१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ११ बिहीबार ०६:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बर्दिबासमा दोस्रो दिन पनि दिनभर प्रदर्शन, निषेधाज्ञापछि पनि थामिएन आन्दोलन

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ११ बिहीबार ०६:०२:००

६ वर्षीया अबोध बालिका गुलाब साह खातुनको हत्या विरोधमा बुधबार पनि बर्दिबासमा दिनभर प्रदर्शन भएको छ । जिल्ला सुरक्षा समितिले बुधबार बिहानदेखि निषेधाज्ञा लगाए पनि दिनभर प्रदर्शन भएको हो । 

सुरक्षा समितिले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाएको थियो । तर, प्रदर्शनकारीले बर्दिबास नगरक्षेत्रमा दिनभर जुलुस निकाले । उनीहरूले बर्दिबासका नगरप्रमुख, इलाका प्रहरी कार्यालय बर्दिबासका इन्चार्ज डिएसपी राजन चापागाईंको पुतला जलाए । 

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको छ । स्थिति सामान्य बनाउन दिनभर नै प्रशासन र पीडित पक्षबीच वार्ता भएको थियो, तर छलफल टुंगोमा पुग्न सकेको छैन । बर्दिबास–१४ सुगमबस्ती बस्ने सादिम आलमकी ६ वर्षीया छोरी गुलाबको हत्याको विरोधमा प्रदर्शन भइरहेको हो । आइतबारदेखि बेपत्ता भएकी उनको शव सोमबार मध्यराति घरनजिकै झाडीमा बोरामा कोचिएको अवस्थामा भेटिएको थियो । 

एक प्रदर्शनकारीको ज्यान गयो

  • आइतबार प्रहरीको गोली लागेका बर्दिबास–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको काठमाडौंमा उपचारका क्रममा मंगलबार राति निधन

प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको ज्यान गएको छ । आइतबार प्रहरीको गोली लागेका बर्दिबास–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको काठमाडौंमा उपचारका क्रममा मंगलबार राति २ बजे मृत्यु भएको हो । उनलाई तिघ्रामा गोली लागेको थियो । मंगलबार बिहानदेखि दिनभर ढुंगामुढा, अश्रुग्यास, लाठीचार्ज र गोली प्रहारले बर्दिबास तनावग्रस्त थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीकै गोली लागेर घाइते भएका बर्दिबास–५ का श्याम कार्कीको भने काठमाडौंमा उपचार भइरहेको छ । 

गोली लागेका प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शन थप भड्किन सक्ने अनुमानसहित स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । बुधबार बिहान प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो । दिनभर सुरक्षाकर्मीले संयमता अपनाएका थिए । तर, साँझ राजमार्ग खुलाउन बल प्रयोग गर्दा पुनः झडप भएको स्थानीयको भनाइ छ । त्यसक्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास हानेको थियो । बल प्रयोग गरेरै प्रहरीले राजमार्ग भने खुलाएको छ ।

ठाउँ–ठाउँमा श्रद्धाञ्जली सभा

बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै महोत्तरीका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा भएका छन् । त्यसक्रममा सहभागीले हत्यारालाई कडा कारबाही, बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्थाको माग गरेका छन् । जलेश्वरमा युवाहरूले मुखमा कालोपट्टी बाँधेर सभामा सहभागिता जनाए । उनीहरूले प्रहरीको गोलीबाट मृत्यु भएका सञ्जय न्यौपानेलाई सहिद घोषणा गर्न पनि माग गरे । भंगहा नगरपालिकामा युवाहरूले मैनबत्ती बालेर गुलाब खातुन र न्यौपानेको आत्माको चिरशान्तिको कामना गरे । 

त्यस्तै, लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत ओरेक नेपाल, महिला सचेतना समूह र जलेश्वर नगरपालिकाले र्‍याली निकाल्यो । र्‍यालीका सहभागीले महिलाविरुद्ध हुने सबै प्रकारका अपराध र हिंसा बन्द गर्न माग गरे । 

वार्ता टोली–प्रशासन सहमति
सर्वदलीय बैठकले गठन गरेको वार्ता समितिले महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल तथा सुरक्षा निकाय प्रमुखहरूसमेतको उपस्थितिमा विभिन्न सहमति गरेको छ । वार्ता टोलीले सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीको गोलीबाट मृत्यु भएकोमा घटनाको सत्यतथ्य तथा निष्पक्ष छानबिन गर्न छानबिन समिति गठन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने सहमति गरेको छ । 

त्यस्तै, प्रहरीकै गोली लागेर घाइते भएकाहरूको उपचार तथा क्षतिपूर्तिका लागि समेत नेपाल सरकारलाई अनुरोध गर्ने र बालिकाको हत्यामा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही र क्षतिपूर्तिका लागि सरकारसँग अनुरोध गर्ने सहमति भएको छ । यता, प्रदर्शनकै क्रममा मृत्यु भएका न्यौपानेलाई सहिद घोषणा तथा क्षतिपूर्तिका लागि समेत सरकारलाई आग्रह गर्ने सहमति भएको छ ।