मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ मङ्सिर १२ शुक्रबार ०६:४५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कञ्चनपुरका दुई क्रसर उद्योग बन्द गर्न निर्देशन

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ मङ्सिर १२ शुक्रबार ०६:४५:००

जिल्लाका ११ मध्ये नौवटा मापदण्डविपरीत सञ्चालन, सात उद्योगलाई आवश्यक कागजात पेस गर्न निर्देशन 

कञ्चनपुरमा सञ्चालन भइरहेका नौवटा क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको छ । तीमध्ये दुई उद्योग तत्काल बन्द गर्न र सात उद्योगलाई आवश्यक कागजात पेस गर्न निर्देशन दिइएको छ । 

गृह मन्त्रालयले देशभरिका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । त्यसका आधारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको अनुगमन टोलीले जिल्लाका सबै उद्योगको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्लाका ११ उद्योगमध्ये दुईवटा मात्रै मापदण्डअनुसार सञ्चालन भइरहेको पाइएको हो । अन्य उद्योग अवैध र मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । 

चार दिन सबै उद्योग अनुगमन गरेर जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले गृह मन्त्रालयमा प्रतिवेदन पठाएको छ । अवैध, वैध, मापदण्डविपरीत सञ्चालन भइरहेका उद्योगबारे प्रतिवेदन पठाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले बताए । ‘दुई उद्योगले मात्रै कानुनअनुरूप आवश्यक सबै प्रमाण, मापदण्ड पूरा गरी सञ्चालनमा रहेको पाइयो । बाँकी नौ उद्योग इजाजतविना र मापदण्डविपरीत सञ्चालित रहेछन्,’ प्रजिअ महतोले भने । 

अनुगमन प्रतिवेदनअनुसार वेदकोट नगरपालिका–९ सुन्दपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र वेदकोट नगरपालिका–८ भाँसीको जोशी क्रसर उद्योग मात्रै मापदण्डअनुसार सञ्चालनमा रहेका छन् ।

कृष्णपुरको आकांक्षा नेचुरल गिट्टी सप्लायर्स र वेदकोट नगरको वेदकोट निर्माण सामग्री प्रशोधन केन्द्र इजाजतविना बालुवा भनेर मेसिन नै राखेर गिट्टी उत्पादन गरिरहेको पाइएको प्रजिअ महतोले बताए । ‘आकांक्षा नेचुरल गिट्टी सप्लायर्सलाई तत्काल मेसिन हटाउन निर्देशन दिएका छौँ,’ उनले भने, ‘वेदकोट निर्माण सामग्री प्रशोधन केन्द्रलाई यथाशीघ्र बन्द गर्न निर्देशन दिएका छौँ ।’ 

त्यस्तै, सात क्रसर उद्योगलाई सम्बन्धित स्थानीय तह र आयोजना कार्यालयबाट अनुमतिका साथै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । जसमा सन्तोषी थेगिम, महाकाली गौरव बिल्डर्स, सुबिता एन्ड सुबिस कन्स्ट्रक्सन, कुमार सिफआइसी जेभी, राजेन्द्र निर्माण सेवा, बाबाहंस सिद्धिकी, राजेन्द्र लुम्बिनी निर्माण रहेका छन् । उनीहरूलाई आवश्यक कागजात पेस गर्न निर्देशन दिइएको छ ।