मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १८:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघको चुनाव प्रचारमा अत्यधिक भर्चुअल माध्यम प्रयोग, मतदान भने बुथबाटै

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १८:००:००

विगतमा तामझामसहित आयोजना हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको रौनक यसपटक फेरिएको छ । साधारणसभाको उद्घाटनदेखि बन्दसत्रसम्म भर्चुअल माध्यमबाट भइरहेको छ । महासंघका देशभरका सदस्यले जुमबाट बन्दसत्रमा भाग लिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार बालुवाटारको सानो सभाकक्षबाट महासंघको साधारणसभा उद्घाटन गरे । विगतमा उद्यमी, व्यवसायी, राजनीतिक दलका नेताहरू, उच्चपदस्थ कर्मचारी, राजदूत, कूटनीतिज्ञलगायतले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको ठूलो हल खचाखच भरिन्थ्यो ।

महासंघको इतिहासमा पहिलोपटक साधरणसभाको उद्घाटन र बन्दसत्र भर्चुअल माध्यमबाट भएको हो । कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दूरी कायम गर्नुपर्ने हुनाले महासंघको चुनावमा भिडभाड नगरिएको निर्वाचन समितिले जनाएको छ । महासंघका डेपुटी डाइरेक्टर विदुरचन्द्र लामिछानेका अनुसार बालुवाटारमा भएको उद्घाटन कार्यक्रममा ३५ जना प्रत्यक्ष र साढे सात सयभन्दा बढी उद्यमी, व्यवसायी जुममार्फत सहभागी भएका थिए ।

यसपटकको साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा छन् । विगतका उम्मेदवारहरूले होटेल तथा रेस्टुराँमा देशभरबाट आएका सदस्यहरू भेला गरेर भोट मागिरहेको दृश्य देखिन्थ्यो । यसपटक भने रेस्टुराँ र होटेलमा उम्मेदवार र मतदाताको भिडभाड पनि तुलनात्मक रूपमा कम छ ।

अहिले प्रज्ञाप्रतिष्ठानमा भिडभाड छैन । व्यवसायीले उद्घाटन र बन्दसत्रमा घरबाटै जुमबाट सहभागिता जनाए । विगतमा एसोसिएट, जिल्ला-नगर र वस्तुगत समूहको चुनाव एकै ठाउँमा हुन्थ्यो । तर, यसपटक भिडभाड कम गर्न छुट्टाछुट्टै भोटिङ हुँदै छ ।

महासंघका डेपुटी डाइरेक्टर लामिछानेका अनुसार शनिबार बिहान आठदेखि साँझ ४ बजेसम्म मतदान कार्यक्रम तय भएको छ । वस्तुगत समूहको निर्वाचन महासंघको सचिवालय टेकुमा हुनेछ भने जिल्ला÷नगरको प्रज्ञा प्रतिष्ठान र एसोसिएटको कार्की ब्यांक्वेट बबरमहलमा मतदान हुनेछ ।

काठमाडौं बबरमहलस्थित कार्की ब्यांकेटमा मतदान बुथ तयार पारिँदै । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
खासमा, महासंघको साधारणसभा र निर्वाचन गत चैत अन्तिम साता नै हुनुपर्ने थियो । त्यतिवेला चुनाव भएको भए उद्यमी शेखर गोल्छा नेतृत्वमा नयाँ कार्यसमितिले काम थालेको आठ महिना बितिसक्थ्यो । कोरोना प्रसार रोक्न सरकारले देशव्यापी लकडाउन गरेपछि महासंघको साधारणसभा र निर्वाचन सरेर मंसिरमा आइपुगेको हो । महासंघले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट भिडभाड नगरी साधारणसभा र निर्वाचन गर्न स्वीकृति पाएको हो ।

महासंघका डेपुटी डाइरेक्टर लामिछानेका अनुसार बन्दसत्र महासंघको सचिवालयमा सम्पन्न गरियो । बन्दसत्रमा फेसबुक लाइभ र जुमबाट सहभागी हुने व्यवस्था थियो । सचिवालयमा पदाधिकारी, मुख्य प्रतिनिधि, प्रतिनिधि र उद्योगी व्यवसायी गरी करिब चार सयजनाको सहभागिता थियो ।

बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधान, वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा एसोसिएटका उपाध्यक्ष उम्मेदवार सौरभ ज्योतिले सचिवालयमै उपस्थित भएर सम्बोधन गरे । एसोसिएटका अर्का उम्मेदवार रामचन्द्र संघाई, जिल्ला-नगरका उम्मेदवार गुणनिधि तिवारी र दिनेश श्रेष्ठले भने जुमबाट सम्बोधन गरे ।

बन्दसत्र सकिएपछि बल्ल चुनावका बुथ तयार पार्न निर्वाचन समिति खटिएको छ । विगतमा साधारणसभा सुरु हुनुअघिदेखि नै चहलपहल हुने प्रज्ञा प्रतिष्ठानमा दोस्रो दिनको साँझ ४ बजेसम्म कुनै तयारी देखिँदैन । जिल्ला-नगर उवासंघ समूहको मात्र निर्वाचन हुने भएकाले प्रज्ञा प्रतिष्ठानमा चहलपहल कम भएको हो ।

यसपटक उम्मेदवारहरूले पनि मतदातासँग भोट माग्न अनलाइन प्लेटफर्म राम्रै उपयोग गरे । फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल व्यवसायीको चुनावमय देखिन्छन् । उम्मेदवारहरूले देशभरका मतदाता व्यवसायीसँग ह्वाट्सएप, जुम, भाइबर, फेसबुक म्यासेन्जर, इमोलगायतबाट भिडियो कल गर्दै भोट मागिरहेका छन् । महासंघको इतिहासमै उम्मेदवारले भोट माग्न यति धेरै सामाजिक सञ्जाल प्रयोग गरेको पनि पहिलोपटक हो ।

कोभिड महामारीका कारण साधारणसभामा अनलाइन प्लेटफर्म प्रयोग भए पनि मतदान गर्न भने अनलाइन प्रणाली उपयोग नहुने भएको छ । मतदाताले विगतजस्तै कागजमा छाप हान्नुपर्ने निर्वाचन समितिले जनाएको छ । भिडभाड गरेर नभई भौतिक दूरीका साथ मतदान व्यवस्थापन गरिएको समितिको भनाइ छ । यसपटक निर्वाचनस्थल बाहिर उम्मेदवार र शुभेच्छुकलाई भिडभाडसहित भोट माग्न नदिइने पनि समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार कोरोना संक्रमित मतदाताका लागि मतदान गर्न छुट्टै बुथ बनाइनेछ ।

६४ पद, १२३ उम्मेदवार
निर्वाचन समितिका अनुसार ६४  पदका लागि दुईवटा प्यानलबाट एक सय २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये महिलाको संख्या पाँच छ, जुन कुल उम्मेदवारको ६ प्रतिशत मात्र हो । निर्वाचनमा कमला श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, शारदा रिजाल, रेखा घिमिरे र रचना श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् ।

महासंघले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार जिल्ला-नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार निर्विरोध चयन भएका छन् । प्रदेश–१ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् ।

मतदाता नामावली
महासंघको नयाँ कार्यसमिति निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको पहिलो चरणको नामावली प्रकाशित भएको छ । महासंघले बिहीबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार एसोसिएट समूहतर्फ नौ सय चार मतदाताले मतदान गर्न पाउनेछन् ।

यस्तै, वस्तुगत समूहतर्फ एक सय एक जिल्ला-नगर संघतर्फ मतदाता सूचीमा एक सय पाँच उवासंघका प्रतिनिधि छन् । मतदान गर्न पाउनेमा प्रदेश–१ बाट २२, २ बाट १२, बागमतीबाट १६, गण्डकीबाट १३, लुम्बिनीबाट २२, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० वटा संघ छन् । यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ ६ वटा छन् ।

कुन प्यानलमा को उम्मेदवार ?
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन् । सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष बन्ने छन् । शनिबार वरिष्ठ उपाध्यक्षदेखि तलका पदहरूमा निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

ढकाल प्यानलबाट जिल्ला÷नगर संघतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत संघतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार छन् ।

यस्तै, प्रधान प्यानलबाट जिल्ला-नगर संघतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत संघतर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार छन् ।

ढकाल समूहको वस्तुगततर्फ कार्यकारिणी समिति सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जयप्रसाद शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, हरि कार्की र सूर्यबहादुर मगर उम्मेदवार छन् ।

प्रधान प्यानलको वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, गोविन्द ढुंगेल, दीपकप्रसाद दाहाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, रविन पुरी, विप्लवमान सिंह, विष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सन्दीपकुमार अग्रवाल र सुनीलगोपाल श्रेष्ठ उम्मेदवार छन् ।

ढकाल प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया, अम्बिकाप्रसाद पौडेल, देशबन्ध बस्नेत (अजित), विनोद ढकाल, सुशील थापा, बाबुकाजी कार्की, कृष्णलाल महर्जन, विराट थापा, सञ्जय गिरी, अविनाश बोहरा, रेखा घिमिरे, वासुदेव गौतम र रामकृष्ण प्रसाईं छन् ।

यस्तै, प्रधान प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाईं, मदनलाल जोशी, हेमन्त गोल्छा, शक्ति बेगानी र उदीप श्रेष्ठ उम्मेदवार छन् ।

पूर्वअध्यक्षहरू को कता ?
महासंघमा पूर्वअध्यक्षहरू स्वास्थ्यले साथ दिएसम्म आजीवन राजनीतिमा सक्रिय हुने चलनजस्तै छ । उनीहरू महासंघको निर्वाचनमा आफ्नो पक्षका उम्मेदवारलाई जिताउन खुलेर समर्थन गरिरहेका हुन्छन् । महासंघको चुनाव आएपछि अध्यक्षहरूबीच पनि ध्रुवीकरण सुरु हुन्छ । प्यानलबीच बढीभन्दा बढी पूर्वअध्यक्षलाई आफ्नो पक्षतिर देखाएर बलियो रहेको सन्देश दिन होडबाजी नै चल्छ ।

यसपालि ढकाल समूहलाई पूर्वअध्यक्ष चण्डीराज ढकाल, सुरज वैद्य, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलगायतको समर्थन छ । प्रधान समूहलाई वर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरू पद्म ज्योति, कुशकुमार जोशीलगायतले खुलेर समर्थन गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला÷नगर उद्योग वाणिज्य संघका मतदाताको ५० प्रतिशत भार हुन्छ । यस्तै, वस्तुगत संघका मतदाताको २० र एसोसिएट (द्विराष्ट्रिय संघसमेत) को ३० प्रतिशत भार हुन्छ । वरिष्ठ उपाध्यक्षमा जित्नका लागि निर्वाचनमा खसेको कुल मतको कम्तीमा ५० प्रतिशत र थप एक मत प्राप्त गर्नुपर्छ । महासंघका सदस्यहरूमा जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू एक सय पाँच, वस्तुगत सदस्य एक सय एक र एसोसिएट सदस्य नौ सय चार छन् ।