मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १३:०३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

‘संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १३:०३:००

संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदान–प्रदान एवं अन्तर्क्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ । 

संघीय संसद् सचिवालयको आयोजनामा संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको कार्यक्रमको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।  

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए । 

प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनको भनाइ छ । 

सभामुख सापकोटाले हामी चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो वेला अवसर नै बढी रहेको बताए । उनले भने, ‘हामीले बढीभन्दा बढी अन्तर्क्रिया आयोजना गर्नुपर्छ । संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो ।’ 

सभामुख सापकोटाले संसद्का समितिहरू बढी सक्रिय हुनुपर्नेमा जोड दिए । उनले संसद् अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने धारणा राखे ।   

कार्यक्रममा उनले संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रूपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको चर्चा गरे ।  

अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ का कारण अब संसद्का गतिविधि रोक्न नहुने बताए । उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद्लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखे । 

अध्यक्ष तिमिल्सिनाले कोभिड– १९ अवस्था अनुमानयोग्य  नभएको चर्चा गर्दै अब यससँगै अभ्यस्त हुनुपर्ने बताए । लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुला भएको बताउँदै उनले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको चर्चा गरे । 

संघीय संसद्को हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उनले त्यसका लागि तयारी भइरहेको जानकारी दिए । 

संघले बनाउनुपर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरू समस्यामा परेको उनले बताए । उनले हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीयस्तरमा लैजानुपर्नेमा जोड दिए । 

यसका लागि कानुन मन्त्रालयले विशेष पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । 

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संघीय संसद्को नियमित अधिवेशन आह्वानको तयारी भइरहेको बताउँदै संघीय संसद् सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारीप्रति खुसी व्यक्त गरिन् ।  

उनले संसद्ले हालसम्मका कार्यमा कति प्रगति भयो भनेर समीक्षा गर्नुपर्ने बताउँदै व्यवहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन् । उनले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राखिनुपर्ने बताइन् ।  

‘समाजमा देखिएको महिला र पुरुषबीचको विभेद संसदीय अभ्यासमा देखिनुहुँदैन,’ उनले भनिन् । तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेशमार्फत ऐन ल्याएको चर्चा गर्दै उनले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको उल्लेख गरिन् ।   

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसद्को यो अवधिमा कति कानुन निर्माण गर्न सक्यौँ, सामाजिक न्यायका लागि कति काम गर्न सक्यौँ भनेर समीक्षा गरिनुपर्ने बताइन् ।

उनले पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचारमा अगाडि देखाएको विषयलाई ख्याल राख्दै संघ, प्रदेश सबैले सचेत भएर अघि बढ्नुपर्ने धारण राखिन् । संसदबाट बनाइएका कानुन तल्लो तहसम्म कार्यान्वयनमा लैजान सके मात्रै जनतामा राम्रो सन्देश जाने उनको भनाइ छ । 

कार्यक्रमको सुरुमा संघीय संसद्का महासचिव डा. भरतराज गौतमले उपस्थित सबैलाई स्वागत गरे । कार्यक्रममा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद् सचिवालयका सचिवहरू ध्रुवप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता रहेको छ ।

अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश २ का उपसभामुख भर्चुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख तथा उपसभामुख कार्यक्रममा उपस्थित छन् । आज दिनभरको अन्तर्क्रियापछि भोलि कार्यक्रमको समीक्षा र निष्कर्ष प्रस्तुत गरेर कार्यक्रम समापन हुनेछ । 

तस्बिर : सभामुखकाे सचिवालय