मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १२:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्याप्त जलविद्युत् उपलब्ध हुँदाहुँदै दाताकाे पैसा सक्न गौतमबुद्ध विमानस्थलमा करोडौँको सोलार राख्ने योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १२:३८:००

देशमा पर्याप्त जलविद्युत् उपलब्ध हुँदाहुँदै पनि दातृ निकायको सहयोग सक्न निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोलार राखिने भएको छ । 

यस विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने योजना ऊर्जा मन्त्रालय अघि बढाएको छ । 

रुपन्देहीस्थित भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी गरिएको हो । 

ऊर्जा, जलस्राेत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति गर्नेबारे छलफल भएको हो । 

शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय नन्दबहादुर पुन र याेगेश भट्टराईका साथै पर्यटनसचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए । 

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरूलाई बुझाउन निर्देशन दिएको छ । 

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना बनाइएको छ । 

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब पाँच करोड रुपैयाँमध्ये झापामा पाँच, बुटवलमा सात, पोखरामा चार र चनौटामा आठ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ । 

जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । 

ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो । 

सोलार प्लान्ट निर्माणधका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा दिनेछ । 

निजी क्षेत्रलाई सीधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ । 

प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ । 

बैठकमा ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको दाबी गरे । 
उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिए । 

यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रिय रूपमै राम्रो सन्देश जाने बताए ।