१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ०९:४५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

५४ देशमा कोरोनाको दोस्रो लहर

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ०९:४५:००

डब्लुएचओ तथा भ्याक्सिनसम्बन्धी अनुसन्धान गरिरहेका विज्ञहरूले तेस्रो लहरको कोरोना भाइरस सुरु हुने बताउँदै आएका छन् । पहिलोको तुलनामा दोस्रो लहरमा धेरै संक्रमित भए । अहिले ५४ देशमा कोरोनाको दोस्रो लहर चलिरहेको छ । सबैभन्दा बढी प्रभावित हुनेमा उत्तर र दक्षिण अमेरिका, युरोप र एसियाका केही देश पर्छन् ।

डब्लुएचओले १७ नोभेम्बरमा सार्वजनिक गरेको एक तथ्यांकअनुसार ९–१५ नोभेम्बरसम्म विश्वमा ४० लाख व्यक्ति संक्रमित भएका थिए । गत साता २२ प्रतिशतले बढेको थियो । यसबीचमा ६० हजार व्यक्तिले ज्यान गुमाए । गत साता मृत्यु हुने प्रतिशत ११ रह्यो । डब्लुएचओले जाडो मौसम सुरु भइसकेकाले कोरोनाको अवस्था झनै भयावह हुने बताएको छ । जाडो मौसममा दोस्रो लहरको कोरोना खतरनाक रूपमा अगाडि बढ्ने डब्लुएचओको भनाइ छ ।

पोल्यान्ड, रुस, युक्रेन, जर्मनी, स्पेन तथा बेलायतमा दोस्रो लहरको स्थिति सम्हाल्न गाह्रो परिरहेको छ । एसियाका ११ देशमा दोस्रो लहर चलिरहेको छ । इरान, इन्डोनेसिया, भारत र जोर्डनमा दोस्रो लहरको कोरोनाले तीव्रता लिएको छ । यसैगरी, दक्षिण अफ्रिकामा मोरोक्को, दक्षिण अमेरिकामा ब्राजिल, कोलम्बिया र अर्जेन्टिना पर्छन् ।

अमेरिकामा पहिलो लहर २४ जुलाईमा आउँदा प्रतिदिन ७९ हजार व्यक्ति संक्रमित भएका थिए । २० नोभेबरमा दोस्रो लहर घोषणा हुँदा त्यहाँ प्रतिदिन दुई लाख ४० हजार व्यक्ति संक्रमित भएका छन् । यसैगरी, ब्राजिलमा पहिलो लहर घोषणा हुँदा प्रतिदिन ७० हजार केस देखिएको थियो । रुसमा दोसो लहर चल्दा प्रतिदिन २५ हजार संक्रमित संख्या भएको देखिन्छ । फ्रान्समा दोस्रो लहरमा प्रतिदिन ८८ हजार व्यक्ति संक्रमित भएका छन् । त्यहाँ पहिलो लहरको निकै पिक समयमा पनि पाँच हजार मात्र संक्रमित भएका थिए ।

विश्वमा प्रतिदिन कति संक्रमित ?
वर्ल्डमिटरमा कोभिड–१९ संक्रमित संख्या बढी नै रहेको देखिन्छ । चार करोड संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । एक वर्षभित्र कोरोना भाइरस संक्रमित प्रतिशत ११९०० रहेको डब्लुएचओले जनाएको छ । डब्लुएचओको तथ्यांकअनुसार २०२० जनवरीमा प्रतिदिन दुई हजार संक्रमित संख्या देखिएको थियो । २०२० नोभेम्बरमा प्रतिदिन ६ लाख संक्रमित भएका छन् ।

२०२० फेब्रुअरीमा पाँच हजार, मार्चमा ३० हजार, अप्रिलमा ८० हजार, मेमा एक लाख २५ हजार, जुनमा एक लाख ९५ हजार, जुलाईमा दुई लाख ५० हजार, अगस्टमा तीन लाख, सेप्टेम्बरमा तीन लाख ५० हजार र अक्टोबरमा तीन लाख ५० हजार व्यक्ति प्रतिदिन संक्रमित भएको डब्लुएचओले जनाएको छ ।

१८ दिनमै एक करोड संक्रमित
वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वमा यति धेरै फैलिन्छ भनी कसैले पनि अनुमान गरेका थिएनन् । वुहानमा देखिएको २२३ दिनपछि भाइरसबाट संक्रमित हुने संख्या एक करोड पुगेको थियो । एक करोड व्यक्ति संक्रमित हुन २२३ दिन लाग्यो । तर, त्यसको ४३ दिनपछि दुई करोड संक्रमित संख्या नाघ्यो । विश्वमा चारदेखि पाँच करोड संख्या छुन २१ दिन तथा ५–६ करोड संख्यामा संक्रमित हुन १८ दिन मात्र लागेको छ । 
 एजेन्सीको सहयोगमा