मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०८:५६:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

मतदाताले वास्तविक व्यवसायीलाई जिताउनेछन् : चन्द्रप्रसाद ढकाल

आज उद्योग वाणिज्य महासंघको निर्वाचन

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०८:५६:००

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा अधिवेशन बिहीवारदेखि काठमाडौंमा जारी छ । चुनावी साधारणसभाले महासंघको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने छ । यसका लागि वरिष्ठ उपाध्यक्ष सहित ६३ पदका लागि आज शनिवार चुनाव हुँदैछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्राबधान अनुसार साधारणसभा पछि शेखर गोल्छाले महासंघको नेतृत्वगर्ने छन् । अर्को कार्यकालका लागि अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धालाई चाँसोका साथ हेरिएको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासिहरु चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानसहित प्रतिस्प्रधामा उत्रिएका छन् । चुनावी तयारी, आ–आफ्ना मूल्यांकन र अपेक्षाका विषयमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालसँग नयाँ पत्रिकाका कृष्ण रिजालले गरेको संक्षिप्त संवाद :

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ

चुनावको तयारी सकिएको छ । अधिकांश मतदाताहरू मतदान गर्न काठमाडौंमा आइसकेका छन्, कस्तो महसुस गरिरहनुभएको छ ? 

अहिले अन्तिम चरणको प्रचार–प्रसारको काम भइरहेको छ । जिल्ला–नगर, वस्तुगत र एसोसिएटका साथीभाइसँगै छु । शनिबार मतदान हुँदै छ । म ढुक्क छु । साथीहरूका प्रतिक्रिया, साथ र सहयोगले मलाई ढुक्क बनाएको छ । शनिबार मेरा लागि विशेष दिन हुनेछ । 

प्रचार–प्रसार र अन्य तयारी सकियो होला, प्रतिक्रिया र माहोल कस्तो छ ? कति उत्साहित हुनुहुन्छ ?

प्रचार–प्रसारका काम सबै सकियो । अहिले अन्तिम छलफलहरू भइरहेका छन् । जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटका साथीहरूले मलाई उत्साहित बनाउनुभएको छ । उहाँहरूको सकारात्मक प्रतिक्रियाले म उत्साहित छु ।  

मत परिणाम कस्तो आउने मूल्यांकन गर्नुभएको छ ? 

मतदाताले मलाई अत्यधिक मत दिने विश्वास लिएको छु । जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटकै साथीहरूले मलाई विश्वासका साथ अघि बढाउनुभएको हो । उहाँहरूले नै मलाई उत्साहित बनाउनुभएको छ । आम निजी क्षेत्रको विश्वासका साथ अघि बढेकाले परिणाम निकै राम्रो आउने अपेक्षा छ । जित सुनिश्चित रहेको मूल्यांकन गरेको छु । 

जितका आधार के–के हुन् ? 

मलगायत मेरो टिमले सबै प्रदेश र जिल्लामा पुगेर सबै साथीभाइसँग भेट गरेका छाँै, छलफल गरेका छौँ । उहाँहरूले हौसला दिनुभएको छ । मेरो सबै जिल्लामा व्यावसायिक नेटवर्क छ । म सानो व्यवसाय हुँदै कर्पोरेट तहमा पुगेको छु, मसँग सबैखाले व्यवसायको अनुभव छ । वस्तुगत संघका साथीहरूले पनि मलाई सबै क्षेत्रको जानकार भएकाले, व्यावसायिक हकहितमा काम गर्न सक्ने भनेर अगाडि बढाउनुभएको हो । एसोसिएटबाट म अघिल्लोपटक निर्विरोध निर्वाचित भएको हुँ, त्योभन्दा अघि सबैभन्दा बढी भोट ल्याएर जितेको हुँ । सबै साथीहरूले अघि बढ्न भनेका छन्, नेतृत्व लिनुपर्छ भनेका छन्, वास्तविक व्यवसायीले मात्रै निजी क्षेत्रको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उहाँहरूको छ । यही नै मेरो जितको आधार हो ।

तपाईंका प्रतिस्पर्धीले तपाईंलाई आफूभन्दा जुनियर भएको बताउनुभयो, आफू बढी अनुभवी भएको बताउनुभयो, यसप्रति तपाईंको प्रतिक्रिया केही छ?

किशोर दाइले आफू अभिभावक भएको र अभिभावकत्व गर्न दिनुपर्ने तर्कको जवाफ मैले पनि दिएको हो । सिनियर केका आधारमा ? उमेरले मात्रै सिनियर भइन्छ ? त्यो गलत हो । उमेरभन्दा सम्बन्धित क्षेत्रको ज्ञान ठूलो हो, त्यस क्षेत्रमा लागेको समय हो, सेवा हो । शेखर गोल्छा र भवानी म्याडम पनि चार कार्यकालमा अध्यक्ष हुनुभयो । सबैभन्दा ठूलो कुरा, एजेन्डा हो, कन्टेन्ट हो र आउटपुट दिनुपर्छ ।

अन्तिममा मतदातालाई केही भन्न चाहनुहुन्छ ? 

निजी क्षेत्रका लागि असल र परिपक्व नेतृत्व छान्ने अवसर हो । निजी क्षेत्रको पैरवी गर्न सक्ने, महासंघलाई हाँक्न सक्ने नेतृत्वमा पुग्नुपर्छ । म जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटका प्रतिनिधि र आमउद्योगी–व्यवसायीलाई वास्तविक व्यवसायीलाई जिताउन आग्रह गर्छु, यसर्थ मलाई विजयी गराउन आग्रह गर्छु ।