मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ मङ्सिर १२ शुक्रबार ०८:०७:००
Read Time : > 4 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पर्दापछाडिका दुःख

सिने क्षेत्रमा सिंगो जीवन खर्चिएका प्राविधिकलाई अहिले पनि कोठाभाडाकै समस्या

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ मङ्सिर १२ शुक्रबार ०८:०७:००

लाइटम्यान अर्जुन तिमल्सिना अहिले ५८ वर्षका भए । ०४४ देखि चलचित्रमा काम सुरु गरेका उनले ३३ वर्ष सिने क्षेत्रमा बिताइसके । यस अवधिमा उनले कमाएको भनेको कोठाभाडा तिर्ने पैसा र दालभातको जोहो मात्र हो । तर, कोरोना भाइरसका कारण मुलुक लकडाउन भएपछि उनी बेरोजगार बने ।

असनमा बस्ने उनको कोठाभाडा तिर्नुपर्ने रकम ४२ हजार पुगिसकेको छ । तिमल्सिनालाई चिन्ता यही कोठाभाडाकै हो । भन्छन्, ‘बुढो भयो भनेर काम पनि दिँदैनन् । काम केही छैन । यत्रो कोठाभाडा कसरी तिर्ने, त्यसैको तनाव छ ।’

करिब चार सय चलचित्रमा काम गरे तिमल्सिनाले । दुई छोरा र एक छोरी छन् । परिवार काभ्रे घरतिर छन् । अहिले ऋण माग्दै दैनिकी चलाइरहेका छन् । जहिल्यै खर्चको समस्या हुन्छ । यस्तोवेला तिमल्सिनालाई लाग्छ, ‘गलत काममा हात हालेँछु । यहाँ त पाखुरामा बल छँदासम्म मात्र रहेछ ।’ अहिले उनी आफूले जीवनको ऊर्जाशील समय यस क्षेत्रमा खेर फालेकोमा खिन्न हुन्छन् । उनको एउटै प्रश्न छ, ‘जीवन नै यस क्षेत्रमा सकाएपछि मलाई यो क्षेत्रले के दियो ?’ 

तिमल्सिनाका अन्य क्षेत्रमा लागेका साथीभाइ अहिले पेन्सन बुझ्छन् । बुढेसकालमा आरामले बसेका छन् । पेन्सन परको कुरा, ५८ वर्षको उमेरमा पनि उनी भने काम खोजी बस्छन् । तर, पाउँदैनन् । भर गर्नुपर्ने एउटा संस्था छ, चलचित्र विकास बोर्ड । तर, आफूजस्ता प्राविधिकले जिन्दगी बिताइसक्दा र यस्तो उमेरमा आइपुग्दा पनि बोर्डले केही नगरेको गुनासो छ उनको । साथै, काम नपाउनु या बुढो भएको भनेर काम नदिनुको पीडा छुट्टै छ उनको ।

सयौँ प्राविधिकको पसिना सिँचेर बनेको चलचित्रबाट धेरै कलाकार सेलेब्रिटी बने । निर्माताहरूले नाफा कमाए, घर बनाए । निर्देशकहरूले विदेशको भिसा,ग्रिनकार्ड  पाए र पलायन पनि भए । तर, पूरै जीवन सिनेकर्ममा बिताएका प्राविधिकहरूको अवस्था सधैँ दयनीय ।

‘जवानी यसै क्षेत्रमा सकाएर अहिले डाँडामाथिको घाम भएको वेला दुःखलाग्दो रहेछ आफ्नै क्षेत्र सम्झिएर । यो उमेरमा कामसम्म पाए पनि त गुजारा चल्थ्यो,’ उनी भावुक हुँदै सुनाउँछन्, ‘कति चलचित्रमा काम गरेको पारिश्रमिक पनि पाइनँ । ‘रुद्राक्ष’, ‘टक्कर’ जस्ता चलचित्रले पसिनाको मूल्य दिएन । नदिए पनि ठीकै छ, मेरो पसिना खाओस्, तर मैले त्यसरी अरूको खान नपरोस् ।’

यस्तो कथा तिमल्सिना एक्लोको मात्र होइन । चलचित्र क्षेत्रमा सयौँ छन् । जो उमेरले बुढो भइसके । अहिले न बाँच्ने आधार छ, न कसैले काम दिन्छन् । चितवनका ५५ वर्षीय भरत दराई लाइटम्यान हुन् । ३० वर्षभन्दा बढी यो क्षेत्रमा बिताइसके । भुवन केसीको ‘सपना’ चलचित्रबाट काम सुरु गरेका दराई लकडाउन सुरु भएपछि एक महिना पनि काठमाडौंमा टिक्न सकेनन् । गत २७ वैशाखमा चितवन गए । अहिले चितवनबाट काठमाडौं फिरौँ कि नफिरौँ भन्ने दोधारमा छन् ।

काठमाडौं आउन चाहन्छन् उनी, तर काम पाइएन भने ? दराईलाई सबैभन्दा ठूलो डर यही हो । अहिले आएर उनलाई लाग्छ, अन्य क्षेत्रमा लागेको भए सम्मान नै नपाए पनि यस्तो अवस्था हुन्न थियो । ‘अहिले आएर पछुतो लाग्छ नि, के गर्नु उमेरले डाँडा काटिसक्यो । अहिले त बुढो भनेर हेप्छन् । काममा पनि खासै बोलाउँदैनन्,’ दराई तीतो यथार्थ सुनाउँछन्, ‘दशभन्दा बढी चलचित्रमा मैले काम गरेको पैसा पाइनँ । नीर शाहकै चलचित्र ‘वसन्ती’बाट पनि पारिश्रमिक पाइनँ । ‘पराई’जस्ता पैसा नदिने चलचित्र धैरै छन् ।’

डेढ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका दराईले पैसा नपाएको चलचित्र मात्र दशभन्दा बढी छन् । हिसाबमा गोलमाल गरेका, अलिकति मात्र दिएर बाँकी पैसा नदिएका चलचित्र त कति छन् कति । बिहानै उठेर काममा लागेपछि कतिवेला घर फर्किने हो, पत्तो हुँदैन थियो दराईको । अहिले फर्केर हेर्दा दुःख मात्र लाग्ने बताउँछन् उनी । तिमल्सिना र दराईहरूले सयौँ चलचित्रमा काम गरे ।

उनीहरूले काम गरेको चलचित्रबाट कुनै क्रेडिट पाएनन् । चलचित्र प्रदर्शन हुँदा सानो अक्षरमा नाम आयो होला, जुन नाम उनीहरू आफैँले मात्र हेरे । तर, उनीहरूजस्ता सय–पचास प्राविधिकको पसिना सिँचेर बनेको चलचित्रबाट कलाकारहरू सेलेब्रिटी बने । निर्माताहरूले नाफा कमाए, घर बनाए । निर्देशकहरूले विदेशको भिसा पाए, ग्र्रिनकार्ड पाए र पलायन पनि भए । तर, तिमल्सिनाहरूको अवस्था भने सधैँ उस्तै रहिरह्यो । 

अहिले पनि सामान्यतया स्पट ब्वायहरूले दिनको एक हजार रुपैयाँ कमाउँछन् । एउटा चलचित्र चालीस–पचास दिनमा सुटिङ सकिँदा चालीस–पचास हजार रुपैयाँ कमाउँछन् । त्यसपछि लगत्तै काम पाइने सम्भावना हुँदैन । घरपरिवार त्यसैले चलाउनुपर्छ । यसले गर्दा प्राविधिकहरू सधैँ समस्यामा परेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन् । ‘चालीस वर्षसम्म काम गरेका प्र्राविधिक दाइहरू हुनुहुन्छ, जसको अवस्था अहिले पनि पीडादायी छ ।

उनीहरूलाई कसैले पनि चासो दिएको देखिँदैन,’ लामा भन्छन्, ‘प्राविधिकलाई राज्यले नै चासो दिएको छैन । राज्य गम्भीर छैन श्रमजीवी चलचित्रकर्मीप्रति ।’ करिब तीन हजार हाराहारीका प्राविधिकहरू कालान्तरमा पुगेर अपवादबाहेक सबैको अवस्था दुःखदायी नै हुने र त्यसका लागि राज्यले चासो दिनुपर्ने बताउँछन् लामा । 

स्पट ब्वाय नन्दु गुर्मछाने मगरले लकडाउनयता काम पाएका छैनन् । खासमा उनलाई कामै दिन छाडिएको छ । शम्भु प्रधानको चलचित्र ‘सक्कली नक्कली’बाट काम सुरु गरेका मगरले ३० वर्षभन्दा बढी भयो यस क्षेत्रमा काम गरेको । तर, अवस्था सधैँ उस्तै रह्यो । जोरपाटीमा बस्ने मगरलाई योबीचमा प्राविधिक संघ र केही कलाकारले राहत ल्याएर दिएकाले केही सहज भयो । अहिले ६८ वर्षका मगरलाई काममै बोलाउन छाडिएको छ ।

पहिला दिनमा काम गर्थे, रातमा पसल थाप्थे सुटिङ स्पटमै । त्यहीँबाट भएको जेनतेन कमाइले घर चलाउँथे, बालबच्चा पाल्थे । ‘अहिले छोराहरूले कमाउन थालेका छन् । त्यसले अलि सजिलो भएको छ,’ मगर सुनाउँछन्, ‘अब त काममा बोलाउँदैनन् । पहिलाजस्तो काम गर्न पनि सकिँदैन । विकास बोर्डका दयाराम दाहाल सरले भत्ता आउँछ हामीलाई भन्नुहुन्थ्यो, त्यो अहिलेसम्म आएको छैन ।’ 

५५ वर्षीय सुनसरीका पेमा चौधरी अहिले म्युजिक भिडियोमा फाट्टफुट काम गरिरहेका छन् । ०४२ देखि यस क्षेत्रमा सक्रिय उनले काम गरेको नै ३५ वर्ष भइसक्यो । तर, उनको अवस्था अहिले पनि उस्तै छ । ९० भन्दा बढी चलचित्रमा पूर्णरूपमा र अन्य सयौँ चलचित्र र टेलिसिरियलमा काम गरेका उनले तीन महिनादेखिको कोठाभाडा तिर्न सकेका छैनन् । कसरी भाडा तिर्ने भनेर कुनै उपाय पनि फेला पारेका छैनन् । ‘यति धेरै वर्ष काम गर्दा पनि अवस्था उस्तै छ ।

विकास बोर्ड छ, उहाँहरूले गरिदिनुपर्ने हो, तर केही गरिदिएका छैनन्,’ कोटेश्वर बस्ने चौधरी भन्छन्, ‘हातखुट्टा मजाले चलेसम्म काम दिन्छन् । अन्तिममा आएर त हाम्रो जिन्दगी कुकुरसरह भइदिँदो रहेछ ।’ काभ्रेका ३७ वर्षीय सन्तोष खड्काले काम सुरु गरेको पाँच सात वर्ष भयो । डिल्लीबजारमा बस्ने उनलाई पनि ऋणकै पिरलो छ । दुई छोरी छन् । अहिले ‘आइएम ट्वान्टीवान’ चलचित्रमा काम गरिरहेका छन् । खड्का भन्छन्, ‘सधैँ काम पाइन्छ भन्ने छैन, कतिपय अवस्थामा पाइँदैन पनि । ऋण छ, त्यसको तनाव हुन्छ । यहाँ जसको शक्ति छ, त्यसैको भक्ति हुन्छ ।’