मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर ११ बिहीबार ०१:५२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्ताए फुटबलका ‘भगवान्’

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर ११ बिहीबार ०१:५२:००

विश्व फुटबलका ‘भगवान्’ अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा खेलाडी डिएगो म्याराडोना अस्ताएका छन् । बुधबार राति हृदयाघातबाट उनको निधन भएको छ । ६० वर्षीय उनी लामो समयदेखि बिरामी थिए । गत महिना मात्रै उनको मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो । 

अर्जेन्टिनाका राष्ट्रपति अर्बेटो फर्नान्डेजले म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक मनाइने घोषणा गरेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो । म्याराडोनालाई विश्व फुटबलमै उत्कृष्ट मिडफिल्डर मानिन्छ । 

विश्वकपबारे कसैले चर्चा गर्दा १९८६ को विश्वकप छुटाउन सक्दैन । जसमा म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप उपाधि मात्र दिलाएनन्, हातले गोल गरेर पनि संसारलाई चकित बनाए । उनी आफैँले त्यसलाई ‘ह्यान्ड अफ गड’ भनेका छन् । 

क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध म्याराडोनाले गरेको हातेगोल अत्यधिक चर्चित र विवादास्पद बन्यो । यही विश्वकपमा उनले इंग्ल्यान्डविरुद्धकै खेलमा मैदानको मध्यभागबाट ६ जना खेलाडीलाई छक्याउँदै बल लगेर उत्कृष्ट गोल गरेका थिए, जुन विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट गोलका रूपमा मानिन्छ । सो विश्वकपमा म्याराडोनाले गोल्डेन बुट जितेका थिए । 

सन् १९९० मा इटालीमा भएको विश्वकपमा म्याराडोनाले अर्जेन्टिनालाई पुनः एकपटक फाइनलसम्म पु¥याए । ब्याक टु ब्याक विश्वकपको फाइनल पुग्दा म्याराडोना नै नायक बने । तर, फाइनलमा तत्कालीन पश्चिम जर्मनीसँग १–० ले पराजित हुँदा म्याराडोनाको दोस्रोपटक विश्व च्याम्पियन हुने सपना तुहियो । त्यसपछि चोट र कोनिकका कारण उनले पुरानो जादुमयी खेलको लय समात्न सकेनन् । १६ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्दै म्याराडोनाले ९१ खेलमा ३४ गोल गरेका छन् ।

ड्रग्सले बर्बाद बनायो करिअर

विश्व फुटबलका चर्चित हस्ती म्याराडोनाको सुन्दर करिअरको अन्त्य लागुऔषध र अल्कोहलका कारण भयो । फुटबल करिअरकै उत्कृष्ट लयमा छँदा उनले लागुऔषध सेवन सुरु गरेका थिए । 

म्याराडोना सन् १९८० देखि नै ड्रग्स तथा अल्कोहलको लतमा परेको मानिन्छ । सन् १९८४ मा उनी इटालियन क्लब नेपोलीमा आबद्ध भए । जहाँ उनी कोमोरा नामको प्रतिबन्धित औषधिसँग पनि नजिक भए । धेरैपछि म्याराडोनाले लागुऔषधका कारण करिअर नै बर्बाद भएको स्विकारेका थिए । सन् २०१४ मा उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले विपक्षीहरूलाई ठूलो मौका दिएको छु, यदि लागुऔषध तथा अल्कोहल सेवन नगरेको भए म कुन स्तरको खेलाडी हुँ भनेर कसैले पनि सोच्न सक्दैनन् । अहिले मलाई पछुतो लाग्छ ।’ 

विशेष गरी नेपोलीका सबै समर्थकलाई थाहा थियो म्याराडोना कोकिन लतमा नराम्रोसँगै फसेको । तर, क्लबले कोकिन सेवन गरेको कुनै प्रमाण भेटाउन सकेको थिएन । सन् १९९१ मा कोकिन सेवन गरेको आरोपमै नेपोलीले म्याराडोनालाई १५ महिना प्रतिबन्ध लगायो । त्यही वर्ष अर्जेन्टिनाको राजधानीमै उनी एक किलो कोकिनसहित पक्राउ परे र १४ महिना प्रहरी हिरासतमा बसे । १४ महिना जेलमा रहँदा म्याराडोना कोकिनको लतबाट बाहिरिएको विश्वास उनका शुभचिन्तकले गरेका थिए । तर, उनको लत जेल बस्दा पनि हटेन । 

सन् १९९४ मा पुनः एकपटक अर्जेन्टिनी टोलीको कप्तानी गर्दै म्याराडोनाले अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाए । पहिलो चरणमा ग्रिसविरुद्ध आकर्षक गोल गरेपछि म्याराडोनाले खुसियाली मनाए । विश्वकपमा आठ वर्षपछि गोल गर्दा उनको खुसीको सीमा थिएन । तर, त्यो धेरै समय टिकेन । आयोजकबाट गठित एन्टिडोपिङ कमिटीले म्याराडोनाको रगत परीक्षण ग¥यो । जसमा उनले कोकिन सेवन गरेको प्रमाणित भयो । तत्कालै फिफाले १५ महिना उनको सबै फुटबल गतिविधिमा प्रतिबन्ध लगायो । 

अमेरिकाको विश्वकप दौरान नै म्याराडोनाको सुन्दर फुटबल करिअर समाप्त भएको मानिन्छ । १९९० देखि १९९६ सम्म उनको ६ पटक रगत परीक्षण हुँदा तीनपटक लागुऔषध सेवन गरेको भेटियो । उनी सन् १९९५ मा बोका जुनियरमा आबद्ध भए । त्यसको दुई वर्षपछि उनले सबै किसिमको फुटबलबाट सन्न्यास लिएको घोषणा गरे । त्यतिखेर पनि बोका जुनियरमा उनी कोकिनसँगै समातिएका थिए ।

म्याराडोनाले खुला रूपमै आफू लागुऔषध दुव्र्यसनी भएको स्वीकार गरेका थिए । सन् १९९६ मा उनले सार्वजनिक रूपमा भनेका थिए, ‘ड्रग्स सेवन गरेको सुनाउँदा मलाई केही लाज छैन, म पछिसम्म पनि यस्तै भइरहनेछु ।’ 

सन् २००० मा ड्रग्स ओभर डोज हुँदा म्याराडोनालाई हर्ट एट्याक्ट भयो । त्यसको एक वर्षपछि उनको बाइपास सर्जरी गरिएको थियो । अत्यधिक लागुऔषध सेवन गरेकै कारण सन् २००४ मा पनि उनी मृत्युको मुखमा पुगेर बाँचेका थिए । 

बोका जुनियरदेखि नेपोलीसम्मको यात्रा

अर्जेन्टिनोसको जुनियर टोलीमा छानिँदा म्याराडोना १२ वर्षका मात्र थिए । १६ नम्बरको जर्सी लगाउने उनले पहिलो गोल माप्र्लाटेनसी क्लबविरुद्ध गरेका थिए । सन् १९७६ देखि १९८१ सम्म अर्जेन्टिनोसमा बिताएका उनले एक सय ६७ खेलमा एक सय १५ गोल गरेका थिए । त्यसपछि उनी बोका जुनियरमा अनुबन्धित भए । 

बोका जुनियरबाट खेलेको पहिलो खेलमै म्याराडोनाले दुई गोल गरे । उनले बोका जु्नियरलाई प्रिमियर लिग उपाधि दिलाएपछि उनको ध्यान युरोपको क्बलमा प¥यो । सन् १९८२ को जुनमा ७६ लाख डलरमा उनी स्पेनिस क्लब बार्सिलोनासँग आबद्ध भए । त्यसवेला यो रकमले रेकर्ड बनाएको थियो । आबद्ध भएको दोस्रो वर्षमै उनले कोपा डेल रे तथा स्पेनिस सुपर कपको उपाधि जिते । सन् १९८३ को जुन ३० को एल क्लासिकोमा म्याराडोनाले रियल म्याड्रिडविरुद्ध गोल गरे ।

बार्सिलोनामा रहँदा नै उनी लागुऔषधका कारण बिरामी परे । कोकिनको कुलतमा परेका म्यारोडोना र बार्सिलोनाका निर्देशकबीच विवाद नै भयो । त्यसैको झोकमा १९८४ मा उनी इटालियन सिरी ए क्लब नोपोलीमा आबद्ध भए । त्यहाँ पनि उनी कीर्तिमानी मूल्यमा ६९ लाख पाउन्ड लिएर अनुबन्धित भएका थिए । नेपोलीले उनलाई ७५ हजार समर्थकमाझ स्वागत गरेको थियो । 

बोका जुनियर, बार्सिलोनापछि नेपोलीसम्मको यात्रामा म्याराडोनाको करिअरले उचाइ लिइसकेको थियो । नेपोलीमा पाँच बर्ष रहँदा उनले दुईपटक ‘सिरी ए’को उपाधि दिलाए । त्यसैगरी दुईपटक नै क्लबलाई सिरिएको उपविजेता बनाए । एकपटक युईएफए कप र एकपटक कोपा इटालियाको उपाधि पनि उनले नेपोलीलाई दिलाए । 

सफल खेलाडी, तर असफल प्रशिक्षक

धेरैजसो राम्रा खेलाडी प्रशिक्षक बन्दा असफल बन्ने गर्छन् । त्यस्तै, उदाहरण म्याराडोना पनि हुन् । प्रतिबन्धको समयमा उनले धेरैपटक क्लब सम्हाल्न कोसिस गरेका थिए । तर, हरेकपटकको उनको प्रयास असफल भयो । क्लबस्तरीयमा खासै राम्रो गर्न नसकेका म्याराडोना अचम्मले नै २००८ मा अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बने । २९ अक्टोबर २००८ मा उनी अर्जेन्टिनाको प्रमुख प्रशिक्षकमा नियुक्त भए । 

उनले प्रशिक्षणमा अर्जेन्टिनाले पहिलो खेलमै स्कटल्यान्डलाई हराएको थियो । उनले बल्लतल्ल अर्जेन्टिनालाई २०१० को विश्वकपमा पु¥याए । त्यसवेला बार्सिलोनाका लियोनल मेसी भर्खर फुटबलमा चम्किरहेका थिए । म्याराडोनाले मेसीजस्ता युवा खेलाडीको भरमा विश्वकप जित्ने सपना देखे । तर, दक्षिण अफ्रिकामा भएको विश्वकपमा अर्जेन्टिना क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भयो । यससँगै प्रशिक्षकका रूपमा विश्वकप उपाधि उचाल्ने म्याराडोनाको सपना सपनामै सीमित भयो । 

प्रशिक्षक हुँदा अभद्र व्यवहार गर्ने, सन्की स्वभाव देखाउने तथा अनुचित कार्यका कारण म्याराडोनाले राष्ट्रिय टोलीको जिम्मेवारी त्याग्नुप¥यो । सन् २०११ मा उनी दुबईको क्लब अल वास्ल एफसीको प्रशिक्षक बने । आफ्नो बानी सुधार्न नसकेपछि एक वर्षपछि उनी त्यहाँ पनि बर्खास्तीमा परे । त्यसपछि उनले दुबईकै फुजाइराह क्लब सम्हाले । जीवनको अन्तिम समयमा उनी अर्जेन्टिनाकै गिम्नासियामा प्रशिक्षक बने ।