१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ मङ्सिर १० बुधबार १४:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १० बुधबार १४:४३:००

काभ्रे जिल्लामा ९० प्रतिशत विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । काभ्रे जिल्लामा पाँच सय ८७ वटा विद्यालय रहेकोमा ९० प्रतिशत पुनर्निर्माण भएका हुन् । जसमा केही विद्यालयमा विद्यार्थी कम भएपछि गाभिएर पाँच सय ३७ वटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन् ।

०७२ सालको विनाशकारी भूकम्पले अधिकांश विद्यालयका भवनमा क्षति पुर्‍याएको थियो । क्षति भएका विद्यालय भवन पुनर्निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काभ्रेले जनाएको छ । 

इकाइले दोस्रो चरणमा बनेका विद्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको र तेस्रो चरणको भने छनाेट प्रक्रियामा रहेको जनाएको छ । 

त्यसै क्रममा जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका– ५ चारकिल्लामा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयको १२ कोठे विद्यालय भवन निर्माण सम्पन्नपश्चात् मंगलबार हस्तान्तरण भएको छ । 

नेपाल सरकारको लगानी र दातृ निकाय एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा करिब १० करोड ३१ लाख लागतमा निर्माण गरिएको थियो । 

उक्त भवन डाँडापारि क्षेत्रकै अहिलेसम्मको सुविधासम्पन्न भवन हो । उक्त विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको विद्यालय भवन निर्माण कम्पनीबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)लाई हस्तान्तरण गर्दै क्रमशः गाउँपालिका र गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन्। 
ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवन उद्घाटन गर्न काभ्रे आएका ज्ञवालीले बालबालिकाको भविष्य उज्ज्वल बनाउने सबै तहका सरकार मिलेर शैक्षिक गुणस्तरतर्फ अगाडि बढ्न आवश्यक रहेको बताए ।

पाँच सय ९५ जना विद्यार्थी रहेको उक्त विद्यालयको भवन अपांगमैत्री, वातावरणमैत्री, बालबालिकामैत्री रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काभ्रेका इन्जिनियर बाबुराम देवकोटाले जानकारी दिए । 

उनका अनुसार यो भवनमा महिला तथा पुरुष शौचालय र धारासहित २५ हजार लिटर क्षमता भएको ट्यांकी पनि निर्माण गरिएको छ । 

महाभारत गाउँपालिकामा ५८ वटा विद्यालय व्यवस्थापन समितिमार्फत, दुईवटा दातृ निकायको सहयोगमा निर्माण भएका छन् । साथै तीनवटा प्रस्तावित अवस्थामा छन्। 

पुरानो घर भत्काउनु, नयाँमा बस्नु

उक्त कार्यक्रममा ज्ञवालीले विनाशकारी भूकम्पबाट क्षति भएको घरहरू तुरुन्त भत्काउन अनुरोध गरेका छन् । जीर्ण घर जोखिमयुक्त भएका कारण कुनै वेला दुर्घटना हुने भन्दै भत्काउन अनुरोध गरेका हुन् । 

सो क्रममा उनले स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निजी आवास पुनर्निर्माणको काम भइरहेकोले बताए । उनले सो काम छिटो सम्पन्न गर्न आग्रह गरे । ‘यदि पुराना घरमा बस्न सक्ने अवस्था छैन भने नयाँ घर बनाउनुस्, होइन, पुराना घरलाई मर्मतसम्भार गरेर बस्न मिल्ने हो भने त्यहीअनुसारले गर्नुहोस्,’ उनले भने, ‘पुराना घर पनि राख्ने नयाँ घर पनि बनाउने गर्न पाइँदैन ।’

उनले गुम्बाहरूको मर्मतसम्भार गर्ने काम बाँकी रहेको खण्डमा यस आर्थिक वर्षमा सम्पन्न गर्ने जानकारी दिए । पहिलो वर्षमा सय वर्षअगाडिका पुरातात्विक महत्वका गुम्बाहरूको निर्माण गर्ने र त्यसपछि सय वर्षभन्दा पछि बनेका गुम्बाहरू बनाउन सहयोग गर्ने उनको भनाइ छ । 

सोही अवसरमा प्रमुख ज्ञवालीले नमोबुद्ध नगरपालिकाको दाप्चामा अवस्थित दाप्चा माध्यमिक विद्यलायको नवनिर्मित भवनको अनुगमन गरेका छन् । नेपाल सरकारको लगानी र दातृ निकाय एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माण भएको सो विद्यलाय भवन निर्माणकार्य अन्तिम चरणमा छ ।