मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १२ शुक्रबार १५:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उजुरी संकलन गर्न जुम्ला पुग्यो बेपत्ता आयोगको टोली

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार १५:२२:००

बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा उजुरी संकलन गर्न बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकाे टोली जुम्लामा पुगेको छ ।

आयोगका सदस्य डा. गंगाधर अधिकारीकाे नेतृत्वमा जुम्ला पुगेकाे टाेलीले काम सुरु गरेको हो । जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दल, पीडितका आफन्तसँग अन्तर्क्रिया गरको छ । 

अन्तर्क्रियामा आयोगका सदस्य तथा प्रवक्ता अधिकारीले बेपत्ता नागरिकको न्याय नमर्ने र द्वन्द्व नदोहोरिने गरी काम गर्न सबैले सघाउनुपर्ने बताए । 

डा. अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरूको पहिचान र छुटेका व्यक्तिहरूको उजुरी लिने उद्देश्यले यो समयमा टोली कर्णालीमा पुगेको र पीडितसँग बयान लिने बताए ।

उनले आयोगको कार्य क्षेत्र भनेकै छानबिन तथा अनुसन्धान भएकाले यसको मूल लक्ष्य तथा उद्देश्य भविष्यमा द्वन्द्व दोहोरिन नदिने भएको बताए । 

डा. अधिकारीले मुलुकभरबाट आयोगमा तीन हजार दुई सय २३ उजुरी परेको बताउँदै उनले कर्णालीमा चार सय चार उजुरी परेको जनाए । उनका अनुसार साबिकको कर्णालीको कालिकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चारजना बेपत्ताको उजुरी परेको छ ।

अन्तर्क्रियामा पूर्वराज्यमन्त्री गोमा गौतम कुँवरले पीडितले न्याय दिने गरी काम गर्न आयोगबाट आशा पलाएको बताइन् । जिल्ला समन्य समितिका प्रमुख लालबहादुर सार्कीले द्वन्द्वमा पीडित भएका सबैको सही तथ्यांक र अवस्थाबारे जानकारी गर्ने हिसाबले काम गर्न सुझाब दिए । 

नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले द्वन्द्वलाई शान्ति प्रक्रियासँग जोडेर काम गर्न र न्याय दिलाउन आवश्यक रहेको बताए । नेपाली कांग्रेस जुम्लाका प्रतिनिधि लक्ष्मण शाहीले द्वन्द्वका घाउ अहिले पनि भएकाले न्याय दिलाउन सबैको आवश्यकता छ ।

आयोगले कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा. अधिकारीले कर्णालीलाई प्राथमिकता राखेर जुम्ला पुगेको आयोगले बेपत्ताको छानबिन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालाहरूसँग छलफल गर्ने जनाए । 

छुटेका उजुरी संकलन

आयोगले शनिबार जिल्लास्थित सरोकारवाला निकायसँग कार्यक्रम सम्पन्न गरेको र दुई–तीन दिन जुम्लामै बसेर काम गर्ने जानकारीसहित छुटेका भएमा पनि उजुरी लिइने भएकाले कसैलाई जानकारी भएमा जिल्ला समन्वय समिति, स्थानीय तहमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

आयोगका सदस्य अधिकारीसहित चार सदस्यीय टोलीले जुम्लामा शनिबारदेखि काम सुरु गर्नेछ ।