मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ मङ्सिर ११ बिहीबार ०६:५०:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गीतको सिक्वेलको व्यापार

पहिलो गीतले राम्रो चर्चा पाएपछि त्यही गीतलाई ब्रान्ड बनाएर सिक्वेल ल्याउने होडबाजी

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ मङ्सिर ११ बिहीबार ०६:५०:००

सिर्जना आफैँमा पूर्ण हुन्न । सिर्जना पूर्ण नभए पनि त्यसको प्रतिस्थापन हुँदैन भन्ने गरिन्छ । तर, नेपाली गीतसंगीतको चर्चा गर्दा एउटा गीत चलेपछि त्यसैलाई आधार बनाएर, त्यसलाई ब्रान्ड बनाएर नयाँनयाँ गीत निकाल्ने गरेको पाइन्छ । गायक राजेशपायल राईले एल्बम ‘दर्शन नमस्ते’मा समावेश ‘दर्शन नमस्ते’ बोलकै गीत चलेपछि यसैलाई ब्रान्ड बनाए । उनले दर्शन नमस्ते १, २, ३, ४ एल्बम ल्याइसके ।

गीत पनि त्यसरी नै ल्याए । तर, उनका चारैवटा गीतमा ‘दर्शन’ भन्ने शब्दबाहेक अरू केही मिलेको देखिँदैन । न गीतको कथाले सिक्वेल मागेको छ, न गीतको शब्दले, न त संगीतले नै । ‘दर्शन’ भन्ने शब्दले मात्र गीतलाई जोडेको छ र ‘दर्शन नमस्ते ४’ सम्म आइसकेको छ । 

गीतको सिक्वेल निकाल्ने गायक राई मात्र एक्ला भने होइनन्, नयाँ पुस्तामा यो संक्रमणको लहरै देखिन्छ । एउटा गीत चल्छ, त्यसपछि त्यसैको ब्याज खाने उद्देश्यले अरू गीत ल्याउने गरेका छन् । कतिपय कलाकारको त त्यही ब्रान्ड अथवा वस्तु बनाइएको गीतबाहेक अरू गीत चलेका पनि हुँदैनन् । तर, गीतलाई ब्रान्ड बनाएर सिक्वेल किन ल्याइन्छ भन्ने विषयमा सबैका आ–आफ्नै तर्क छ ।

गायक प्रकाश सपुत भन्छन्, ‘अरूको विषयमा मलाई थाहा भएन । तर, मेरो सवालमा भने गीतको कथाले मागेको हुन्छ । र, त्यो कथालाई पूर्णता दिन सिक्वेलमा काम गर्ने गरेको छु ।’ सपुतको ‘बोल माया’ बोलको गीत दुई वर्षअघि सार्वजनिक भयो । १९ मिनेटभन्दा लामो गीतमा सपुत, शान्तिश्री परियार, नारायण रायमाझीले स्वर दिएका छन् भने शब्द र संगीत सपुत स्वयंकै हो । अहिलेसम्म युट्युबमा एक करोड ७५ लाख ज्यादाले हेरेको यो गीतपछि सपुतले अर्को गीत ल्याए ‘गलबन्दी’ । 

‘गलबन्दी’ त्यही अघिल्लो गीत ‘बोल माया’को प्रिक्वेल हो भनियो । अघिल्लो गीतमा कथा अधुरै छाडेकाले त्यो कथालाई अगाडि बढाउन सिक्वेलमा काम गरेको बताउँछन् सपुत । अब यही गीतको अर्को सिक्वेल पनि ल्याउने तयारीमा छन् उनी । आफूले कथालाई अन्तिममा बाँकी राखेकाले पनि त्यो आवश्यक रहेको उनको तर्क छ । ‘हरेक गीतको आ–आफ्नै अस्तित्व हुन्छन् ।

बोल माया र गलबन्दी कथा मिले पनि गीत नितान्त फरक हो । एउटै गीतले सबै कथा भनिनसक्ने भएकाले कथालाई मात्र लिंकअप गरेको हुँ,’ सपुत भन्छन्, ‘तर, ब्रान्डकै लागि नाम मात्रको सिक्वेल ल्याउने हो भने दर्शकलाई मोनोटोनस हुन्छ । त्यस्तो सिक्वेलले खास अर्थ पनि दिँदैन । कालान्तरमा गएर त्यस्ता ब्रान्ड आफैँ समस्यामा पनि पर्न सक्छन् कि लाग्छ ।’

सिनेमाको सिक्वेल बनाउने अभ्यास संसारभर छ । कथाकै कारण सिक्वेल ल्याउने गरिएको छ । कतिपय सिक्वेल सिनेमालाई रुचाइएको पनि छ । बलिउडमै पनि एसएस राजामौलीको ‘बाहुबली’को सिक्वेल आएको थियो । सिनेमा सफल पनि भयो ।

राजेश रोशनले ‘कृष’को, आदित्य चोपडाले ‘धूम’, रोहित सेट्ठीले ‘गोलमाल’, ‘सिंघम’, फरहान अख्तरले ‘डन’को सिक्वेल बनाइरहेका छन् । नेपालमा पनि त्यसको अभ्यास गरिएका उदाहरण धेरै छन् । अहिले ‘ए मेरो हजुर ४’को सुटिङ भइरहेको छ । यो सिनेमाको तेस्रो भागमै मुख्य अभिनेत्री सुहाना थापाको निधन भएको देखाइको छ । तर, सुहाना चौथो सिक्वेलमा पनि मुख्य अभिनेत्री भएर खेलिरहेकी छिन् । दीपकराज गिरीको ‘छक्का पञ्जा ३’ सम्म आइसक्यो । चौथोको तयारी भइरहेको छ ।

विकास आचार्यको ‘नाइँ नभन्नू ल ५’ समेत प्रदर्शन भइसक्यो । जसमा कुनै पनि भाग एक अर्कासँग जोडिएका छैनन् । मात्र नामको ब्रान्ड बेचिएका छन् । सिनेमाकै रोग अहिले नेपाली गीतसंगीतमा सरेको छ । कुनै सम्बन्ध या कथा नजोडिएका गीतहरूलाई चलेको गीतको दोस्रो या तेस्रो भाग भनेर सार्वजनिक गर्ने गरिएको छ । जसले दर्शक, श्रोताको आँखामा छारो हालेको देखिन्छ ।

दुई साताअघि दुर्गेश थापाले ‘ह्याप्पी तिहार २’ सार्वजनिक गरे । गत वर्ष आएको उनको ‘ह्याप्पी तिहार’मा ‘गाँजा खानुपर्छ, तान्नुपर्छ’जस्ता शब्द कानुनविपरीत भएको भन्दै प्रहरी प्रशासनमा उजुरी परेको थियो । पछि उनी पक्राउ पनि परे । गीत युट्युबबाट हटाउन बाध्य भए । र, त्यही विवादले चर्चामा आएको गीतलाई ब्रान्ड बनाएर उनले यसपटक दोस्रो भाग ल्याए । 

टंक बुढाथोकीको गीत ‘तोरी तेल २’ ‘कसरी कसरी ३’, स्मिता दाहालको ‘मायालु तिमी २’, एकदेव लिम्बूको ‘शिरफूल २’ दुर्गा खरेलको ‘काले केटा २’, अल्मोडा राना उप्रेतीको ‘कैले भेट्ने खै २’ लगायत दर्जनौँ गीतहरूको दोस्रो, तेस्रो भाग निस्केका छन् । अन्य निस्कने चरणमा छन् । 

गीतकै सिक्वेल अथवा एउटै गीतको २, ३ भनेर ल्याउने कलाकारमध्ये अग्रपंक्तिमा पर्छन् गायक सुनील गिरी । उनको ‘को होला त्यो ३’, ‘देउराली २’ आइसकेको छ । अहिले ‘सोल्टिनी भनी बोला’को’ बोलको गीतको सिक्वेलमा काम गरिरहेका छन् । उनका अनुसार गीतको सबै काम सकिएर भिडियो पनि खिचिसकिएको छ । अहिले सम्पादनको काम भइरहेको छ । तर, गीतको सिक्वेल भनेर ल्याउँदा ब्रान्ड बेचेजस्तो लाग्दैन ? गिरी भन्छन्, ‘एक हिसाबले त त्यो पनि हो, तर दर्शकश्रोताको दबाब र अनुरोधका कारण बाध्य भइँदो रहेछ ।’

केही समयअघि मोडल तथा गीतकार दर्पण राईले ‘तिमीले बाटो फेर्‍यौ अरे ३’ गीत चाँडै आउने घोषणा गरेका थिए । यसअघि राईको यही बोलको तिमीले बाटो फेर्‍यौ अरे १ र २ आइसकेका छन् । पहिलो गीतले राम्रो चर्चा पाएपछि त्यही गीतलाई ब्रान्ड बनाएर राई अघि बढेको देखिन्छ ।

तर, ब्रान्ड बनाएर बेच्न खोजेको कुरा भने नकार्छन् उनी । ‘मैले ब्रान्ड बनाएर बेचीखाउँ भन्ने अभिप्रायले सिक्वेलमा काम गरेको होइन । कथा नै त्यस्तै छ, जसले सिक्वेल माग्छ,’ राई भन्छन्, ‘गीतको कथाअनुसार अब यो अन्तिम सिक्वेल हो । मेरो गीत तेस्रो सिक्वेलमा आएर टुंगिन्छ । यसपछि यो गीतमा सिक्वेल आउँदैन ।’

तर, जस्तो गीतको सिक्वेल ल्याए पनि दर्शक श्रोताको भावनामाथि खेलेझैँ देखिने अनुभूति छ संगीतकार पारस मुकारुङको । उनका अनुसार एउटा गीत बनिसकेपछि पूरा भए पनि अधुरा भए पनि त्यो आफैँमा पूर्ण हुने उनको दाबी छ । भन्छन्, ‘गीत भन्ने कुरा गायक या त संगीतकार या गीतकार मात्र एक्लोको सिर्जना होइन । यसमा दर्जनौँ मान्छे समावेश भएका हुन्छन् । त्यो हिसाबले सिक्वेल या जे भने पनि दोस्रो, तेस्रो लिएर आउनु गलतै हो ।’