मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सागर चन्द काठमाडाैं
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ मङ्सिर ११ बिहीबार ०६:२२:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कानुन आयो, तर एसिडपीडितले अझै पाएनन् नि:शुल्क उपचार

Read Time : > 6 मिनेट
सागर चन्द, काठमाडाैं
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ मङ्सिर ११ बिहीबार ०६:२२:००

यो रिपोर्ट भिडियोमा हेर्नूस्

१२ असोजमा सरकारले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’ जारी गर्‍यो । अध्यादेशमा एसिड बिक्री, वितरणको नियमन तथा एसिडपीडितलाई निःशुल्क उपचार र क्षतिपूर्तिको व्यवस्था छ । तर, त्यसको दुई महिना बितिसक्दा पनि एसिडपीडितले निःशुल्क उपचार पाएका छैनन् । घरखेत धितो राखेर उपचार खर्च निकाल्ने बाध्यतामै छन्, उनीहरू ।

                                                                                    ......

खोटो संकलनमा खटिँदा एसिड दुर्घटनामा परेका दिलबहादुरको उपचारमा कम्पनीको बेवास्ता

  • खोटो संकलन गर्दा एसिड दुर्घटनामा परेका रोल्पा सुनील स्मृति गाउँपालिका–१ का दिलबहादुर पुन त्रिवि शिक्षण अस्पतालमा । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

जलेका व्यक्तिको उपचार हुने शिक्षण अस्पतालको बर्न वार्डमा बायाँतर्फ शरीर टेकाएर पल्टिएका छन्, दिलबहादुर पुन । पाँचजनाको परिवार पाल्ने जिम्मेवारी भएका उनी २३ कात्तिकमा एसिड दुर्घटनामा परेका थिए । सातादिनअघि मात्र उनी उपचारका लागि काठमाडौं आइपुगे । एसिडले उनको दायाँ शरीर पूरै जलेको छ ।

रोल्पाको सुनील स्मृति गाउँपालिका–१ का उनी २८ वैशाखमा खोटो संकलन गर्न बझाङ पुगे । एक क्विन्टल खोटो जम्मा गर्दा १९ सय रुपैयाँ ज्याला पाउने ठेकदारको सर्त थियो । तीन वर्षयता उनी यही काम गर्थे । वैशाखदेखि कात्तिक, मंसिरसम्म काम हुन्थ्यो । जाडोयाममा रोकिन्थ्यो र गर्मी लागेपछि फेरि सुरु हुन्थ्यो ।

रोजगारीका लागि दिलबहादुरले घर छाड्नुपरेको यो पहिलोपटक थिएन । त्यसअघि भारत र कतारसम्म पुगे, रोजगारीका लागि । तीन वर्ष कतारमा रोजगारी गरे । ‘कम्पनी राम्रो नपरेपछि कमाइ भएन,’ आफूलाई विदेश नफापेको ठान्दै उनी भन्छन्, ‘गरिब दुःखीले घर बसेर पुग्दैन, साँझ बिहान खानैपर्छ ।’ विदेशबाट फर्के पनि हातमुख जोर्ने समस्या भने उस्तै थियो । त्यही जोहो गर्न उनी स्वदेशमै रोजगारी खोज्न थाले । स्थानीय ठेकदारमार्फत खोटो संकलनको काम पाए । ‘थोरै पैसा भए पनि आफ्नै देशमा काम पाइन्छ भनेर यसमा लागेँ,’ उनी भन्छन् ।

त्यही कामबाट जसोतसो उनको परिवार चल्दै थियो । यस वर्षको खोटो संकलनको समय सकिँदै थियो, तिहार मनाउन घर फर्किने तयारीमा थिए उनी । अघिल्लो दिनभर खोटो जम्मा गरिएका ड्रम बोकेर थकित भई निदाएका थिए । २३ कात्तिक बिहान ४ बजेतिर शौचालय जान सुतिरहेको क्याम्पबाट बाहिर निस्के । शौचालय नपुग्दै चिप्लिएर लडे, ठोक्किएर एसिडको भाँडो पोखियो । र, उनको शरीरको पछिल्लो भाग एसिडले जल्यो ।

२३ कात्तिकमा एसिडबाट जले पनि उनी २५ कात्तिकमा मात्र घर फर्किन एम्बुलेन्स चढे । बझाङबाट रोल्पा पुग्नै उनलाई तीन दिन लाग्यो । ‘२३ गते घटना भयो । २५ गते गाडी चढेँ, २७ गते घर पुगेँ,’ उनी भन्छन्, ‘त्यतिन्जेल त्यहीँको मेडिकलले दिएको मल्हम र दुःखाइ कम गर्ने औषधि खाएँ ।’

उनी गाउँ पुग्दा तिहारको रौनक थियो । ‘गरिब, दुःखीको भए पनि वर्षदिनको तिहार हो, छोराछोरी रमाउन् भनेर म पनि दुखाइ सहेरै बसेँ,’ उनी भन्छन् । तर, एसिडको जलन धेरै दिन कहाँ सहन सकिन्छ र ? जलनको पीडा असह्य हुन थालेपछि उनले आफूलाई बझाङ लैजाने ठेकदार वेद विष्टसँग सम्पर्क गरे । ठेकदार सम्पर्कमा त आए, तर उपचार गराउन सक्दिनँ भन्दै पन्छिए । उनी भन्छन्, ‘ठेकदारले त्यतै मेडिकलमा उपचार गराऊ भन्यो । उसैले त्यस्तो भनेपछि अरू त केही भन्ने कुरा भएन ।’

त्यसपछि दिलबहादुरले ५० हजार रुपैयाँ ऋण काढे । त्यसमध्ये २० हजार पाँच सय रुपैयाँ उनलाई रोल्पाबाट काठमाडौं ल्याइदिने एम्बुलेन्सलाई नै तिर्नुप¥यो । ‘कम्पनीका ठूला मान्छेसँग हाम्रो सम्पर्क थिएन । ठेकदारले उपचार गर्दिनँ भनेपछि दाजुभाइ, गाउँलेसँग ५० हजार ऋण गरेर काठमाडौं आएँ ।’

माइलो छोरा र भदासहित उपचारका लागि काठमाडौं आएका उनलाई यहाँ उपचारभन्दा बढ्ता आर्थिक संकटले सताएको छ । ‘खान, बस्न साह्रै महँगो भएपछि जेठो छोरालाई हिजो गाउँ पठाएँ,’ उनी भन्छन् । ऋण काढेर ल्याएको पैसा सकिइसकेको छ । चिकित्सकले प्राथमिक चरणमा तीनवटा अप्रेसन गर्नुपर्छ भनेका छन् । ‘तीनटा अप्रेसन गर्नुपर्छ भन्या छन् । पैसा छैन कसरी गर्ने हो ?’ दिलबहादुर प्रश्न गर्छन् ।

सरकारले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’ जारी गरेको छ । अध्यादेशमा औद्योगिक प्रयोजनका लागि पनि एसिड बिक्री, वितरणको अनुमति लिनुपर्ने व्यवस्था छ । अध्यादेशअनुसार एसिडले मानव शरीरमा कुनै पनि प्रकारको क्षति पुगेमा जसका कारणले क्षति पुगेको हो, उसैले क्षतिपूर्ति र उपचार खर्च बेहोर्नुपर्छ ।

तर, औद्योगिक क्षेत्रमा प्रयोग हुने एसिडको बिक्री, वितरणबारे नियमन नहुँदा दिलबहादुरजस्ता व्यक्ति पीडित बन्नुपरेको एसिड आक्रमणविरुद्धका अभियन्ता उज्ज्वलविक्रम थापा बताउँछन् । भन्छन्, ‘औद्योगिक क्षेत्रमा प्रयोग हुने एसिडको कडाइ साथ नियमन गरिनुपर्छ । एसिड भण्डारण र कामदारको सुरक्षामा ध्यान दिइएन भने दिलबहादुरजस्ता धेरै व्यक्ति पीडित बन्छन् ।’

सम्पर्कमै आएनन् काम दिने कम्पनीका अधिकारी
दिलबहादुले खोटो संकलनको काम गर्ने दिव्या रोजिन एन्ड टर्पेन्टाइन प्रालिले भने अझैसम्म दिलबहादुरलाई सम्पर्क गरेको छैन । दिलबहादुरलाई आफूले काम गर्ने कम्पनीको कार्यालय कैलाली अत्तरियामा छ भन्ने मात्र जानकारी छ । कम्पनीका अधिकारीसँग उनको सम्पर्क छैन । ठेकदारले उपचार गराउँदिनँ भन्दै पन्छिएपछि दिलबहादुरले कम्पनीका अधिकारीसँग सम्पर्क गर्ने प्रयास पनि नगरेका होइनन् । तर, कोही सम्पर्कमा आएनन् । ४ मंसिरमा उपचार र क्षतिपूर्ति भराइपाऊँ भन्दै प्रहरीमा उजुरी दिँदा पनि कम्पनीका अधिकारी सम्पर्कमा आएका छैनन् ।

दिव्या रोजिन एन्ड टर्पेन्टाइन प्रालिका व्यवस्थापक खड्ग बम भने दिलबहादुर एसिड दुर्घटनामा परेको आफूलाई जानकारी नै नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘दुर्घटनामा परेको हामीलाई जानकारी नै छैन । जानकारी भएपछि त हामी उपचार गराउँछौँ ।’ ठेकदारले समयमै जानकारी नगराएको उनको दाबी छ । ‘ठेकदारले समयमै जानकारी गराएन । मैले आज मात्र जानकारी पाएको छु, अब उपचारको जिम्मा लिन्छौँ,’ उनी भन्छन् ।

दिलबहादुर भने कम्पनी र ठेकदार मिलेर आफ्नो उपचार नगराउने प्रपञ्च गरेको ठान्छन् । ‘ठेकेदारलाई सबै थाहा छ । म दुर्घटना परेपछि पनि उसले अत्तरिया गएर आफ्नो सबै हिसाब लिएर आइसक्यो । उनीहरूलाई सबै थाहा छ । ठूला मान्छेले हामीलाई के हेर्थे र ?’ उनी विरक्त मान्दै भन्छन् । धेरै साता वनपाखा, जंगल चहार्दै सल्लाका रुख कोपरेपछि खोटो जम्मा हुन्छ । एक क्विन्टल खोटो जम्मा गर्न एक सातासम्म लाग्छ । ‘त्यसबापत पाएको १९ सय रुपैयाँको आधाभन्दा बढी पैसा त खान, बस्नै खर्च हुन्छ,’ दिलबहादुर भन्छन्, ‘त्यत्रो दुःख गरेर कमाएको पैसाले एम्बुलेन्सको भाडा तिर्न पनि पुगेन ।’

एसिड आक्रमणपछि उपचारमा आठ लाखभन्दा बढी खर्च, घरजग्गा धितो राखी बैंकबाट लिएको ऋण तिर्न नसक्दा थप उपचार भएन

  • दुई वर्षअघि एसिड आक्रमणमा परेकी पूर्वी नवलपरासी कावासोती–१६ की वसन्ती परियार ।

पूर्वी नवलपरासी कावासोतीकी वसन्ती परियारलाई घरबाट बाहिर निस्कन मन नलागेको दुई वर्ष बित्यो । छरछिमेकका कोही नबोल्ने र शरीरमा एसिडले बनाएको घाउका कारण उनी घरबाहिर निस्किन्नन् । एउटा आँखामा एसिड परेकाले धुलोधुवाँ, घाममा हिँड्न असहज हुन्छ उनलाई । भन्छिन्, ‘पहिले सँगै हिँड्डुल गर्ने साथीहरू पनि भेट्न आउँदैनन् । मसँग बोल्दा, भेट्दा इज्जत नै जान्छ जस्तो गर्छन् ।’ एसिडले उनको अनुहार मात्र होइन, टाउको र हातमा पनि नमेटिने दाग लागेको छ । उनी भन्छिन्, ‘कहाँ त्यो रूप, कहाँ आजको यो रूप । सम्झन पनि मन लाग्दैन ।’

पूर्वी नवलपरासी कावासोती–१६ डण्डा हरबासीकी ३१ वर्षीया उनीमाथि छिमेकी विमल श्रीपालीले ८ असोज ०७५ मा एसिड आक्रमण गरेका थिए । घटनापछि उपचार गरेर घर आए पनि अहिलेसम्म उनी बाहिर निस्कन सकेकी छैनन् । भन्छिन्, ‘ममाथि एसिड आक्रमण भएको दुई वर्ष बितिसक्यो, न शरीरमा लागेको घाउ निको भएको छ, न मनको घाउ ।’ एसिड आक्रमणका कारण उनको एउटा आँखा नै बिग्रिएको छ । एउटा आँखा राति निदाउँदा पनि खुलै रहन्छ, त्यही आँखा बिहान उठ्दा साह्रै दुख्छ र पोल्छ । भन्छिन्, ‘बिहान उठेर आधा घन्टा लगाई सफा नगरेसम्म निक्कै गाह्रो हुन्छ । बिहान किन भएको होलाजस्तो लाग्छ ।’

घरजग्गा धितो राखेर उपचार, कर्जा तिर्न नसक्दा थप उपचार भएन
उनको उपचारमा अहिलेसम्म आठ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । परिवारले बैंकमा घरजग्गा धितो राखेर कर्जा निकाली वसन्तीको उपचार गरे । कर्जा तिर्न नसक्दा थप उपचार गर्न पाएकी छैनन्, उनले । अनुहारमा परेको खाल्डा पुर्न, एउटा आँखाको नानी फेर्न र नाक, हातमा प्लास्टिक सर्जरी गर्न बाँकी छ । एसिडका कारण उम्रन छाडेको उनको कपाल तान्न पनि बाँकी छ । अझै उपचार खर्च कति लाग्छ भन्ने उनलाई जानकारी छैन । भन्छिन्, ‘कपाललाई मात्रै डेढ लाख लाग्छ रे । आँखाको नानी फेर्न, हात, मुख र नाकको सर्जरी गर्दा कति लाग्छ थाहा छैन ।’

एसिड परेको ठाउँमा दिउँसो घामले डढ्न र पोल्नबाट जोगाउन क्रिम दल्नुपर्छ, उनले । वसन्ती भन्छिन्, ‘सरकारले हामीजस्ता एसिडपीडितलाई सबै उपचार निःशुल्क गरिदिए हुने थियो ।’ सरकारले १२ असोजमा अध्यादेशमार्फत एसिडपीडितको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने कानुन ल्याएको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार कानुनी प्रक्रिया पूरा गरेर एसिडपीडितले उपचारमा गरेको खर्चसमेत सरकारले फिर्ता गर्ने तयारी छ । वसन्तीलाई भैरहवास्थित नेपाल आयल निगममा रोजगारी दिलाउने प्रयास भइरहेको एसिड आक्रमणविरुद्ध अभियन्ता उज्ज्वलविक्रम थापा बताउँछन् ।

एसिड आक्रमणपछि वसन्तीले पहिलेको सुन्दर रूप गुमाएकी छिन् । उनको मन शान्त पार्न आफन्त र स्वास्थ्यकर्मीले सबै ठीक हुन्छ भन्दै ढाडस दिन्छन् । तर, उनलाई आफू पहिलेजस्तै हुने विश्वास छैन । भन्छिन्, ‘पुरानो दिन सम्झिएर अर्थै छैन । छोराछोरीका लागि बाँचेकी छु । उनीहरूले आमा छैन भन्ने नपरोस् भनेर मन सम्हालेर बसेकी छु । रूप हेर्दा त दुःख लाग्छ, तर बच्चाहरू हेरेर मन बुझाउँछु ।’

आफूमाथि एसिड आक्रमण गर्ने विमल श्रीपालीले पाएको सजायप्रति उनको असन्तुष्टि छ । ‘मेरो रूप बिग्रियो, समाजले हेर्ने दृष्टिकोण बदलियो, तर दोषी जेलमा सरकारी दालभात खाएर बसेको छ । एसिड आक्रमण गर्नेलाई पनि एसिड हालेर अनुहार बिगारिदिने कानुन बने बल्ल यस्तो घटना कम हुने थिए,’ उनी भन्छिन् ।

श्रीपाली अझै पनि जेलबाट छुटेर आक्रमण गर्न आउने त्रास वसन्तीमा
देखिन्छ । भन्छिन्, ‘त्यसले अझै पनि जेलमा राम्रो गरेझैँ गरेर सजाय कम गरी बाहिर निस्केपछि मार्छु भन्ने गरेको सुनेकी छु ।’ श्रीपाली र वसन्तीको घर नजिकै भएका कारण पनि आफूलाई बाहिर निस्कन असहज महसुस भएको उनी बताउँछिन् ।

यसरी भएको थियो आक्रमण 
श्रीमान्, एक छोरा, एक छोरीका साथमा हाँसीखुसी जीवन बिताइरहेकी थिइन्, वसन्तीले । घरवरिपरिको वातावरण भने ठीक लागिरहेको थिएन । त्यसैले उनले श्रीमान्लाई विदेशबाट बोलाइन् । श्रीमान्सँगै छोराछोरी लिएर भारत जाने र उतै दुःखजिलो गरेर बाँच्ने सोच बनाइएकी थिइन् । ८ असोज ०७५ सोमबार । गाउँनजिकै डण्डा बजारमा हाट लाग्थ्यो । त्यही हाटमा बहिनीसँगै तरकारी किनमेल गरेर वसन्ती घर फर्कँदै थिइन् । उनको रूपसँग जलेर बसेका विमल मौकाको पर्खाइमा थिए । साँझ साढे ६ बजे विमलले एक्कासि पछाडिबाट एसिड आक्रमण गरे । मुखभरि हुने गरी एसिड फालिदिए ।

आफूलाई के भयो भन्ने वसन्तीलाई पत्तै भएन । उनको शरीर यसरी झमझमायो कि आफ्नो शरीर आफ्नै हो कि होइन भनेर ठम्याउनै गाह्रो भयो । विमलले एसिड हानेर मात्र चित्त बुझाएनन् । ज्यान लिने उद्देश्यले सांघातिक आक्रमण पनि गरे । उनले वसन्तीको पेटमा पटक–पटक छुरा प्रहार गरेर गम्भीर घाइते बनाए । संयोगवस, साथमा रहेकी बहिनी र घटनालगत्तै घटनास्थल आइपुगेका छोराका साथीले तत्काल उद्धार गरेर अस्पताल पु¥याए । वेलैमा उपचार पाएर वसन्तीको ज्यान त बच्यो, तर उनको मनमा लागेको घाउ अझै आलै छ । वसन्तीका अनुसार त्यस दिन उनलाई बचाउन न कोही आए, न त उनलाई सजाय दिलाउन घटनाका प्रत्यक्षदर्शीहरू साक्षी बस्न माने ।

उनलाई अझै पनि घरपरिवार र छोराछोरीका लागि केही गर्न मन छ । भन्छिन्, ‘सरकारले हामीजस्तालाई सीप र क्षमताअनुसारको काम दिने भनेको थियो । मैले धेरै पढेकी छैन, तर पनि सरकारले पियनको काम दिए गर्न तयार थिएँ । छोराछोरीलाई सरकारले पढाइदिए हुन्थ्यो, निःशुल्क उपचार गरिदिए हुन्थ्यो ।’