मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०६:३२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०६:३२:००

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।    

महासंघको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एसाेसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन्।    

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भए । उनीहरु दुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।    

वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।     

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भए । संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरे । महासंघको जिल्ला–नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भए । यस्तै, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् ।  

मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासंघलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए । उनले भने, ‘अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’