१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
  नाका खुकुलो बनाउन दबाब स्वरूप आन्दोलन गर्दै काँकडभिट्टाका व्यवसायीहरू । 
२०७७ मङ्सिर १५ सोमबार ११:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाका खोल्न होटल र पर्यटन व्यवसायीको दबाब

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार ११:१७:००

दश महिना लामो नाकाबन्दीले व्यवसाय धरापमा परेको भन्दै पूर्वी नाका काँकडभिट्टाका होटल र पर्यटन व्यवसायीले नाका खोल्न सरकारलाई दबाब दिन सुरु गरेका छन् । महामारी नियन्त्रणको प्रतिक्षाले व्यवसाय नै डुबेपछि उनीहरूले नाका खोल्न दबाब सुरु गरेका हुन् ।

सिमान्त सहर काँकडभिट्टामा पर्यटन र होटल व्यवसाय धरासायी भएपछि व्यवसायीले स्थानीय प्रशासनमार्फत केन्द्र सरकारलाई दबाब दिएका हुन् । अन्य नाकामा आपसी समझदारीमा आवतजावतमा सहजता दिँदै व्यवसाय गर्ने वातावरण बनाइदिँदा झापामा बने कडाई गरिएको व्यवसायीको आरोप छ ।

 पूर्वीनाका भएर नेपाल प्रवेश गर्ने भारत, बंगलादेश, भुटान र अन्य देशका पर्यटकलाई झमेला दिएर सरकारले व्यवसाय ठप्प बनाएको छ । महामारीसँगै पूर्वी नाकामा सहज आवतजावत ठप्प हुँदा सिमावर्ती बजारको व्यवसाय डामाडाेल भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्दा ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको पिसिआर रिर्पोट र गृहन्त्रालयको आदेश अनिवार्य छ । जसका कारण भारतीय पर्यटक नआउँदा समस्या भएको ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले बताए । 

‘७२ घण्टाभित्र गरेको पिसिआर रिर्पोट भए सहजै आउने वातावरण बनाइनुपर्‍यो । गृहमा आदेश माग्ने अनावश्यक झन्झट दिँदा पर्यटक आउँदैनन् । गृहले आखिरी अनुमति दिइहाल्छ किन झमेला दिनुपर्‍यो ?’, कार्कीले नयाँ पत्रिकासँग भने, ‘सरकारले दिने झमेलाकै कारण पर्यटक नेपाल आउँदैनन् । जसलका कारण हामीलाई दैनिक हातमुख जोर्नै मुस्किल भयो ।’ 

काँकडभिट्टामा भारतबाट आउने नेपाली र भारतीय नागरिक राख्नका लागि बनाइएको होल्डिङ सेन्टरमा विकृति बढेको भन्दै व्यवसायीले होल्डिङ सेन्टर हटाउन माग गरेका छन् ।

दबाब स्वरूप उनीहरूले यसअघि काँकडभिट्टामा पहिलो दिन प्लेकार्डसहित मौन धर्ना कार्यक्रम गरे । दोस्रो दिन भने नारा र प्लेकार्डसहित काँकडभिट्टा बजार परिक्रमा गरे । दबाब स्वरूप नै उनीहरूले सोमबार (आज) मेचीनगर नगरपालिकाको कार्यालयमा धर्ना कार्यक्रम राखेको अध्यक्ष कार्कीले बताए ।

सरकारले सिमानाका व्यवसायीलाई मध्यनजर गर्दै केही निर्णय गर्छ कि भनेर कुर्दा–कुर्दै दश महिना बितेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।

‘व्यवसाय चौपट भयो । अब त घर भाडा पनि तिर्न नसक्ने अवस्थामा पुग्यो । बैंकले महामारी छ तिमीहरूको कमाई छैन भनेर छाड्दैन रहेछ’, उनले भने, ‘हामी त काँकडभिट्टा छाडेरै भाग्ने अवस्थामा पुग्न लाग्यौँ । बोर्डरको व्यापार यस्तो रहेछ नाकाबन्द हुँदा चरामुसा कोही पनि होटलमा आउँदैन रहेछ । दमक बिर्तामोडतिर त पहाडका मान्छे आउँदा होटल व्यवसाय चलेकै छै । हामी मर्कामा पर्यौं । सीमाको आवतजावत सहज बनाइदिनपर्‍यो ।’

जिल्ला प्रशासन कार्यालय झापाले भने व्यवसायीको यो समस्या जिल्ला प्रशासन तहबाट समाधान गर्न नसकिने जनाएको छ । अन्तर्राष्ट्रिय सीमाको विषय केन्द्र सरकारको अधिनमा रहने भएकाले केन्द्रको निर्देशन बाहिर गएर काम गर्न नसकिने झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । 

‘हामीले केन्द्रको निर्देशन र पोलिसीअनुसार नाकामा कडाई गरेका हौँ । होल्डिङ सेन्टर पनि माथिको निर्देशनअनुसार नै बनाएका छौँ’, उनले भने, ‘उहाँहरूको मागमा हामीले यहाँ केही गर्नसक्दैनौँ । नाका खुकुलो सिडिओले बनाउने हैन । उहाँहरूकाे माग र आन्दोलनको विषय प्रमुख जिल्ला अधिकारीले माथि रिर्पोटिङ गर्नुभएको छ ।’