मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०८:४८:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

विजयको माला लगाउन मात्रै बाँकी छ : किशोरकुमार प्रधान

आज उद्योग वाणिज्य महासंघको निर्वाचन

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०८:४८:००

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा अधिवेशन बिहीवारदेखि काठमाडौंमा जारी छ । चुनावी साधारणसभाले महासंघको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने छ । यसका लागि वरिष्ठ उपाध्यक्ष सहित ६३ पदका लागि आज शनिवार चुनाव हुँदैछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्राबधानअनुसार साधारणसभा पछि शेखर गोल्छाले महासंघको नेतृत्व गर्ने छन् । अर्को कार्यकालका लागि अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । वरिष्ठ उपाध्यक्षका प्रत्याससिहरु चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानसहित प्रतिस्प्रधामा उत्रिएका छन् । चुनावी तयारी, आ–आफ्ना मूल्यांकन र अपेक्षाका विषयमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानसँग नयाँ पत्रिकाका कृष्ण रिजालले गरेको संक्षिप्त संवाद :

किशोरकुमार प्रधान, वरिष्ठ उपाध्यक्षका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ

चुनावको तयारी सकिएको छ । चुनावको काउन्टडाउन चलिरहँदा कस्तो महसुस गरिरहनुभएको छ ? 

चुनावमा निश्चित रूपमा विजयी हुन्छु भन्ने आभास भइरहेको छ । मतदातालाई उहाँहरूलाई प्रलोभन दिलाएर विजय हासिल हुँदैन । सधैँ सत्यको जित हुन्छ, सत्य नै स्थापित हुने रीतिरिवाज छ, यस अर्थमा मेरो जित सुनिश्चित छ । विजयको झन्डा फहराउने सत्यले हो, निर्वाचनमा मैले मात्रै होइन, मेरो टिमले नै विजय हासिल गर्नेछ । 

प्रचार–प्रसार र अन्य तयारी सकियो होला, प्रतिक्रिया र माहोल कस्तो छ ? कति उत्साहित हुनुहुन्छ ?

जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटका सबै साथीहरूको प्रतिक्रिया र माहोलले म उत्साहित भएको छु । अहिलेको महोलले म शतप्रतिशत जित्छु भन्ने देखाएको छ । साथीहरूले जुन उत्साह, माया र प्रेम दिनुभएको छ, यसबाट के सुनिश्चित हुन्छ भने म जितको धेरै नजिक छु । अब विजयको माला लगाउन मात्रै बाँकी छ ।

मत परिणाम कस्तो आउने मूल्यांकन गर्नुभएको छ ?

मैले आफूले मूल्यांकन गर्दा प्रतिस्पर्धा एकदमै कडा छ । तर, कमसेकम ५ प्रतिशत बढी मत ल्याएर म विजयी हुनेछु । 

जितका आधार के–के हुन् ? 

मैले निजी क्षेत्रको छाता संगठनमा २८ वर्षदेखि काम गर्दै आएको छु । झन्डै तीन दशकको मेरो मिहिनेतबाट मैले सबैको प्रेम र सद्भाव प्राप्त गरेको छु । इमानदार, निष्ठावान् भएर सेवा गरेको छु । वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष र पूर्वअध्यक्षहरूको मलाई साथ रहेको छ । सबैको साझा मुद्दालाई स्पष्ट रूपमा बोल्ने गरेको छु । मलाई परिवार, हितैसी तथा आमउद्योगी–व्यवसायीको माया र सद्भाव रहेको छ, जसले मलाई उत्साहित बनाएको छ । म केवल म होइन, हामीका रूपमा अघि बढेको छु । यी सबै कुरा मेरा जितका आधार हुन् ।

तपाईंका प्रतिस्पर्धीले तपाईंसँग आफ्नो एजेन्डा छैन भन्नुभएको छ नि ? 

उहाँहरूले बुझी–बुझी बुझ पचाएर नचाहिँदो प्रचार गर्नुभएको छ । मैले मेरा १५ वटा एजेन्डा सर्वाजनिक गरिसकेको छु, त्यो सबैलाई थाहा छ । अर्को कुरा, वरिष्ठ उपाध्यक्षले अध्यक्षको एजेन्डामा काम गर्ने हो । अर्थात्, अब आउने वरिष्ठ उपाध्यक्षले शेखरजीको एजेन्डामा काम गर्ने हो । मैले शेखरजीको एजेन्डामा मेरा पनि एजेन्डा थपेको छु । उहाँले के आधारमा मेरो एजेन्डा छैन भन्नुभयो ? यो अचम्मको कुरा छ । मतदाताले बुझेका छन् । कसको के हो भन्ने मतदाताले चिनेका छन्, को कर्तव्यनिष्ठ र स्वार्थविहीन छ भन्ने बुझेका छन् । उहाँहरूले सबै कुरालाई बुझेर, विवेक प्रयोग गरेर आफ्नो अमूल्य मत दिनुहुनेछ ।

अन्तिममा मतदातालाई केही भन्न चाहनुहुन्छ ? 

सबै मतदातालाई मेरो एउटै आग्रह के छ भने मैले २८ वर्षदेखि निजी क्षेत्रको सेवा गरेको छु, मतदाता भगवान् हुन् र म पुजारी हुँ, म मेरा देवतालाई मेरो २८ वर्षको सेवाको प्रतिफलस्वरूप अर्को सेवा गर्ने मौका दिनुहुन अनुरोध गर्छु । मलाई देशभरिका उद्योगी–व्यवसायीको सेवा गर्ने अवसर दिनुहुन आग्रह गर्छु । देशको अर्थतन्त्र मजबुत गर्न पाऊँ भन्ने आग्रह छ ।