मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ मङ्सिर १५ सोमबार ०७:३८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोरोना त्रासले अस्पतालमा प्रसूति गराउने घटे

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ मङ्सिर १५ सोमबार ०७:३८:००

जनकपुरधाम उपमहानगपालिका–१८ का कलामुद्दिन राइनकी छोरी यइसा खातुनलाई प्रसूति बेथा लाग्यो । जनकपुरमै भएकाले उनलाई अस्पताल जाने समस्या थिएन । तर, कोरोना महामारीको डरले उनी अस्पताल जान हिच्किइन् । परिवारका सदस्यले छिमेकमै बस्ने एक निजी अस्पतालमा काम गर्ने नर्सको सहयोग लिएर घरमै प्रसूति गराए ।

महोत्तरी औहरी नगरपालिका–३ कि रीना मण्डल प्रसूति बेथाले छटपटाइरहेकी थिइन् । तर, अस्पतालका कर्मचारी र चिकित्सकलाई कोरोना लागेको खबर सञ्चारमाध्यममा सुनेकाले उनलाई अस्पताल लगिएन । एकजना परिचित चिकित्सकसँग सल्लाह गरेर घरमै प्रसूति गराइयो । 

माथिका यी दुई प्रतिनिधि घटना हुन् । यसले कोरोनाकालमा अस्पताल गएर प्रसूति गराउनेको संख्यामा कमी आएको देखाउँछ । काठमाडौंको एक संस्था गोल्डेन कम्युनिटीले गरेको रिसर्चअनुसार कोरोनाकालमा अस्पताल आएर प्रसूति गराउनेको संख्यामा ५५ प्रतिशत कमी आएको छ । प्रादेशिक अस्पताल जनकपुरसहित अन्य अस्पतालमा गरिएको रिसर्चअनुसार विगतका वर्षभन्दा कोरोना महामारीका वेला संख्यामा कमी आएको हो । 

गत वैशाखदेखि १० मंसिरसम्म प्रादेशिक अस्पताल जनकपुरमा कुल चार हजार एक सय ७० जनाले मात्रै अस्पतालमा प्रसूति सेवा लिएका छन् । जब कि गत वर्ष यो अवधिमा प्रसूति सेवा लिनेको संख्या झन्डै नौ हजार थियो । गत वर्ष ११ हजार दुई सयले सेवा लिएको प्रादेशिक अस्पतालको तथ्यांकले देखाउँछ ।

नेसनल डेमो ग्राफिक हेल्थ सर्भे (एनडिजिएच), २०१६ का अनुसार प्रदेशमा ४५ प्रतिशत महिला मात्रै प्रसूति सेवाका लागि अस्पताल जाने गरेका छन् । त्यसैगरी, ३६ दशमलव एक प्रतिशत गर्भवतीले मात्रै नियमित स्वास्थ्य चेकजाँच गराउने गरेका छन् ।

त्यसैगरी, बच्चा जन्मेको एक घन्टाभित्रमा ४५ दशमवलव तीन प्रतिशत महिलाले मात्रै दूध चुसाउने, ६५ दशमलव दुई प्रतिशत महिलाले मात्रै बच्चा जन्मेलगत्तै बच्चालाई आफूसँगै टाँस्ने गरेको सर्भेमा देखाएको छ । त्यसैगरी, प्रदेश २ मा १३ दशमलव सात प्रतिशत बच्चा तौल आवश्कताभन्दा कम हुने तथा प्रत्येक हजार बच्चा जन्मिँदा ३० जनाको मृत्यु हुने गरेको उक्त सर्भेमा देखाएको छ । 

प्रादेशिक अस्पताल जनकपुरका प्रवक्ता डा. रामनरेश पण्डितले भने, ‘लकडाउनको अवधिमा प्रसूति गराउनेको संख्या न्यून थियो ।’ कोरोनाको भय प्रमुख समस्या भए पनि लकडाउनमा सवारीसाधन बन्द तथा आर्थिक समस्याले पनि ग्रामीण क्षेत्रका सर्वसाधारणले अस्पतालमा आउन नचाहे वा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सहयोग लिएको हुन सक्ने डा. पण्डितले बताए । 

विगतभन्दा सेवामा सुधार 
कोरोना कालमा अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा कमी आए पनि सेवामा भने सुधार आएको छ । गोल्डेन कम्युनिटीले गरेको रिसर्चमा कोरोना कालमा प्रसूति सेवा गराउन आउनेको संख्यामा कमी आए पनि पछि सुधार आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा. जामुन सिंहले भने, ‘बिरामीकै संख्या कम भएपछि स्वास्थ्यकर्मीमा बिरामी हेर्ने चाप हुँदैन, यस्तोमा एक बिरामीलाई स्वास्थ्यकर्मीले दिने समय विगतका भन्दा बढी हुन्छ, बिरामीलाई चेकचाँज वा हेरचाह गर्ने समय बढी हुनु स्वाभाविक हुन्छ ।’ उनले कोरोनाकालमा विगतका वर्षभन्दा स्वास्थ्यकर्मीको संख्या बढी भएकाले पनि सेवामा व्यापक सुधार आएको दाबी गरे ।