मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार १५:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजसंस्था र हिन्दू राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक : अध्यक्ष राणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार १५:३८:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर राणाले आमजनताको राजसंस्था र हिन्दू राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक भएको बताएका छन् ।

नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दू राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सराहनीय रहेको अध्यक्ष राणाको भनाइ छ ।

‘सम्बर्द्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो । राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्‍याउनु हामी सबैको कर्तव्य बनेको छ,’ राणाले आइतबार एक सन्देश जारी गर्दै भने ।

‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन । देशका कुनाकुनाका जनता जागेका छन् । वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन् । नेपाली जनता, युवा पिँढी सडकमा आएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दू राष्ट्रको जोडदार माग गर्दै छन्, जो सकारात्मक छ, सराहनीय छ, प्रजातन्त्रअनुकूल छ,’ उनले भने ।

परिवर्तन जनचाहनाविपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकाकाे समेत आलोचना गरे । ‘समावेशिता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो, तर देश दिनदिनै ओरालो लाग्दो छ । भ्रष्टाचारी देश भनेर सरकारले नयाँ कीर्तिमान राखेको छ । गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिह्नमा छ। सत्तारुढ नेकपा कुर्सी र बैठकको झगडामा लिप्त छ,’ उनले सामाजिक सञ्जालमा भने ।

कुर्सीको अन्तहीन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारीप्रतिको जिम्मेवारी चटक्कै भुलेको राणाको आरोप छ ।

‘केपी–पिकेको अन्तहीन आरोप–प्रत्यारोप जनमत, जनहितविपरीत छ । सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ । अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो । दुईतिहाइको शासन भगवानभरोसामा छ, पूर्ण असफल छ,’ राप्रपा अध्यक्षले भने ।

रााणले भने, ‘धर्म, संस्कृति, परम्परा, ऐतिहासिक विरासत, राष्ट्रिय एकतामा आमनेपाली हित सुनिश्चित छ । निष्पक्ष अभिभावक संस्थाप्रतिको जनचाहना यसै मान्यताअनुकूल छ । राजसंस्था, हिन्दू राष्ट्रप्रतिको उभारले विद्यमान जनचाहना, युवा भावना स्पष्ट गरेको छ ।’