मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १५ सोमबार ०६:५५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यालय खोल्न स्थानीय सरकारको आदेश

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार ०६:५५:००

गत चैतदेखि बन्द डोल्पाका विद्यालय पनि खुल्न थालेका छन् । कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द विद्यालय आठ महिनापछि खुलेका हुन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले १२ कात्तिकदेखि पठनपाठन सुरु गर्न नगरपालिकाभित्रका ३२ वटै विद्यालयलाई निर्देशन दिएको थियो । लामो समयदेखि पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।

नगरको निर्देशनअनुसार पठनपाठन सुरु गरिएको त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाइ गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ ।

ठूलीभेरीमा खुलेन
ठूलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन । प्रशासनले खुलेका विद्यालय बन्द गर्न ताकेता गर्न थालेपछि ठूलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ । तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकाका विद्यालय भने खुलेका छन् ।

दुवै स्थानीय तहले दसैँ बिदाका लागि बन्द भएका विद्यालय सञ्चालनमा ल्याएका हुन् । यी स्थानीय तहले लकडाउन अवधिभर पनि निरन्तर विद्यालय सञ्चालन गरेका थिए । नजिकिँदै गरेको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने दुवै स्थानीय तहको तयारी छ ।

त्यसैगरी उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाले पनि लकडाउनमा विद्यालय बन्द गरेनन् । अहिले पनि तीनवटै स्थानीय तहले पठनपाठन सञ्चालन गरी धमाधम वार्षिक परीक्षा लिइरहेका छन् । अब छिटै नतिजा प्रकाशन गरेर विद्यालय बन्द गर्ने ती स्थानीय तहको तयारी छ ।

उपल्लो डोल्पामा ६ महिना मात्र पढाइ हुने भएकाले वैशाखमा खुलेका विद्यालय कात्तिक अन्तिम सातासम्म बन्द हुन्छ । काइके गाउँपालिकाले लकडाउनबीचमा विद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बीचमै पठनपाठन रोकेको थियो ।

प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन
डोल्पाका स्थानीय तहले विद्यालय खुलाएका छन् । तर, कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन निर्देशन नभए पनि स्थानीय तहले आफूखुसी विद्यालय सञ्चालन गरेका प्रशासनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ ।

निर्देशनको बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ । कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्नु स्थानीय प्रशासन, स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ सुरेश सुनारले बताए ।

‘विद्यालय खोल्न संघीय सरकारको निर्देशन छैन, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे, अब लिखित निर्देशन नै दिन्छौँ, फेरि अटेर गरे कारबाही गर्छौँ,’ प्रजिअ सुनारले भने, ‘लामो समयदेखि बालबालिकाको पठनपाठन ठप्प भएको छ, तैपनि अहिलेको अवस्था भिडभाड नगर्ने नै छ, बरु सुरक्षा सतर्कता अपनाउँदै वैकल्पिक पद्धति अपनाएर शिक्षा प्रदान गर्न सकिन्छ ।’ जिल्लामा उपलब्ध रेडियो, इन्टरनेट प्रयोग गर्नुका साथै टोलटोलमा शिक्षक परिचालन गरेर शिक्षा प्रदान गर्न सकिने उनले बताए । उनले भने, ‘विद्यालय खोलेर मात्र पढाइ हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ ।’