट्नुपर्छ भन्ने सोच पालेका व्यक्तिहरू विश्वविद्यालयको विभाग वरिपरि रमाउनु र तिनलाई शीर्ष नेतृत्वको संरक्षण हुनुले के यो देशमा लोकतन्त्रको बहाली भएकै हो त भनेर आफूलाई चिमोट्नुपर्ने भएको छ ।

आजका दिनमा विश्वविद्यालयमा कार्यरत अधिकांश विभागका प्राज्ञ तथा महत्वपूर्ण पदाधिकारी तिनै राजनीतिक पार्टीको हात समातेर विश्वविद्यालय प्रवेश गरेको हुनाले पनि एकै संस्थाको प्राध्यापकमाथि निर्मम आक्रमण हुँदा उनको समर्थनमा कतैबाट पनि बुलन्द आवाज आउन सकेको देखिएन । त्यसमाथि पनि गिरफ्तार भएका अभियुक्तलाई न्यायको नौ सिङको चरित्र अंगिकार गर्दै अदालतले धरौटीमा छोडिदिएपछि जस्तोसुकै जघन्य अपराध गरे पनि कानुनका छिद्र छिचोलेर अदालतले उन्मुक्ति दिन्छ भन्ने अर्को नजिर थपिन पुगेको छ । सर्सती हेर्दा यस घटनामा विश्वविद्यालयको प्राज्ञ मात्र कुटिएको देखिए पनि यस घटनाले समाजलाई दिएको सन्देश अप्रिय र नकारात्मक छ । 

जब राजनीतिले आपराधिक चरित्र धारण गर्छ, त्यसपछि समाजको हरेक आयाममा आपराधिक मनोवृत्तिले प्रश्रय पाउँछ । मुठी कसेर बाँचेका कमजोर व्यक्ति वा संगठन मात्र भौतिक रूपमा अर्को व्यक्तिको देह समाप्त गर्ने नियतले बर्बर युगमा जस्तो हत्याहिंसाको सहारा लिन पुग्छन् । सभ्य समाजमा मुठी खोलेर हिँड्नेहरू त विचार र अधिकारको मर्यादित अभिव्यक्ति र प्रयोगमै समाजलाई दिशानिर्देश गर्छ भन्ने तर्कमा विश्वास गर्छन् । देशले लोकतन्त्र बहालीको उत्सव हरेक वर्ष मनाउँदै जाने अनि फरक विचार र शैलीमा प्रस्तुत भएकै कारण बाहुबलीको हातबाट कुटिनुपर्ने तितो यथार्थमा नेपालका विश्वविद्यालय सक्षम व्यक्तिका लागि आकर्षणको थलो भएन भनेर दन्तबजान गर्नुको पनि कुनै तुक छैन । 

राजनीतिको अपराधीकरणविरुद्ध आवाज उठाउनुपर्ने विश्वविद्यालयको विद्यार्थी संगठनकै नेतृत्वको प्रत्यक्ष वा परोक्ष संलग्नतामा भएको यस घटनाले देशले लोकतन्त्रको बहाली भएको उत्सव मनाइरहँदा पनि पञ्चायतकालीन मण्डलेतन्त्रको हुबहु झझल्को दिएको छ । जुन समयमा मण्डलेविरुद्धको आवाजले जोकोहीको पनि उठिवास लाग्न सक्थ्यो । हामीले चाहेको उन्नत लोकतन्त्र समुन्नत राजनीतिक संस्कारबाट मात्र प्राप्त हुन्छ र उन्नत राजनीतिक संस्कार सिक्ने सिकाउने काम विश्वविद्यालयमा गरिने राजनीतिक र प्राज्ञिक अभ्यासबाट प्राप्त हुन्छ । दिनदहाडै विश्वविद्यालय हाताभित्र एक प्राध्यापक मरणासन्न हुने गरी कुटिँदा नेपालको प्राज्ञिक जगत्, सञ्चार क्षेत्र र तथाकथित नागरिक समाजसमेत त्यस्ता घटनाविरुद्ध आक्रामक तरिकाले प्रस्तुत हुन नसक्नुको पछाडि डरको मानवशास्त्रले गहिरो गरी प्रभाव स्थापित गरेको देखिन्छ । भोलिका दिनमा जागिर खान जाँदा आफूमाथि आक्रमण हुन सक्ने डरले पनि जागिरे प्राज्ञ मौन छन् । तिनै व्यक्तिको आशीर्वादमा पार्टीलाई लेबी बुझाएर विश्वविद्यालय प्रवेश गरेका भक्त प्राज्ञलाई विरोध गर्न सक्ने नैतिक साहस आउने कुरै पनि भएन । 

अछामबाट आएर काठमाडौंमा संघर्ष गरी आफ्नो पहिचान बनाउँदै गरेको एक उपप्राध्यापकको पक्षमा बोल्नु काठमाडौं केन्द्रित ‘एलिट सिभिल सोसाइटीलाई’ खासै मर्मस्पर्शी विषयवस्तु परेन । विश्वविद्यालयमा प्राध्यापकको हकहितका लागि भनेर खोलिएका संघसंगठनले मौका पाउँदा सत्ताको गुलामी गर्नेबाहेक आफूले स्वतन्त्रतापूर्वक आलोचनात्मक चेतको प्रस्फुटन गरेको बिरलै भेटिन्छ । कपोलकल्पित नागरिक समाज गठन गरेर सत्ताको पक्षपोषणमा वक्तव्य निकाल्नुबाहेक एक उपप्राध्यापक कुटिँदा लुकेर भए पनि केही बोल्न सक्ने नैतिक धरातल कतै बाँकी भएको देखिएन । सरकारले विश्वविद्यालयको प्राज्ञमाथि जघन्य हमला हुँदा सरकार आफैँले लिड लिएर अपराधीलाई सजाय दिनुपर्ने अवस्थामा सरकारको नेतृत्व गर्नेको अन्तरसंघर्षका कथित नाटकमा आमनागरिकले भोगेको यो व्यथाले कहीँ कतै स्थान पाउने कुरै भएन । 

प्रधानमन्त्रीले बातैपिच्छे रट लगाएको विधिको शासन र सुशासनजस्ता ‘रेटोरिक्स’ सत्तामा आफू टिकिरहनु कुन अर्थमा जायज छ भन्ने ‘न्यारेटिभ’ स्थापना गर्नबाहेक व्यावहारिकताको धरातलमा त्यसको खासै अर्थ देखिएन । जगजाहेर छ, हाम्रो समाज बलेको आगो ताप्छ । बलेको आगो खोज्दै हिँड्ने संकटको वेला जोखिम मोलेर बोल्नु र मौन हुनुले भविष्यमा हुन सक्ने नाफाघाटाको हिसाब राख्छ । आपराधिक कुकृत्यले घाइते भएका प्राज्ञको शारीरिक र मानसिक चोट सहन नसकेर विश्वविद्यालयको क्वार्टरमा पीडाले बगेको आँसुको लेखाजोखा गर्न कसैलाई फुर्सद हुँदैन । वर्तमान अवस्थामा मानव सभ्यता कोभिड भाइरसको माहामारीबाट मुक्ति चाहन्छ । नेपालजस्तो विकासोन्मुख देशको राजनीति, अपराध नामको भाइरसबाट मुक्त हुन सके मात्र हाम्रो पुस्ताले त्याग गरेको पाएको लोकतन्त्रको सही अर्थमा उपयोग हुने हो । 

विश्वविद्यालयमा प्राध्यापक कुटेर राजनीति सिकेको नेतृत्वले भोलिका दिनमा चुनावमा बम पड्काएर मात्र जित्न सकिन्छ भन्ने सोचको विकास गर्छ । बम पड्काएर चुनाव जितेको नेतृत्वले राज्य सम्हाल्न हिटलर बन्नुपर्ने आवश्यकता देख्छ । समाजमा हिटलर जन्माउने कि गान्धी जन्माउने, मुसोलिनी जन्माउने कि मण्डेला जन्माउने विश्वविद्यालय जस्तो ज्ञान निर्माण गर्ने केन्द्रको हात हुन्छ । जसले जे रोप्यो, त्यही फल्ने हो, अपराधको वृक्ष रोपेर सत्कर्मको अमृत फल सेवन गर्ने आशा कदापि गर्न सकिँदैन । घरि पुस्तकालय जलाउने र घरि प्राज्ञमाथि भौतिक हमला गर्नेजस्ता अपराधको फेहरिस्तले हाम्रो विश्वविद्यालयले आपराधिक मनोवृत्तिको खुलस्त विरोध नगरेर अर्थात् मौन समर्थन गरेर समाजमा विषवृक्ष फैलिएको हेर्न चाहन्छन् भन्ने सन्देश दिएको छ । देशको अग्रणी विश्वविद्यालयमा एक प्राज्ञको त्यो हबिगत हुँदासमेत आपराधिक क्रियाकलापविरुद्ध आवाज उठाउन नसक्ने नियतिमा बाँच्नुपर्ने हामीहरू लोकतान्त्रिक देशको मानव अधिकार सम्पन्न नागरिक हौँ कि अधिनायकवाद र तानाशाहले दबाएर राखेका रैती हौँ ? आफैँलाई प्रश्न सोध्नुपर्ने वेला आएको छ ।