मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लीलामणि पौड्याल
२०७७ मङ्सिर १४ आइतबार १०:३१:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ भ्रमण, क्षेत्रीय स्थायित्व र शान्ति

Read Time : > 5 मिनेट
लीलामणि पौड्याल
२०७७ मङ्सिर १४ आइतबार १०:३१:००

नेपाल अर्को मित्रराष्ट्रविरुद्ध प्रयोग हुँदैन र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न सक्षम छ भन्ने सन्देश दिन यो भ्रमण अवसर हो

यही मंसिर १४ गते छिमेकी मित्रराष्ट्र चीनका राज्यपरिषद् (स्टेट काउन्सिल) का सदस्य तथा रक्षामन्त्री र शक्तिशाली केन्द्रीय सैन्य आयोगका एक सदस्य वई फङ्हले नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । यो भ्रमणको ऐतिहासिक शृंखलाबद्ध पृष्ठभूमि छ । 

हजारौँ वर्ष पुरानो नेपाल र चीनबीच रहिआएको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई कूटनीतिक माध्यमबाट अगाडि बढाउन दुवै मुलुक सहमत भएको अहिले ६५ वर्ष पुगेको छ । वास्तवमा कोरोना माहामारी नआएको भए ६५औँ वार्षिकोत्सव मनाउन यसवेला शृंखलाबद्ध थुप्रै कार्यक्रम गर्ने योजना गतवर्ष नै गरिएको थियो । कूटनीतिक सम्बन्धका यी सुखद ६५ वर्षमा द्विपक्षीय सम्बन्धलाई संयुक्त राष्ट्रसँगको बडापत्र र पञ्चशीलका सिद्धान्तका आधारमा आपसी विश्वास, शान्ति, मैत्री, सद्भाव र असल छिमेकीका रूपमा दुवै मुलुक निरन्तर विकसित गर्दै अगाडि बढेका छन् । उनीहरूले मैत्रीपूर्ण छलफलबाट सीमा समस्या समाधान गरे, समानताका आधारमा शान्ति र मैत्री सन्धि गरे र एकअर्काको सुरक्षा चासो तथा संवेदनशीलताको ख्याल गरे । 

एउटा असल छिमेकीका नाताले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने र नेपाली जनताको निर्णयको सधैँ सम्मान गर्ने नीति अवलम्बन गरेर चीन नेपाली जनताको मन जित्न सफल भएको हो । फलस्वरूप, नेपालमा राजनीतिक अस्थिरता, छिटोछिटो सरकार परिवर्तन र पटक–पटक राज्यव्यवस्था नै परिवर्तन हुँदा पनि चीनसँगको सम्बन्ध निरन्तर मैत्रीपूर्ण रह्यो । चीन मात्र संयुक्त राष्ट्रको सुरक्षा परिषद्को सदस्य राष्ट्र हो, जसले नेपालको सर्वभौम, स्वतन्त्रता, अखण्डता, राष्ट्रियता र राजनीतिक स्थायित्व तथा सामाजिक सद्भाव, विकास र समृद्धिको नेपाली जनताको चाहनालाई सधैँ सहयोग गर्ने स्पष्ट प्रतिबद्धता राष्ट्र प्रमुखकै तहबाट व्यक्त गर्दै आएको छ । यस्तो धारणा चीनका महान् नेता माओत्सेतुङदेखि वर्तमान राष्ट्रपति सी जिनपिङसम्मले निरन्तर र पटक–पटक द्विपक्षीय उच्च राजनीतिक भ्रमणका क्रममा राखेको विषय अभिलेखमा सुरक्षित छ । त्यसैकारण चीनप्रति आमनेपालीको मैत्रीपूर्ण भावना, चीनसँगको असल छिमेकी सम्बन्ध र नेपालको चीनप्रतिको भरोसा बढेको हो ।

नेपालले पनि चीनको सार्वभौम अखण्डताको सधैँ समर्थन गर्दै ताइवान, हङकङ, तिब्बत वा सिन्ज्याङजस्ता चीनका आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको समर्थन गर्दैन र नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्छ । साथै, चीनले नेपालको आर्थिक–सामाजिक विकासमा विनाकुनै पूर्वसर्त सरकारी संयन्त्रमार्फत निरन्तर महत्वपूर्ण सहयोग गर्दै आएको छ । चीन अहिले नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीको स्रोत, दोस्रो ठूलो पर्यटनको स्रोत, दोस्रो ठूलो व्यापार साझेदार र धेरै वैदेशिक सहयोग दिने राष्ट्रमध्ये अग्रस्थानमा रहेको मुलुक हो । त्यसैले, चीनसँगको सम्बन्धलाई नेपालले अत्यन्त महत्व दिएको छ । 

सन् २०१९ को अप्रिलमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको चीनको ऐतिहासिक राजकीय भ्रमण र सोही वर्षको अक्टोबरमा चीनका राष्ट्रपति सीले २३ वर्षको अन्तरालमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमणको समयमा थुप्रै समझदारी र सम्झौता भएका थिए । भ्रमणमा दुई देशबीचको पुस्तौँपुस्तादेखिको मैत्री सम्बन्धलाई विकास र सम्मृद्धिका लागि रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने सहमति भएको थियो । ती उच्चस्तरीय भ्रमणका क्रममा सन् २०१७ मा नेपाल सहभागी भएको चीनका राष्ट्रपति सीले अगाडि सारेको साझा विकास र सहकार्यको अवधारणामा आधारित पेटी तथा मार्ग अग्रसरता (बेल्ट एन्ड रोड इनिसिएटिभ) का आधारमा उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने तथा हिमालवारपार बहुआयामिक सम्पर्क सञ्जालको विस्तारबाट आपसी विकास, समृद्धि एवं स्थायित्व हासिल गर्ने समझदारी बनेको थियो । 

वईको भ्रमणबाट चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको पुष्टि हुन्छ । उहाँको नेपालप्रतिको सद्भाव र नेपालसँगको निरन्तरको सम्बन्धका कारण यो भ्रमण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विश्वासिलो बनाउने एक अवसर हो ।
 

नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१८ अक्टोबर र सन् २०१९ को अक्टोबरमा गरी दुईपटक चीनको औपचारिक भ्रमण गरी द्विपक्षीय हितका विषयमा चीनका उच्चस्तरीय नेतृत्वसँग छलफल गर्नुभएको थियो । सन् २०१९ को अक्टोबरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले अहिले नेपाल भ्रमणमा आउन लाग्नुभएका राज्यपरिषद्का सदस्य तथा रक्षामन्त्री वई फङ्हसँग द्विपक्षीय हित र चासोका सबै विषयमा मैत्रीपूर्ण छलफल गर्नुका साथै रक्षा सहयोगसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो, जसअन्तर्गत नेपाली सेनाको क्षमता विकासका लागि १५ करोड चिनियाँ युआन (करिब २.५५ अर्ब नेपाली रुपैयाँ) चीनले नेपाललाई अनुदान दिने विषय समावेश थियो । सो भ्रमणका अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले राज्यपरिषद्का सदस्य तथा रक्षामन्त्री वईलाई नेपाल भ्रमणको निम्ता दिनुभएको थियो । 

त्यसैगरी, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सन् २०१९ को जुनमा चीनको औपचारिक भ्रमण गरी द्विपक्षीय सैन्य सम्बन्धका विषयमा छलफल गर्नुका अतिरिक्त सैन्य सहयोगसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्नुभएको यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ । राज्यपरिषद्का सदस्य तथा रक्षामन्त्री वईको यो भ्रमण विगतमा नेपालबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलगायतबाट भएका चीनको भ्रमणका समयमा उहाँलाई नेपाल भ्रमण गर्न गरिएका पटक–पटकका आमन्त्रण र उपर्युक्त राष्ट्रप्रमुखका तहमा भएका समझदारीको निरन्तरता हो भन्न सकिन्छ । 

माथि उल्लेख गरिएका सबै भ्रमणका क्रममा चिनियाँ राज्यपरिषद्का सदस्य तथा रक्षामन्त्री वईका विचार सुन्ने अवसर मैले पाएको थिएँ । उहाँ एक अनुभवी तथा नेपाललाई नजिकबाट चिन्ने र माया गर्ने चीनका उच्चस्तरीय नेताहरूमध्येका एक हुनुहुन्छ । राष्ट्रपति सीको गतवर्ष भएको ऐतिहासिक नेपाल भ्रमणपश्चात् नेपालको भ्रमण गर्ने उहाँ चीनका सबैभन्दा उच्चस्तरको नेता पनि हुनुहुन्छ । उहाँको भ्रमणबाट चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको पुष्टि हुन्छ । उहाँको नेपालप्रतिको सद्भाव र नेपालसँगको निरन्तरको सम्बन्धका कारण यो भ्रमण नेपालका लागि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विश्वासिलो बनाउने एक अवसर हो ।

नेपाल र चीनका राष्ट्रिय सेनाबीच निरन्तर सौहार्द्रपूर्ण र सहयोगात्मक सम्बन्ध रहिआएको छ । अन्तर्राष्ट्रिय शान्ति सेनामा दुवै सेनाको अत्यन्त सुमधुर सहकार्य भइरहेको छ । नेपालजस्तै पहाडी कठिन भूगोल भएको चीनको सिचुवान प्रान्तको वेन छुवानमा सन् २००८ मा गएको महाभूकम्पबाट व्यावहारिक अनुभव हासिल गरेको जनमुक्ति सेनाको सबैभन्दा कुशल र अनुभवी टोलीलाई चीनले सन् २०१५ को अप्रिलमा नेपालमा गएको ठूलो भूकम्पपश्चात्को खोज, उद्धार तथा राहत कार्यमा संलग्न गराएको थियो । नेपाली सेनाले समन्वय गरेको चिनियाँ टोलीले सो समयमा गरेको व्यापक, कुशल र प्रभावकारी खोज, उद्धार तथा राहत कार्यले नेपाली जनताको मनमा गहिरो छाप छाडेको छ । 

चीन र नेपालका सेनाले गत विगतदेखि सगरमाथा मैत्री नामको संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । यस वर्षको सैन्य अभ्यास भने कोरोना महामारीका कारण पर सरेको छ । तर, दुवै मुलुकले कोरोनाको महामारी रोकिनासाथ यो अभ्यास गर्नेछन्, जसले दुवै मुलुकका सुरक्षा निकायबीचको अपसी विश्वास र समझदारीलाई थप बलियो बनाउने विश्वास गर्न सकिन्छ । 

नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । चीनले भने कोरोना नियन्त्रणमा अधारभूत रूपमा सफलता प्राप्त गरेको छ । चीनको कोरोना नियन्त्रण अभियानमा चिनियाँ जनमुक्ति सेनाले अग्रस्थानमा बसेर गरेको काम र महत्वपूर्ण अनुभव नेपालको कोरोना नियन्त्रण कार्यमा उपयोगी हुनेछ । यो भ्रमणलाई नेपाली सेनाले जनमुक्ति सेनाको अनुभवबाट लाभ लिने अवसरका रूपमा प्रयोग गर्न सक्छ । त्यस्तो त चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोना नियन्त्रणमा औषधि तथा सामग्री अनुदान दिएर सहयोग पुर्‍याएको छ ।

चिनियाँ जनमुक्ति सेनाले सैन्य सामग्री, तालिम तथा जनशक्ति विकास एवं क्षमता विकासका माध्यमबाट नेपाली सेनाको आधुनिकीकरण प्रयासमा ठूलो सहयोग पुर्‍याएको छ । यो भ्रमणले गत वर्ष सम्झौता भई कोरोना महामारीका कारण विलम्ब हुन गएको क्षमता अभिवृद्धि, लजिस्टिक तथा सञ्चार क्षमतासम्बन्धी उपकरण तथा सामग्री चाँडो नेपाल भिœयाउन, सेनाको जनशक्ति तथा क्षमता विकासजस्ता क्रियाकलापलाई अझ बढाउँदै लैजान र सुरक्षा निकायबीचको सहकार्यबाट यस क्षेत्रकै स्थायित्वमा समेत योगदान पुग्ने विश्वास गर्न सकिन्छ । यो भ्रमणामा द्विपक्षीय हितका अन्य विषय जस्तै– विगतमा उच्चस्तरीय भ्रमणका समयमा भएका सहमति तथा समझदारीको कार्यान्वयनलाई तीव्रता दिने, सेना–सेनाबीचको समझदारी तथा सहकार्य बढाउने तथा कोरोना नियन्त्रणमा सहकार्य गर्नेजस्ता विषयमा समेत छलफल हुने अपेक्षा गर्न सकिन्छ । 

नेपालले चिनियाँ जनमुक्ति सेनासँगको नेपाली सेनाको सौहार्द्रपूर्ण सम्बन्धको विकासलाई उच्च प्राथमिकता दिन्छ । नेपाली सेनाको अन्य मित्रराष्ट्रका सेनाबीचका सबै द्विपक्षीय सम्बन्धलाई छिमेकीहरूबीचको सन्तुलन, तटस्थता र असंलग्नताका मान्य सिद्धान्तका आधारमा अगाडि बढाउनु नेपालका लागि अनिवार्य छ । 

नेपाल र चीन सीमा जोडिएका असल मित्रराष्ट्र भएकाले एकअर्को मुलुकमा हुने अस्थिरता अशान्ति वा द्वन्द्वबाट एकअर्कालाई पर्ने असरबारे संवेदनशील छन् । नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएकाले कुनै पनि सैन्य गठबन्धनमा सामेल छैन र हुने नीति पनि लिएको छैन । नेपाल एक सार्वभौम, स्वतन्त्र राष्ट्र भएकाले संसारको कुनै स्वतन्त्र राष्ट्रको सेनालगायतका राज्यका निकायसँग आपसी हित, चासो र स्वार्थका विषयमा सहकार्य गर्न स्वतन्त्र छ । यो सार्वभौम अधिकारको प्रयोग गर्दा नेपाल कुनै अर्को मित्रराष्ट्रविरुद्ध प्रयोग हुँदैन र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न सक्षम छ भन्ने सन्देश छिमेकी मुलुक र बाँकी विश्वलाई दिनका लागि यो भ्रमण एउटा गतिलो अवसर हो । त्यति मात्र गर्न सके यो भ्रमणले चीनसँगको आपसी विश्वास र समझदारीलाई थप सुदृढ गराउने तथा दुई मुलुकका साझा स्वार्थको प्रवर्धन तथा क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान दिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

(लेखक चीनका लागि नेपाली पूर्वराजदूत हुन्)