Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
घम्बर नेपाली
२०७७ मङ्सिर १२ शुक्रबार ०६:०६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समाजवादी स्वास्थ्य राजनीतिको बहस

Read Time : > 5 मिनेट
घम्बर नेपाली
२०७७ मङ्सिर १२ शुक्रबार ०६:०६:००

स्वास्थ्य नाफा कमाउने क्षेत्र मात्र नभएर माफिया र भ्रष्ट राजनीतिको केन्द्र बन्न पुगेको छ, यसलाई समाजवादी ढाँचामा लग्नुपर्छ 

स्वास्थ्य आमसरोकारको सवाल हुँदै हो । अझै कोभिड–१९ महामारीले यससम्बन्धी बहसलाई थप उचाइमा पुर्‍याइदिएको छ । गाउँदेखि सहरसम्म देशदेखि विदेशसम्म सारा विश्वकै ध्यान यतिवेला मानव स्वास्थ्यमा केन्द्रित भएको छ । हाल केन्द्रीय चासोको विषय कोरोनाविरुद्ध खोप/औषधी पत्ता लगाउने हो । यद्यपि अरू रोगविरुद्ध प्रतिरोध गर्ने प्रविधिको विकास गर्ने प्रयत्नमा पनि स्वास्थ्यकर्मी तथा वैज्ञानिकहरू लागिरहेकै छन् । यहाँनेर एउटा महत्वपूर्ण पक्ष मानवीय स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि औषधी तथा स्वास्थ्य प्रविधिको अन्वेषणको हो । अर्को सर्वाधिक महत्वपूर्ण प्रश्न यी उपलब्ध स्वास्थ्य सेवामा आममानिसको पहुँच कस्तो छ भन्ने हो । यी दुई पक्षलाई हेर्ने र व्यवहार गर्ने अहिलेको विश्वमा क्रियाशील मुख्यतः दुइटा मोडालिटी विद्यमान छन्– समाजवादी र पुँजीवादी ।

समाजवादी मोडालिटी खासगरी कम्युनिस्ट शासित मुलुकले अपनाउँदै आएको ढाँचा हो । तर, हाल आएर थुप्रै पुँजीवादी देशले पनि यस ढाँचामा आफ्नो स्वास्थ्य प्रणालीलाई समायोजन गरिसकेका छन् । नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सत्ता सञ्चालित छ । तर, यहाँको स्वास्थ्य राजनीति भने पुँजीवादी मोडालिटीबाट बढी प्रभावित देखिन्छ । देशको ठूलो जनसंख्याको हिस्सा सामान्य औषधीमुलोकै पहुँचभन्दा बाहिर रहेको हाम्रो सन्दर्भमा किन समाजवादी मोडालिटीले काम नगरेको होला ? कुल मतदातामध्ये दुईतिहाइभन्दा बढी कम्युनिस्ट पक्षधर भएको हाम्रो सार्वजनिक वृत्तमा किन समाजवादी स्वास्थ्य राजनीतिको बहस कमजोर बन्न पुगेको होला भन्ने मूल प्रश्नको खोजीमा यो आलेख केन्द्रित रहेको छ । 

स्वास्थ्यमा नेपालीको पहुँच : धेरै टाढासम्म पुग्नै पर्दैन । यही कोभिड–१९ कै सेरोफेरोलाई अवलोकन गरौँ । जब चैत ६ बाट लकडाउन सुरु भयो, बजारमा मास्क, सेनिटाइजर, खाद्यान्न, पानीको अभाव सिर्जना गरियो । जति लकडाउन लम्बिँदै गयो, साधारण मानिस कोभिडले भन्दा भोकले मर्ने स्थिति पैदा भयो । कैयौँ दिन जंक फुड (जसलाई अखाद्य वस्तु मानिन्छ) र पानीको भरमा सयौँ किलोमिटर दूरी खुट्टामा फोका उठाउँदै हिँडेर उनीहरू घर फर्केको घटना ताजै छ । ज्वरो, निमोनिया, झाडापखला तथा अरू सामान्य रोग लागेका बिरामीले अस्पतालमा भर्ना नपाउँदा अकालमा ज्यान गुमाउनुपर्‍यो । यस्तो भर्ना लिनै इन्कार गर्ने स्थिति चरम नाफा कमाउन खोलिएका निजी अस्पतालमा अझ बढी देखियो । विपन्न संक्रमित नागरिकहरू सडकमै मृत्यु पर्खिरहेको समाचार त्यतिवेला हामीले पढ्न विवश भएकै हो । बजारमा स्वास्थ्य माफिया र दलालहरूले कोभिडलाई आतंकको रूपमा तेर्स्याइदिएर अत्यावश्यक सामग्रीको मूल्य छोइनसक्नु बनाइदिए । अलि राम्रो आर्थिक अवस्था हुनेले लाखौँ रकम तिरेर निजी अस्पतालमा उपचार गराए । कतिपय बिरामी मृत्यु भइसकेपछि रकम तिर्न नसक्दा ती अस्पतालले शव निकाल्नसमेत नदिएका समाचार पनि बाहिर आए ।

आजभोलितिर फर्कौं । कोरानाले दैनिक हजारौँ संक्रमित भइरहेका छन् । संकेतसहितका संक्रमित अरू बढिरहेका छन् । संक्रमितको मृत्युदर बढ्दै गइरहेको छ । सामान्य व्यक्तिले मास्क किनेर लगाउन सक्ने आर्थिक अवस्था छैन । नलगाई हिँड्दा कारबाहीमा पर्ने डरले पुरानो मास्क कैयौँ दिन लगाएर हिँड्नुपर्ने बाध्यता छ । जुन स्वास्थ्यका दृष्टिकोणले अरू जोखिमपूर्ण मानिन्छ । मेरो एकजना आफन्तको यही लकडाउनका वेलामा फोक्सोको ठूलो शल्यक्रिया गर्नुपर्ने आपत्कालीन स्थिति आइलाग्यो । जिल्लाबाट काठमाडौंमा आइपुग्दाको गाडीभाडा मात्र तीस हजार बुझाउनुपर्‍यो । यहाँ आइपुगेपछि होटल बसाइको खर्च, ट्याक्सी भाडा, औषधी खर्च, अस्पतालको बसाइ सबै हिसाब गर्दा लाखौँ पुग्यो । उनले खाडी मुलुकमा गएर कमाएको सबै पैसा सकेर पनि अहिले ऋणमा छन् । सहरमा अहिले बेरोजगारी चरम अवस्थामा पुगेको छ । भाडा तिरेर बस्न सक्ने अवस्था छैन । खुलामञ्चलगायत धेरै ठाउँमा भोक तृप्ति गर्ने लाइनले पनि देखाउँछ, हाम्रो गरिबीको अवस्था । के सामान्य व्यक्तिले दिनैपिच्छे मास्क, सेनिटाइजर आदि प्रयोग गरेर हिँड्न सम्भव होला र ? यस्तो कुरा सम्भव हुन या त आर्थिक अवस्था राम्रै हुनपर्‍यो, या उनीहरूको सत्ता र स्रोतसँग निकटता हुनुपर्‍यो । वास्तवमा यतिवेला स्वास्थ्य माफिया र दलालहरूलाई पैसा थुपार्न मालामाल अवस्था बनाइएको छ । साधारण मानिसहरूको अवस्था विजोग छ । 

मानव स्वास्थ्यलाई निजी नाफा कमाउने थलो बनाएको पुँजीवादलाई गतिलो धक्का दिने गरी समाजवादी ढाँचाका रूपमा क्युवाको स्वास्थ्य प्रणालीलाई लिन सकिन्छ । जहाँ डाक्टरहरू रोगको उपचारभन्दा प्रतिरोधात्मक क्षमता वृद्धितिर जोड दिन्छन् ।
 

समाजवादउन्मुख भनिएको हाम्रो दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम लकडाउन बन्यो । त्यो पनि कोराना संक्रमित भर्खरै बढ्दै गर्दा मात्र लागू भयो । जब कोरोना संक्रमित तीव्र दरमा बढ्दै गए, लकडाउनको रणनीति फेल हुन गयो । बरु यसबीच सरकारका मन्त्रीहरूले खुलेआम भ्रष्टाचारको अद्वितीय नमुना मानिने ओम्नी काण्डहरू घटाउन पुगे । निजी अस्पताललाई आफ्नो आदेश लागू गराउनै हम्मेहम्मे पर्‍यो । आफ्ना नागरिकको जिम्मेवारीबाट च्युत हुँदै जाँदा कोरोनाको परीक्षण र उपचार व्यक्ति आफैँले गर्नुपर्ने निर्णय गर्नसमेत सरकारले भ्यायो । तर, सर्वोच्चमा परेको रिट आदेशपश्चात् पुनः उक्त निर्णयबाट सरकार पछि हट्न बाध्य भएको छ । ‘स्वास्थ्य सेवा दूरदराजका जनताको पहुँचसम्म पुर्‍याऊ, स्वास्थ्यलाई माफियाहरूको कब्जाबाट मुक्त गर’ जस्ता जनताका प्रत्यक्ष सरोकारका माग राखेर यही कोभिडकै बीचमा १९औँ पटक डा. गोविन्द केसीले आमरण अनशन बस्नुपर्ने बाध्यात्मक स्थितिले पनि सरकारको प्रवृत्तिलाई थप उजागर गरिदिएको छ । 

समाजवादी स्वास्थ्य मोडालिटी : नेपालका पुँजीवादी विचारधारा बोक्ने तप्काका लागि विद्यमान सरकारका क्रियाकलापलाई देखाएर समाजवादी विचार र त्यसको आदर्शमाथि हिलो छ्याप्ने राम्रो मसला भएको छ । कुनै विचार बोक्ने नेतृत्व वा दल उक्त विचार सिद्धान्तबाट स्खलित भएपछि सिद्धान्त नै गलत हो भन्नु या त दार्शनिक दरिद्रता हो, या लाञ्छनासिवाय केही होइन । यो प्रवृत्तिबाट नेपालका पुँजीवादी दलहरू मात्र होइन, समाजवादी विचारधारा बोक्ने दलहरू अझ बढी ग्रसित छन् । यी दलहरूले आफू र आफ्नो दललाई भयंकर प्रगतिशील र क्रान्तिकारी ठान्छन्, तर ती दलहरूलाई व्यवहारको कसीमा तौलियो भने पुँजीवादीभन्दा गएगुज्रेका हुन्छन् । त्यसमध्ये एउटा गतिलो उदाहरण बनेको छ डबल नेकपा, जसले दस्ताबेज र गफमा आफूलाई कम्युनिस्ट भन्न छोडेको छैन । तथापि त्यस दलको नेतृत्वमा सञ्चालित सरकारका निर्णय तथा व्यवहारलाई अवलोकन गर्‍यौँ भने समाजवादी ढाँचासँग कतै मेल खाँदैन ।

सधैँ नाफाका लागि खुला बजार र प्रतिस्पर्धाको वकालत गर्ने पुँजीवादी स्वास्थ्य ढाँचाभन्दा समाजवादी ढाँचा कैयौँ गुणा जनमुखी मात्र होइन, मानवीय पनि छ । तर, किन यो ढाँचा व्यापक र दिगो हुन सकेन भन्ने सवाल समीक्षाको विषय अवश्य हो । सोभियत संघ हुँदै माओकालीन चिनियाँ ढाँचालाई हेर्दा हामीले बढी राज्यनिर्देशित र नियन्त्रित भएको पाउँछौँ । जसको परिणामस्वरूप राज्यसत्ता अलि केन्द्रीकृत र नियन्त्रणमुखी बन्दै जाँदा आमसमुदायका अधिकारमाथि हस्तक्षेप हुने स्थिति पनि पैदा भयो । त्यसकारण, राज्यकेन्द्रित समाजवादी ढाँचाको आलोचना गर्दै मार्क्सवादी राजनीतिक चिन्तक जेरल्ड एलन कोहेनले समाजवाद नै किन ? भन्ने पुस्तक (सन् २००९) मार्फत समाजवादी विचारलाई थप समृद्ध गर्ने काम गरेका छन् । यस पुस्तकमा उनले समाजवादका दुईवटा मूलभूत सिद्धान्तलाई जोड दिन्छन् । पहिलो, समाजवादी अवसरको समानतासम्बन्धी सिद्धान्तले मानिस सामाजिक पृष्ठभूमि तथा जन्मजात नभई उसको रुचि तथा छनोटको कारण भिन्नता अनुभव गर्न पुग्ने बताउँछ । दोस्रो, सामुदायिक भावनाको सिद्धान्तले पारस्परिक हेरचाह, प्रेम तथा सम्मानलाई जोड दिन्छ । यो दोस्रो सिद्धान्तले त्यतिवेला पूर्णता पाउँछ, जतिवेला मानिसहरू एकअर्कालाई समान हैसियतमा व्यवहार गर्न थाल्छन् । 

कोहेनले अघि सारेको यो सिद्धान्तले आजको समाजवादी व्यवस्था निर्माणका लागि एउटा प्रस्ट चित्र दिन्छ । एकातिर यो सिद्धान्तले मानिसबीच सामाजिक तथा राजनीतिक संरचनाले नै विभेद तथा हेलाहोचो गर्ने कुरालाई अस्वीकार गर्छ । अर्कोतिर वास्तविक न्याय र समानताका लागि परस्पर हार्दिकता, आत्मीयता, माया र श्रद्धा हुनुपर्ने तथ्यलाई उजागर गरिदिएको छ । जसले गर्दा मानिसबीच सहकार्यको वातावरण सिर्जना हुने कुरा उनले प्रकाश पारेका छन् । जस्तो कि शिक्षकले पढाउँदै गर्दा, डाक्टर–नर्सले बिरामीको उपचार गर्दै गर्दा पैसाको हिसाबकिताब गरेका हुँदैनन् । बरु उनीहरू त मानवीय आवश्यकताप्रति पो दत्तचित्त भइरहेका हुन्छन् । 

समाजवादी स्वास्थ्य प्रणालीको बाटो : मनिसको इतिहासलाई हेर्‍यो भने उसको स्वभाव सामूहिक रूपमा हुर्किन रमाउने खालको नै पाउँछौँ । निजी सम्पत्ति र राज्यको सुरुवातसँगै स्वार्थ र लोभमा आधारित प्रतिस्पर्धाले स्थान लियो । जसलाई चुनौती दिने समाजवादी विचार र केही अभ्यास भए पनि आजको संसारमा पुँजीवादी व्यवस्थाकै रजगज चलिरहेको छ । समाजवादका कतिपय ढाँचालाई समावेश गरेरै पनि पुँजीवादले आफ्नो अस्तित्वलाई टिकाउन सफल भएको हो । तथापि मानव स्वास्थ्यलाई निजी नाफा कमाउने थलो बनाएको पुँजीवादलाई गतिलो धक्का दिने गरी समाजवादी ढाँचाका रूपमा क्युवाको स्वास्थ्य प्रणालीलाई लिन सकिन्छ । जहाँ डाक्टरहरू रोगको उपचारभन्दा प्रतिरोधात्मक क्षमता वृद्धितिर जोड दिन्छन् । समुदायसँग बसेर डाक्टरहरू अध्ययन गर्ने र सेवा प्रवाह गर्ने गर्छन् । जसले स्वास्थ्यकर्मी र समुदायबीचमा पारस्परिक प्रेम र सेवाको भावना अभिवृद्धि गरेको छ । आज पनि तीसौँ हजार डाक्टरहरू ६७ भन्दा बढी देशमा कार्यरत छन् । सामुदायिक स्वास्थ्य प्रणालीको जग हाल्ने काम सन् १९५९ मा फिडेल क्यास्ट्रोले गरेका थिए । 

नेपालमा वर्गीय खाडल मात्र छैन, जात, लिंग, भाषा, संस्कृति, भूगोल, अपांगतालगायत विभेदहरू विद्यमान छन् । देश संघीय ढाँचामा गइसक्दासमेत स्वास्थ्य सेवालगायतका सुविधा केन्द्रीय राजधानीमै केन्द्रित छन् । स्वास्थ्य नाफा कमाउने क्षेत्र मात्र नभएर माफिया र भ्रष्ट राजनीतिको केन्द्र बन्न पुगेको छ । नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै बेथितिबाट निकास दिने कार्य पुँजीवादी मोडलबाट सम्भव नहुने तथ्य हालसम्मको प्रयोगले सिद्ध गरिसकेको छ । त्यसकारण अबको स्वास्थ्य प्रणाली समाजवादी ढाँचामा संरचित गर्नु नै सर्वोत्तम विकल्प हो । त्यसले मात्र स्वास्थ्यमा देखिइरहेका गहिरा विभेदरूपी खाडललाई पुर्दै आममानिसको स्वास्थ्यमाथि पहुँच र अपनत्व सिर्जना गर्नेछ । सामुदायिक पारस्परिकता र अवसरको समानताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा मात्र सुनिश्चित हुनेछैन, बरु स्वास्थ्यकर्मीहरूलाई नवीनतम खोज र विकासतिर थप उत्प्रेरणा बढाउनेछ ।