१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार १०:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झारले पुरियो गाडी, कबाडीमा पनि नजाने अवस्थामा

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार १०:०५:००

डिभिजन वनले नियन्त्रण गरेका गाडी लामो समयदेखि लिलाम भएन

  • डिभिजन वन कार्यालय झापामा थन्किएका सवारी । लिलाम प्रक्रियामा नजाँदा यी सवारी कामै नलाग्ने अवस्थामा पुगेका छन् । गाडीमै झार उम्रिएर जंगलजस्तै भएको छ । तस्बिर : नयाँ पत्रिका

काठ तस्करीमा प्रयोग भएका सवारी लामो समय वन कार्यालयमा थन्किँदा कामै नलाग्ने अवस्थामा पुगेको छ । जिल्लाका विभिन्न ठाउँमा नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय र सबडिभिजन वन कार्यालय सुरुंगामा राखिएका गाडी लिलाम–बिक्री प्रक्रियामा नजाँदा कामै नलाग्ने अवस्थामा पुगेको हो । 

अवैध ढंगले वन पैदावार निकासीमा प्रयोग भएका ट्रक, पिकअप, ट्रयाक्टरलगायत गाडी लामो समयदेखि लिलाम नहुँदा गाडीमै झार पलाएर राखेको ठाउँ नै जंगलझैँ भएको छ । डिभिजन वन कार्यालय झापामा १२ र सबडिभिजन वन कार्यालय सुरुंगामा २५ गरी जम्मा ३७ वटा गाडी नियन्त्रणमा लिइएको छ । यी गाडी वर्षौँदेखि कार्यालय परिसरमै थन्किएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए । झन्झटिलो प्रक्रियाका कारण हालसम्म यी सवारी लिलाम प्रक्रियामा जान नसकेको उनले बताए । 

‘पाँच/सात वर्षअघि लिलाम भएर केही गाडी गए, तर अधिकांश अहिलेसम्म भएको छैन । प्रक्रिया लामोे छ । जसका कारण गाडी यत्तिकै थन्किएको छ,’ उनले भने, ‘प्रदेशको वन मन्त्रालयलाई लिलाम प्रक्रियाका लागि भनेका पनि छौँ । प्रदेशले मूल्यांकन समिति पनि बनाइदिएको छ । समितिलाई पत्राचार गरेर ताकेता गरिरहेका छौँ । तर, महामारीले सवारीको मूल्यांकन हुन सकेको छैन । अब प्रक्रिया अघि बढ्छ भन्ने आस छ ।’ 

डिभिजन वन कार्यालय र सबडिभिजन वन कार्यालय सुरुंगामा राखिएका गाडी त्यहीँ खिया लागेको छ । कतिपयको पार्टपुर्जा छरिएका छन् । गाडीमा झार पलाएर राखेको ठाउँ जंगलझैँ बनेको छ । अधिकांश सवारी कबाडीमै बेच्नुपर्ने अवस्था आएको सहायक वन अधिकृत भट्टराईले बताए । 

‘प्रक्रिया मिचेर हामीले लिलाम–बिक्री गर्न सक्दैनौँ । कतिपय त कबाडीमै बेच्न पनि मुस्किल हुने वेला भयोे । राखेकै ठाउँमा झार पलाएको छ । खिया लागेर कामै नलाग्ने अवस्था भएको छ,’ उनले भने, ‘प्रक्रिया लामो भएका कारण पनि लिलाम गर्न सकिएको छैन । यहाँ नियन्त्रण लिइएका सवारी पनि दुई नम्बरी रहेछ । यातायातसँग सहकार्य गर्दा नम्बर प्लेट र सवारीको चेसिस नम्बर नमिल्दो रहेछ । जसका कारण पनि केही ढिला भएको हो ।’