१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौंको थलीस्थित कान्तीभैरव उच्चमाविमा कक्षाकोठामै भइरहेको पठनपाठन । तस्बिर : सञ्जित परियार/नयाँ पत्रिका
२०७७ मङ्सिर १५ सोमबार ०९:३२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजधानीका विद्यालय खोल्ने विषयमा जनप्रतिनिधिबीच नै मतभेद

एउटै स्थानीय तहमा पनि सहमति जुटेन, काठमाडौं महानगरका मेयरले विद्यालय खोल्न नमानेपछि वडाध्यक्ष आफैँ अग्रसर

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर १५ सोमबार ०९:३२:००

कोरोना भाइरस संक्रमणको जोखिमबीच काठमाडौंका विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय सरकारबीच मात्रै होइन, एउटै स्थानीय तहका जनप्रतिनिधिबीच पनि मतभेद देखिएको छ । जसले गर्दा विद्यालय खुल्ने वा नखुल्ने भन्ने विषय टुंगो लाग्न सकेको छैन । केही स्थानीय तहका वडाध्यक्षले विद्यालय खोल्ने तयारीसमेत गरेका छन् । 

काठमाडौं उपत्यकामा दुई महानगर र १६ वटा नगरपालिका छन् । केही नगरपालिकाले आफ्नो ढंगले विद्यालय खोले पनि अधिकांशले सबैभन्दा ठूलो काठमाडौं महानगरले के निर्णय गर्छ भनेर पर्खिरहेका छन् । तर, काठमाडौं महानगरपालिका विद्यालय खोल्ने पक्षमा छैन । महानगरका वडाध्यक्षहरूले नै विद्यालय खोल्न माग गरे पनि मेयर विद्यासुन्दर शाक्यले चासो दिएका छन् । जसका कारण केही वडाध्यक्ष विद्यालय खोल्न तयारीका लागि छलफलमा जुटेका छन् । 

काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्ध डंगोलले शैक्षिक अवस्था नाजुक हुँदा पनि मेयरले चासो नदिएपछि आफैँले विद्यालय सञ्चालनका लागि पहल गरिरहेको बताए । वडाध्यक्ष डंगोलले १२ मंसिरमा वडाका १२ विद्यालयका अधिकारीसँग सञ्चालन गर्ने विषयमा छलफल गरेका थिए ।

यस विषयमा सोमबार पनि छलफल राखेका छन् । ‘महानगरमा विद्यालय खोल्ने विषयमा छलफल नै भएन, यतिवेला महानगरबाट विद्यालय सञ्चालनको मोडेल आउनुपर्ने हो, नआएपछि आफैँ तयारी गर्दै छु,’ वडाध्यक्ष डंगोलले ‘परीक्षासमेत सञ्चालन भइरहेका छन्, अब स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्नुपर्छ ।’ 

अहिले ठूलो कक्षाबाट बिस्तारै सुरु गरेर तलतिर विस्तार गर्नुपर्ने उनको भनाइ छ । काठमाडौं–७ मा ५० भन्दाबढी विद्यालय छन् । काठमाडौं महानगरको शिक्षा समितिको बैठक नै बसेको छैन । काठमाडौं महानगरपालिकामा सात सय ४० विद्यालय छन् । 

सबैको ध्यान काठमाडौं महानगरमा
विद्यालय सञ्चालनको निर्णय गर्न नसकेका काठमाडौं उपत्यकाका स्थानीय सरकारको ध्यान काठमाडौं महानगरपालिकामा छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन स्थानीय सरकार एक्लैले जोखिम मोलेर विद्यालय खोल्ने निर्णय गर्न नसक्ने बताउँछन् । ‘उपत्यकामा एउटा स्थानीय तहले मात्रै निर्णय गरेर विद्यालय खोल्ने कुरा हुँदैन, अन्तरस्थानीय तह कार्यक्षेत्र भएका विद्यालय छन्, त्यसले थप जोखिम बढाउन सक्छ,’ मेयर महर्जन भन्छन्, ‘अहिले खोल्ने, नखोल्ने अन्योल छ ।’ 

उपत्यकाका सबै नगरपालिकाका मेयर संलग्न रहेको उपत्यका नगरपालिका फोरममा अहिलेसम्म यसबारे छलफल भएको छैन । तर, फोरमका पदाधिकारीहरू भने अहिल्यै विद्यालय खोल्ने वेला नभएको बताउँछन् । फोरमका सचिवसमेत रहेका मध्यपुरथिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठ भन्छन्, ‘अहिले विद्यालय खोल्ने विषय असम्भव छ, चिसो सुरु भएको छ, परीक्षण बढाउनुपर्ने अवस्था छ, संक्रमण बढ्दो छ, यस्तो वेलामा विद्यालय खोलेर जोखिम मोल्नु हुँदैन ।’ 

संक्रमण नियन्त्रणबाहिर गएको अवस्थामा उपत्यकाको संक्रमण नियन्त्रण गर्न पुनः लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुने उनको आकलन छ । ‘संक्रमण नियन्त्रणबाहिर जान दिनुहुदैन, त्यस्तो भयो भने ठूलो क्षति हुन सक्छ,’ मेयर श्रेष्ठ भन्छन्, ‘छठपछिको तीन साताको संक्रमणदर हेरेर त्यसका आधारमा उपत्यकामा पुनः लकडाउन गर्नेबारे सिसिएमसीसँग छलफल भइरहेको छ ।’ 

विभिन्न नगरपालिकाले विद्यालय खोलेका र कतिपयले खोल्ने नखोल्नेबारे अन्योल व्यक्त गरेकाले त्यसबारे पनि छलफल गर्न एक साताभित्र फोरमको बैठक बोलाउने तयारी भएको उनले बताए । ‘आगामी साता फोरमको बैठक बस्दै छ, बैठकमा विद्यालय खोल्ने वा नखोल्ने र शुल्क निर्धारणको विषयमा छलफल हुन्छ,’ उनले भने । 

जोखिम मूल्यांकन गरी स्थानीय  सरकारले नै निर्णय गर्न सक्ने
कोभिड–१९ का कारण बन्द रहेका विद्यालय नियमित सुचारु वा बन्द गर्र्ने विषयमा स्थानीय सरकारले निर्णय गर्न सक्ने गरी शिक्षा मन्त्रालयले कार्यढाँचा सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गरी कोभिडको अवस्था मूल्यांकन गरी स्थानीय तहबाटै विद्यालय खोल्ने वा बन्द गर्न सक्ने व्यवस्था गरेको छ । 

जोखिम बढेपछि कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको ५ चैत, ०७६ को निर्णयअनुसार, देशभरका शिक्षण संस्था बन्द भएका थिए । १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी दिएअनुसार, मन्त्रीस्तरबाट निर्णय गरी कार्यढाँचा ल्याएको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा रहे पनि संघको निर्देशनमा बन्द भएका शैक्षिक संस्था खोल्नका लागि शिक्षा मन्त्रालयले बाटो तय गरिदिएको छ । 

कार्यढाँचामा कोभिड–१९ को संक्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरी विद्यालयलाई भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याई बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने वा जोखिमको अवस्था आएमा बन्द गर्ने र अवस्था सहज हुँदा पुनः सञ्चालन गर्न सकिनेछ । 

सानो समूहमा उपत्यकामै  विद्यालय सञ्चालन 
कोरोनाको जोखिम कायमै भए पनि सुरक्षा अपनाएर काठमाडौं उपत्यकाका छेउछाउलगायत देशका विभिन्न स्थानीय तहमा विद्यालय सञ्चालन भइरहेका छन् । वैकल्पिक विधिबाट सञ्चालन भएका कक्षा प्रभावकारी नभएपछि भौतिक दूरी कायम गरी थोरै संख्याको समूह र सिफ्टमा विद्यालय सञ्चालन हुन थालेका हुन् । 

काठमाडौंमै केही स्थानीय तहले निर्णय गरेर नै विद्यालय सञ्चालन गरेका छन् । अनलाइनको पहुँच नभएका, वैकल्पिक विधिबाट पनि सफल नभएपछि अभिभावकको सहमति लिएर विद्यालय खुलेका छन् । काठमाडौंको कागेश्वरी मनहरा, शिवपुरी, गोकर्णेश्वर, शंखरापुर, चन्द्रागिरिलगायतका नगरपालिकामा सानो समूहमा कक्षा सुरु गरिसकेका छन् । 

कक्षा सञ्चालनका लागि  सात विकल्प
- संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधारसमेत हेरी व्यवस्थापनमा सहजताका लागि स्थानीय तहले अपनाउन सक्ने सातवटा विकल्प कार्यढाँचा दिइएको छ ।
- सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने ।
- अलग–अलग समय (सिफ्ट)मा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने ।
- विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि÷घन्टी छोट्याउने ।
- अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले (जोखिम र सहजतालाई हेरी) कक्षा सुरु गर्ने ।
- कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
- कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
- हप्तामा केही दिन, दिनमा केही घन्टा  सञ्चालन गर्ने ।