१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १३ शनिबार १०:११:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नौ महिनापछि प्रशिक्षणमा फर्किए क्रिकेटर

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १३ शनिबार १०:११:००

गत चैतमा कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएपछिको प्रायः समय नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान विनोद भण्डारीले आफ्नै घर महेन्द्रनगरमा बिताए । विक्रम सोब, सन्दीप जोरा, भीम सार्कीलगायत खेलाडीसँगै रहेका उनले नियमित क्रिकेट खेलेर कोरोना काल बिताए ।

यद्यपि, उनले कीर्तिपुर मैदानलाई ‘मिस’ गरिरहेका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको माहोल र नियमित देखिरहने त्यही अनुहारलाई पनि मिस गरिरहेका थिए । 

त्यसैले उनले नौ महिनापछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्कन पाउँदा खुसी व्यक्त गरेका छन् । ‘हामी केही साथीहरूले महेन्द्रनगरमा नियमित खेल्ने अवसर त पाएका थियौँ, तर यो माहोललाई मिस गरिरहेको थिएँ,’ विनोद भन्छन्, ‘फेरि पुरानै माहोलमा फर्कन पाउँदा निकै खुसी लागेको छ ।’

कोरोना भाइरस महामारी सुरु भएपछिको यो नौ महिना साँच्चिकै अन्योलमै बिते । विनोदलाई पनि क्रिकेटको माहोल फेरि कहिले फर्किएला भन्ने चिन्ता थियो । बन्द प्रशिक्षण सुरु भएपछि उनलाई चाँडै पहिलेकोजस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो ब्याट चलाउन पाइएला भन्ने आशा जागेको छ । 

‘अझै पनि अवस्था त सहज भइसकेको छैन । अझै अन्योलकै अवस्था छ,’ उनी भन्छन्, ‘बन्द प्रशिक्षण सुरु भएपछि कम्तीमा अब चाँडै प्रतियोगिता खेल्न पाइएला भन्ने आशा पलाएको छ ।’

विनोदले जस्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको माहोल ‘मिस’ गर्नेमा स्पिनर भुवन कार्की पनि थिए । कोरोना कालमा पनि उनले आफ्नो नियमित प्रशिक्षण त गरिरहेकै थिए । उनी कीर्तिपुरस्थित एक प्रशिक्षण केन्द्रमा आवासीय सुविधा नै लिएर प्रशिक्षणमा जुटेका थिए ।

उनले पनि राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किन पाउँदा खुसी व्यक्त गरेका छन् । ‘पछिल्लो आठ–नौ महिना घरमै थित्यो । यसरी प्रशिक्षणमा फर्कन पाउँदा खुसी लागेको छ,’ भुवन भन्छन्, ‘यो खेलाडीका रूपमा हाम्रा लागि ठूलो कुरा हो ।’

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबारदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो । खेलाडीहरू नौ महिनापछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् ।नेपाली खेलाडीहरू पछिल्लोपटक थाइल्यान्डमा भएको एसियाली क्रिकेट काउन्सिल (एसिसी) मेन्स इस्टर्न रिजन प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा बसेका थिए । उक्त प्रतियोगिता गत १७–२३ फागुनमा भएको थियो । 

त्यसपछि चैतबाट कोरोना भाइरस महामारी सुरु हुँदा सबै खेलकुद गतिविधि ठप्प बने । सरकारले सुरक्षाको आवश्यक तयारीसहित प्रशिक्षण गर्न दिने निर्णय गरेपछि क्यानले खेलाडीलाई बोलाएको हो । बन्द प्रशिक्षण सुरु गर्नुअघि क्यानले २३ खेलाडीलाई पिसिआर परीक्षणमा बोलाएको थियो । यद्यपि, अहिले बन्द प्रशिक्षणमा विनोद, भुवन, पूर्वकप्तान पारस खड्कालगायत दर्जन संख्यामा मात्रै खेलाडी सहभागी छन् । 

क्याम्प सुरु हुनुअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण देखिएकाले ‘आइसोलेसन’मा छन् । उनीहरूसँगै सम्पर्कमा रहेका अरू केही खेलाडी पनि आइसोलेसनमा छन् । वसन्त रेग्मी घरमै आइसोलेसनमा छन् । अरू केही खेलाडीले पनि बन्द प्रशिक्षणमा आइपुग्न समय लाग्ने बताएका छन् । 

क्यानले नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । मुख्य प्रशिक्षक नियुक्त हुनुअघिको समयसम्म प्रशिक्षक जगत टमाटाले प्रशिक्षण हेर्नेछन् । उनलाई फिटनेस ट्रेनर आशे हातकरले सहयोग गर्नेछन् । लामो समयको घर बसाइपछि प्रशिक्षणमा फर्किएका खेलाडीहरूले सुरुवाती केही दिन शारीरिक प्रशिक्षणमा बिताउने छन् ।

अब क्रिकेट गतिशील बन्नेछ : चतुरबहादुर चन्द, अध्यक्ष, क्यान

अवस्था अझै सहज देखिँदैन । यद्यपि, चाँडै सहज होला भन्ने आशा गरेका छौँ । अहिले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । चाँडै नै प्रतियोगिता आयोजनाको तयारी पनि हुँदै छन् । बागमती प्रदेशले एउटा प्रतियोगिता गर्ने गरी तयारी गरिरहेको छ ।

क्यान आफैँले पनि डिसेम्बरमा महिला र पुरुषको एकदिवसीय प्रतियोगिता प्रधानमन्त्रीकप आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसका लागि क्षेत्रीय छनोट हुने छन् । जिल्लाहरूले पनि तयारीको समय पाउनेछन् ।

आइसिसीले आगामी मार्चमा विश्वकप लिग दुईअन्तर्गत ओमानमा अमेरिका र नेपाल सहभागी हुने शृंखला खेलाउने प्रस्ताव गरेको छ । अवस्था सहज बने हामी यो शृंखला खेल्न जानेछौँ ।

त्यसअघि राष्ट्रिय टोलीको तयारीका लागि कुनै एकदिवसीय टोली वा ए टोलीलाई ल्याएर खेल्ने प्रयास पनि हुनेछ ।

त्यसवेलासम्म पुरुष टोलीको मुख्य प्रशिक्षक पनि नियुक्त भइसक्नेछन् । मुख्य प्रशिक्षकको नियुक्ति चाँडै नै हुनेछ । उनी कम्तीमा प्रधानमन्त्रीकप प्रतियोगिताको समयमा नेपाल आइपुग्नेछन् । अरू कार्यक्रम पनि अघि बढ्नेछ । अब नेपाली क्रिकेट गतिशील हुने छ ।