मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०९:००:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघ हाँक्ने गोल्छा परिवारको ५४ वर्ष पुरानो सपना पूरा

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०९:००:००

नेपाल उद्योग वाणिज्य महासंघ स्थापनामा महत्वपूर्ण योगदान दिएको अग्रणी औद्योगिक घराना गोल्छा परिवारबाट पहिलोपटक शेखर गोल्छा अध्यक्ष बनेका छन् । ५४ वर्षपहिले महासंघ गठन गर्नुभन्दा अगाडिकै तदर्थ समितिमा उनका बुबा हुलासचन्द थिए । महासंघको पहिलो विधान लेखनमा पनि उनको महत्वपूर्ण योगदान रह्यो । महासंघको स्थापनाकालदेखि अहिलेसम्म हरेकजसो कार्यसमितिमा गोल्छा परिवार सहभागी छ ।

गोल्छा परिवारबाट हुलासचन्द र दिवाकर महासंघको उपाध्यक्षसम्म भएका थिए, तर अध्यक्ष हुन पाएनन् । महासंघको नेतृत्वमा पुग्ने गोल्छा परिवारको सपना बल्ल ५४ वर्षपछि पूरा भएको छ । शेखरले आइतबार अध्यक्षको शपथग्रहण गर्दै भने, ‘बुबाको अध्यक्ष बन्ने चाहना थियो, स्वास्थ्यले साथ दिएन । दाजु दिवाकर प्रथम उपाध्यक्षसम्म हुनुभयो, तर अध्यक्ष बन्न सक्नुभएन ।’

हुलासचन्द २०५० सालको चुनावमा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा थिए । उनको देश दौडाहा सुरु भइसकेको थियो । भर्खर लन्डनबाट ग्र्याजुएट सिध्याएर स्वदेश फर्किएका शेखरले बुबाको चुनावी अभियानमा साथ दिएका थिए । उनी बुबाका चुनावी भाषण पनि तयार पारिदिन्थे ।

चुनावी दौडाहामा हेटौँडा पुगेका वेला राति अचानक हुलासचन्दको स्वास्थ्यमा समस्या देखियो । अर्को दिन बिहानै हेलिकोप्टरमा काठमाडौं ल्याइयो । हृदयाघात भएको रहेछ । डाक्टरले ओपन हार्ट सर्जरी गर्नुपर्ने भनेपछि उनी उपचार गर्न अमेरिका गइहाले । उनी फर्किंदा चुनाव सम्पन्न भइसकेको थियो, विनोद चौधरी निर्विरोध अध्यक्ष भए ।

हुलासचन्द महासंघबाट तटस्थ रहन थालेपछि भतिज दिवाकर गोल्छा महासंघमा सक्रिय भए । उनी ०५६ देखि ०६४ सम्म महासंघको तीन कार्यकाल उपाध्यक्ष भए । प्रथम उपाध्यक्ष भइसकेका दिवाकरको योगदानलाई कदर गर्दै सबैजना सर्वसम्मत अध्यक्ष बनाउन कस्सिएका थिए । तर, चण्डीराज ढकालले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएपछि उनी चुनावी मैदानबाट बाहिरिए । दिवाकर बाहिरिएकै वर्ष शेखर महासंघमा प्रवेश गरे । उनी महासंघमा कार्यसमिति सदस्यबाट छिरेर उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका छन् । शेखरलाई पनि अध्यक्ष हुन नदिन तिनै चण्डी हात धोएर लागेका थिए, तर सफल हुन सकेनन् । 

शेखरसँग नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन, नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (निक्की), वैदेशिक व्यापार संघलगायतमा रहेर काम गरेको अनुभव छ । उनले महासंघमा रहँदा बैंकिङ समितिको सभापति भएर काम गरिसकेका छन् । एसोसिएट उपाध्यक्ष हुँदा रोजगारदाता परिषद्को सभापति भए, जुन वेला नयाँ श्रम ऐनको मस्यौदामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

निजी क्षेत्र र ट्रेड युनियन मिलेर श्रम ऐनको मस्यौदा बनाएको उनी बताउँछन् । अहिले निजी क्षेत्र र श्रमिकबीच श्रम सम्बन्धमा धेरै सुधार आएको छ । उनले निजी क्षेत्रको विकास र अर्थतन्त्रको समृद्धिका विषयमा महासंघबाट बलियो आवाज उठाउँदै आइरहेका छन् । निजी क्षेत्रका समस्या र अर्थतन्त्र राम्रोसँग बुझेको युवा उद्यमी नेतृत्वमा आउँदा महासंघको साख उकासिने पूर्वअध्यक्षहरूको विश्वास छ । मुलुकको प्रतिष्ठित व्यावसायिक घरानाबाट प्रतिनिधित्व गर्ने भएकाले पनि उनको एक्स्पोजर पनि ठूलो छ ।

नेपालको औद्योगिक जग बसाल्न गोल्छा परिवारको महत्वपूर्ण योगदान छ । स्व. रामलाल गोल्छाले मुलुकमा पहिलो उद्योग विराटनगर जुट मिल्स खोलेका थिए । गोल्छा परिवारबाट चौथो पुस्ता पनि व्यवसायमा आबद्ध भइसकेको छ । तीन दर्जनभन्दा बढी उद्योग–व्यवसायहरू सञ्चालन गरिरहेको यो परिवारले १८–२० हजारलाई रोजगारी दिँदै आएको छ ।

उनले केही समयअघि एक भेटमा भनेका थिए, ‘म जिल्लाको मान्छे पनि हुँ, वस्तुगतको पनि हुँ र एसोसिएटको पनि । किनभने, हाम्रा सबैजसो उद्योग जिल्लामा छन् ।’ उनको परिवार उद्योग, कृषि, व्यापार, सेवा व्यवसायमा सक्रिय छ । स्वदेशमै बजाज बाइक एसेम्बल्ड गर्न सुरु गरिसकेका छन् ।

उद्योग तथा व्यापारबाट उदाएको व्यावसायिक घराना भए पनि गोल्छा परिवारको नयाँ पुस्ताले धमाधम नयाँ–नयाँ आइडियामा काम गर्दै व्यापार विविधीकरण गरिरहेका छन् । ‘कुनै पनि संस्थालाई उचाइमा पुर्‍याउन लामो अनुभवभन्दा पनि डेलिभरी गर्ने क्षमता चाहिन्छ, यसमा म कमजोर छैनजस्तो लाग्छ,’ उनी भन्छन् । उनी महासंघको शुद्धीकरण अभियानमा लागेका छन् । महासंघमा मौलाउँदै गएको राजनीतिको अन्त्य गर्ने उनको अठोट छ ।