मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ मङ्सिर १४ आइतबार १४:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ मङ्सिर १४ आइतबार १४:०८:००

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरूलाई आग्रह गरेका छन् । 

विराटनगरमा आइतबार ‘कोभिड– १९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्यकर्मीसँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । 

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौँ,’ उनले भने, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो। अहिले संक्रमण लाखौँमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभई सचेत हुन जरुरी छ।’

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरू जनतामा पुग्नुपर्ने धारणा राखे । 

‘यो महामारी अहिले मानव जातिको चुनौती हो। यसका विरुद्ध सबै एक भएर लड्नुपर्छ,’ उनले भने, ‘समाजमा अफ्ट्यारो परेको वेला आफ्नो भूमिका देखाउन जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो।’

उनले रोग नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको  भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘उपचार नभएको कोरोनाजस्ता महामारीमा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्डको प्रयोग गर्ने महत्वपूर्ण रैछ। यसका लागि सचेतना आवश्यक छ ।’  

अध्यक्ष तिमिल्सिनाले पैसा वा राहतले भन्दा सचेतना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको बताए । 

स्वास्थ्य अनुशासनमा बसेर हाम्रा दैनिक गतिविधिलाई कसरी नियमित बनाउने भन्ने सचेतना फैलाउनुपर्ने र त्यसमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने महसुस गरेर यसप्रकारको कार्यक्रम सातै प्रदेशमा आयोजना गरिएको उनले बताए । 

यसअघि अन्य ६ प्रदेशमा सम्पन्न अन्तर्क्रियाको अन्तिम कार्यक्रम आइतबार प्रदेश १ मा भएको हो । अन्तर्क्रिया कार्यक्रमको सिलसिलामा सातै प्रदेश पुगेका अध्यक्ष तिमिल्सिनाले आफ्नो अनुरोधमा यति महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्न प्राविधिक सहयोग उपलब्ध गराएकोमा विश्व स्वास्थ्य संगठन र यसका नेपाल प्रमुखलाई धन्यवाद दिए । उनले यसप्रकारका कार्यक्रम स्थानीय तहसम्म गर्ने गरी छलफल र तयारी भइरहेको जानकारी दिए । 

लैंगिक हिंसाको तथ्यांक गम्भीर

अध्यक्ष तिमिल्सिनाले विश्वव्यापी महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बताउँदै प्रत्येक तीनमध्ये एकजना महिला कुनै न कुनै किसिमको लैंगिक हिंसामा परेको अन्तर्राष्ट्रिय तथ्यांक गम्भीर भएको बताए । 

‘महिलाहरू मानसिक यातना, शारिरिक, आर्थिक तथा यौनिकलगायत विभिन्न हिंसामा पर्ने गरेका छन्,’ उनले भने, ‘विभिन्न किसिमका हिंसामा परेकामध्ये १० प्रतिशतले मात्रै न्यायका लागि सम्बन्धित निकायमा उजुरी गर्ने गरेका छन्। यसलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा लाग्नुपर्छ।’

सचेतना फैलाउन सांसदको भूमिका आवश्यक

अन्तर्क्रिया कार्यक्रममा बोल्दै  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि दिनरात काम गरिरहेको बताए । उनले सांसदहरूले सरकारले गरेका राम्रा कामहरूको सञ्चार गर्न तथा स्वास्थ्य सचेतना जनतामा फैलाउन आग्रह गरे । 

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डा. विनोदप्रसाद गुप्ताले कोभिड– १९ पछाडिको विज्ञानबारे आफ्ना भनाइ राखेका थिए । 

यस्तै स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चारविज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिडसम्बन्धी अफवाह तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिकाबारे बताएका थिए ।