मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १४ आइतबार १३:५९:००
Read Time : > 1 मिनेट
फिचर

चीनको दाबी– कोरोना भाइरसको उद्गमस्थल भारत 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १३:५९:००

विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड– १९) देखिएको एक वर्ष पूरा भइसकेको छ । यो एक वर्षको अवधिमा दुई सय २० राष्ट्रमा कोरोना फैलिसकेको छ । यो एक वर्षभित्र कोरोनाकै कारण ६ करोड २५ लाख व्यक्ति संक्रमित तथा १४ लाख ५८ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

विश्वकै अर्थतन्त्र र मानिसको दैनिक जीवन भताभुंग बनाएको कोरोना भाइरसको उत्पत्ति वा यसको उद्गमस्थल चीनको बुहान भन्ने गरिन्छ । तर, चीनले भने यसलाई अस्वीकार गर्दै आइरहेको छ । 

चीनले कहिले युरोपबाट कोरोना फैलिएको दाबी गर्दै आएको छ भने कहिले अमेरिका कोरोनाको उद्गमस्थल बताउँदै आएको छ । यस्तै पछिल्लोपटक कोरोनाको उत्पत्ति चीनको बुहानमा नभएर छिमेकी राष्ट्र भारतमा भएको दाबी गरेको छ । चीनको यो दाबीसँगै पुनः एकपटक भारतसँगको सम्बन्ध थप बिग्रन सक्ने विश्लेषकहरूको भनाइ छ । यी दुई राष्ट्रबीच सीमा र राजनीतिक विषयमा विवाद चल्दै आएको पनि छ । बेलायतबाट प्रकाशन हुने डेलिमेलले शनिबारको संस्करणमा भारतले कोरोना भाइरस फैलाएको चीनको दाबीलाई समाचार बनाएको छ । चीनका वरिष्ठ वैज्ञानिकहरूको एक समूहले यस्तो दाबी गरेको समाचारमा उल्लेख छ । चीनको एकेडेमी अफ साइन्समा कार्यरत ती वैज्ञानिकहरूले भनेका छन्, ‘विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस चीनबाट नभएर भारतबाट फैलिएको हो ।’ 

‘चीनको दाबीमा सत्यता छैन’
भारतीय तथा बेलायती अनुसन्धानकर्ताहरू चीनको दाबीमा कुनै सत्यता नभएको बताउँछन् । बेलायतको ग्लासगो विश्वविद्यालयका प्रोफेसर डेभिड रोबर्टसनले चीनले छिमेकी राष्ट्रलाई चिढ्याउन नयाँ रणनीतिका रूपमा कोरोना भाइरस नीति अपनाएको बताए । ‘कोरोना भाइरस र भारतबीच केही सम्बन्ध छैन, सबैलाई थाहा छ भाइरस कहाँबाट फैलिएको हो, यसकारण चीनले छिमेकीलाई होच्याउन र चिढ्याउन यस्तो रणनीति अपनाएकोजस्तो लाग्छ,’ ग्लासगो विश्वविद्यालयका प्रोफेसर डेभिडले भने । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को एक टोली कोरोना भाइरससम्बन्धी पुनः अनुसन्धान गर्न चीनको बुहानमा पुगेको छ । बुहानमा गत डिसेम्बरमा पहिलो संक्रमित देखिएका थिए । 

यस्तो छ चीनको दाबी
गत वर्षको गर्मी मौसममै भारतमा कोरोना भाइरस संक्रमित देखिएको चीनको भनाइ छ । चीनले जनावरको माध्यमबाट नै यो भाइरस मानिसको शरीरभित्र प्रवेश गरेको बताएको छ । ‘सुरुमा जनावरमा देखियो, त्यसपछि फोहोर पानी पिउने जनावरले नै मानिससम्म सारेको हो,’ चीनका वैज्ञानिकहरूको भनाइ उद्धृत गर्दै डेलिमेलले लेखेको छ, ‘बिस्तारै भारतबाट बुहानमा कोरोना भाइरस प्रवेश ग¥यो, बुहानले केवल संसारलाई कोरोना भाइरसको पहिचान गर्ने काम मात्र गरेको हो । भाइरस सार्नमा बुहानको कुनै हात छैन ।’

यसैगरी सार्स–कोभ २ ट्रान्समिसन धेरै गर्मी स्थानमा मात्र हुन्छ । गत वर्षको गर्मी मौसममा यसको ट्रान्समिसन भएको चीनले बताएको छ । चीनले धेरै जनसंख्या भएको राष्ट्रमा सामान्य भाइरस पनि भाइरल हुन सक्ने दाबी गरेको छ । स्वास्थ्यसम्बन्धी कमजोर नीति भएकाले नै यो भाइरस महिनौँसम्म भारतभित्र नै फैलिएको चीनको भनाइ छ । भारतले यसलाई सुरुमै नियन्त्रित गर्न नसकेका कारण विश्वभर कोरोना फैलिएको चीनको आरोप छ । 

इटाली र अमेरिकामाथि आरोप
चीनले कोरोना भाइरस फैलाएको आरोप भारतमाथि मात्रै लगाएको होइन । यसअघि चिनियाँ वैज्ञानिकहरूले भाइरसको जन्म इटाली तथा अमेरिकामा भएको दाबी गरेका थिए ।

बुुहानमा भएको कोरोना भाइरस खासमा सक्कली नभएको चीनको भनाइ छ । इटाली र अमेरिकामा देखिएको भाइरस नै कोरोना सक्कली भएको चिनियाँ वैज्ञानिक मान्छन् । ‘बंगलादेश, ग्रिस, अस्ट्रेलिया, भारत, अमेरिका, इटाली, चेक रिपब्लिक, रसिया तथा सर्विया कोरोना भाइरसको उद्गमस्थल हुनुपर्छ,’ चिनियाँ वैज्ञानिकहरूले दाबी गरेका थिए । 
–एजेन्सीको सहयोगमा