मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएफपी
२०७७ मङ्सिर १० बुधबार १५:१९:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा पहिलो चरणमा ६४ लाख व्यक्तिमा कोरोनाको भ्याक्सिन लगाउने तयारी 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर १० बुधबार १५:१९:००

संयुक्त राज्य अमेरिकाले डिसेम्बरको पहिलो साता फाइजरद्वारा निर्माण गरेको कोभिड– १९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवतः डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइनेछ । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी १० डिसेम्बरमा बस्ने बैठकले यसबारेमा निर्णय गर्नेछ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरूले बताएका छन् । 

मंगलबार सार्वजनिक पछिल्लो तथ्यांकमा अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या दुई लाख ६० हजार पुगिसकेको छ भने एक करोड २५ लाख मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा मात्रै दुई हजारभन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने एक लाख ६७ हजार व्यक्तिमा संक्रमण देखिएको छ । 

अमेरिकी सरकारको ‘अपरेसन वार्प स्पिड’का प्रमुख अपरेसन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा खोपको चार करोड डोज उपलब्ध भइसक्ने बताए । यस तथ्यांकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ। गत साता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपतकालीन प्रयोगमा ल्याइने सम्भावनाबारे छलफल भइरहेको पर्नाले बताए ।  

फाइजरको खोप निकै चिसो अर्थात् माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ । 

पर्नाले सबै अमेरिकी राज्यहरूलाई जनसंख्याका आधारमा समानुपातिक रूपमा खोप वितरण गरिने पनि जानकारी दिए ।  संघीय सरकारले कसलाई प्राथमिकता दिनुपर्ने भन्नेबारे सिफारिसहरू गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम र फ्रन्ट लाइनरहरू रहनेछन् ।