१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ मङ्सिर १२ शुक्रबार १५:२४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना महामारीपछि प्रदेश २ मा अस्पतालमा प्रसूति गराउनेको संख्या न्यून

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ मङ्सिर १२ शुक्रबार १५:२४:००

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १८ की यइसा खातुन सुत्केरी बेथा लागे पनि अस्पताल गइनन् ।

जनकपुरमै भए पनि कोरोना भाइरस संक्रमणको भयले उनी नजिकैको अस्पतालसमेत नगएकी हुन् । बरु छिमेकमै बस्ने एक निजी अस्पतालमा कार्यरत नर्सको सहयोग लिएर घरमै शिशु जन्माइन् । 

महोत्तरीको औहरी नगरपालिकाका– ३ की रिना मण्डल सुत्केरी बेथाले केही घन्टा छटपटाइन् । अस्पतालकै कर्मचारी र चिकित्सकलाई कोरोना लागेको खबर आएकाले उनलाई अस्पताल लगिएन । गाउँकै चिकित्सको सल्लाहमा घरमै शिशुलाई जन्म दिइन् । उनका पति रञ्जित मण्डल भन्छन्, ‘कोरोना सर्ने डरले अस्पताल लग्न सकिएन ।’

कोरोना भाइरसको महामारीका कारण यइसा र रिनाजस्तै कैयौँ गर्भवती आमाहरू प्रसूति सेवा लिन अस्पताल जान छोडेका छन् । कोरोनाका कारण अस्पतालमा प्रसूति गराउनको संख्या अत्यधिक घटेको अध्ययनले पनि देखाएको छ ।

काठमाडौंस्थित गोल्डेन कम्युनिटीले गरेको एक अध्ययनअनुसार, कोरोना कालमा अस्पतालमा आएर प्रसूति गराउनेको संख्यामा ५५ प्रतिशत कमी आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरसहित अन्य अस्पतालमा गरिएको अध्ययनअनुसार विगतका वर्षहरूभन्दा कोरोनाको महामारीका वेला अस्पतालमा प्रसूति गराउनेको संख्यामा अत्यधिक कमी आएको हो । 

गत वैशाखदेखि १० मंसिरसम्म प्रादेशिक अस्पताल, जनकपुरमा चार हजार एक सय ७० जनाले मात्रै प्रसूति सेवा लिएका छन् । जब कि गत वर्ष यो अवधिमा प्रसूति सेवा लिनेको संख्या झन्डै नौ हजार थियो । गत वर्षभरि ११ हजार दुई सयले प्रसूति सेवा लिएको प्रादेशिक अस्पतालको तथ्यांक छ । 

नेसनल डेमो ग्राफिक हेल्थ सर्वे २०१६ का अनुसार प्रदेश २ मा ४५ प्रतिशत महिला मात्रै प्रसूति सेवाका लागि अस्पताल जाने गरेका छन् । त्यस्तै, ३६ दशमलव १ प्रतिशत गर्भवती महिलाले मात्रै नियमित स्वास्थ्य जाँच गराउँदै आएको पाइएको छ । 

त्यसैगरी, शिशु जन्मिएको एक घन्टाभित्र ४५ दशमलव ३ प्रतिशत महिलाले मात्रै दूध चुसाउने, ६५ दशमलव २ प्रतिशत महिलाले मात्रै बच्चाले जन्म लिएलगत्तै बच्चालाई आफूसँगै टाँस्ने गरेको अध्ययनमा देखिएको छ ।

प्रदेश २ मा १३ दशमलव ७ प्रतिशत बच्चाको तौल आवश्कताभन्दा कम हुने तथा प्रत्येक एक हजार बच्चा जन्मिँदा ३० जनाको मृत्यु हुने गरेको अध्ययनमा उल्लेख छ । 

प्रादेशिक अस्पताल जनकपुरका प्रवक्ता डा. रामनरेश पण्डित पनि कोरोनाका कारण अस्पतालमा प्रसूति गराउनेको संख्या घटेको बताउँछन् ।

‘कोरोनापछि लकडाउनको अवधिमा प्रसूति गराउनेको संख्या न्यून थियो, त्यसपछि पनि खासै सुधार भएको छैन,’ डा. पण्डित भन्छन् । कोरोनाको भय प्रमुख समस्या भए पनि लकडाउनमा सवारीसाधन बन्द तथा आर्थिक समस्याले पनि ग्रामीण क्षेत्रका सर्वसाधारण अस्पतालमा आउन नचाहेको उनको भनाइ छ । उनीहरूले नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग यसका लागि सहयोग लिएको हुन सक्ने उनी अनुमान गर्छन् । 

कोरोनाले प्रसूति सेवामा सुधार
कोरोना महामारीका कारण अस्पतालमा प्रसूति सेवा लिनेको संख्या अत्यधिक घटे पनि सेवामा भने सुधार आएको पाइएको छ ।

गोल्डेन कम्युनिटीले गरेको अध्ययनमा कोरोना कालमा प्रसूति सेवा गराउन आउनेको संख्यामा कमी आए पनि सेवामा भने सुधार आएको देखिएको छ । 

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा. जामुन सिंह बिरामीको चाप कम भएकाले सेवामा सुधार देखिएको बताउँछन् । ‘बिरामीकै संख्या कम भएपछि स्वास्थ्यकर्मीहरूमा बिरामी हेर्ने चाप हुँदैन, यस्तोमा एक बिरामीलाई स्वास्थ्यकर्मीले दिने समय विगतको भन्दा बढी हुन्छ,’ डा. सिंह भन्छन्, ‘बिरामीलाई जाँच वा हेरचाह गर्ने समय बढी हुनु स्वाभाविक हुन्छ ।’

त्यस्तै, कोरोना कालमा विगतका वर्षहरूभन्दा स्वास्थ्यकर्मीको संख्या बढी भएकाले पनि सेवामा सुधार आएको उनको भनाइ छ ।