१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर ११ बिहीबार ११:५५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बोक्सीकाे आरोपमा निर्घात कुटिएकी मूर्तिदेवीलाई सम्मान र सहयोग 

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर ११ बिहीबार ११:५५:००

बोक्सीको आरोपमा निर्घात कुटिएकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई सम्मानसहित नगद र खाद्य सामग्री सहयोग गरिएको छ । 

अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिवसीय अभियानको पहिलो दिन बुधबार नवराजपुर गाउँपालिका– ४ सोनवर्षास्थित जनता माविमा आयोजित लैंगिक हिंसा तथा बोक्सी आरोपविरुद्ध सचेतना अभिवृद्धि कार्यक्रममा उनलाई सम्मानसहित नगद र खाद्य सामग्री सहयोग गरिएको हो । 

 

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले महिलामाथि हुने निकृष्ट हिंसा बोक्सीको आरोपमा कुटिएकी मूर्तिदेवीले न्यायका लागि गरेको संघर्षका लागि सम्मान गरिएको बताए । 

‘गाउँमा महिलामाथि कसैले गलत व्यवहार गरे तत्काल प्रहरीलाई खबर गर्नुस्,’ प्रजिअ कँडेलले भने, ‘त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिनेछ ।’ समाजमा गलत काम गर्ने, महिला हिंसा गर्नेहरूको विषयमा जसले उजुरी गरे पनि कानुनी कारबाही गरिने उनले बताए । 

उपचार खर्च र खाद्य सामग्री सहयोग

नवराजपुर गाउँपलिकाले मूर्तिदेवीलाई एउटा ब्ल्यांकेट, ४० किलो चामल, पाँच किलो दाल, दुई लिटर खानेतेल, आधा दर्जन साबुन सहयोग गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नवराजपुर गाउँपालिकासहित ओरेक नेपाल, मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र, इह्रिकन, सहयोगी हातहरूको आयोजनामा भएको १६ दिवसीय अभियानअन्तर्गत मूर्तिदेवीको उपचारमा सहयोगस्वरूप जनउत्थानले १० हजार रुपैयाँका चेक हस्तान्तरण गऱ्याे । 

गाउँपालिका अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, सिराहा प्रहरीका डिएसपी शालिग्राम शर्मा पौडेल, स्थानीय बासिन्दाको उपस्थितिमा भएको कार्यक्रममा सम्मानित हुनुअघि मूर्तिदेवी डाको छोडेर रोएकी थिइन् । 

‘कुटपिट गर्दा गहिरो चोट लागेर बायाँपट्टि बंगारामा क्लिप हालेर भर्खर झिकिएकाले राम्ररी बोल्न पनि सकेकी छैनन्,’ मूर्तिदेवीका पति रामनारायण यादवले भने, ‘दुर्व्यवहार र यातना भोगेपछि पहिलोपल्ट जनमानस आफ्नो पक्षमा देखेकाले रोएकी हुन् ।’ 

कुटपिटको क्रममा बायाँ कानमा समेत गम्भीर चोट लागेकाले अहिले पनि पानी चुहिरहेको र राम्ररी नसुन्ने उनले बताए । ‘ठोस खानेकुराको रूपमा खिचडी, जाउलो खुवाउन थालेका छौँ,’ उनले भने, ‘राम्ररी हिँडडुल गर्नसमेत नसक्ने भएकाले अहिले पनि घरमा एकजना उनका लागि खटिनुपर्ने अवस्था छ ।’   

धरौटीमा छुटे आरोपी

बोक्सी आरोपमा निर्घात कुटपिटसँगै मलमूत्र खुवाएपछि विक्षिप्त बनेकी मूर्तिदेवी राम्ररी तङ्ग्रिन नपाउँदै पक्राउ परेका आरोपी गत १७ कात्तिकमा छुटेपछि उनी निराश बनेकी छिन् । 

नवराजपुर गाउँपालिका– ५ कुर्सण्डी गाउँका धर्मनाथ यादवका छोरा करिब २५ वर्षीय सन्तोष यादव पक्राउ परेको २७औँ दिन जिल्ला अदालतको आदेशमा दुई लाख रुपैयाँ धरौटीमा छुटेपछि निराश बनेकी हुन् ।

सिराहा जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको इजलासले बोक्सीको आरोप लगाई कुटपिट गरेको मुद्दा नं. ३२–०७७–०१०७३ को सोमबार भएको थुनछेक बहसपछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी दुई लाख रुपैयाँ नगद धरौटी, जमानत वा बैंक जमानत लिई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । 

आरोपी यादवलाई फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (१) र ७२ बमोजिम नगद धरौटी, जमानत वा बैंक जमानत लिई मुद्दाको पुर्पक्ष गर्ने आदेश गरिदिएको आदेश पर्चामा उल्लेख छ । 

जिल्ला सरकारी वकिल कार्यालय सिरहाले बोक्सीको आरोपमा कुटपिटसहित मलमूत्र खुवाउनेहरूविरुद्ध पाँचदेखि आठ वर्ष कैद र पीडित मूर्तिदेवीको अंगभंग भएकाले १० प्रतिशत थप सजाय माग दाबी गरिएको जनाएको छ । 

घटनाका मुख्य आरोपी धरौटीमा छुटेपछि मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को दफा ७३ बमोजिम उच्च अदालत जनकपुरको राजविराज इजलासमा पुनरावेदन दिइएको कार्यालयले जनाएको छ । 

अन्य सात आरोपी फरार 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पौडेलले कथित बोक्सीको आरोपमा पञ्चायतीको आवरणमा महिलालाई निर्घात कुटपिट गरी मलमूत्र खुवाएर फरार रहेका अन्यको पनि खोजी भइरहेको बताए । पीडित ४५ वर्षीया मूर्तिदेवी यादवले आफूलाई निर्घात कुटेर मलमूत्रसमेत खुवाएको आरोपसहित स्थानीय धर्मनाथ यादव, सन्तोष यादव, कृष्ण यादव, ब्रह्म यादव, बैजनाथ यादव, देवनाथ यादव, महेश यादव, पशुपति यादव गरी आठजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । 

धर्मनाथ यादवकी छोरी बिरामी भएको भन्दै बोक्सी बकाउन सीमावर्ती भारतीय तोरियाही गाउँबाट झिकाइएका झाँक्री करिब ५५ वर्षीय अर्जुन ठाकुरको सीमावर्ती नेपाली गाउँमा खोजी गरिएको भए पनि फेला नपरेको प्रहरीले जनाएको छ। 

घटनाको भोलिपल्टदेखि गाउँबाट हराएकी धर्मनाथकी बिरामी भनिएकी छोरी करिब हप्ता दिनअघि गाउँ फर्किएको स्थानीयले बताएका छन् ।