मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ९ मंगलबार १९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ९ मंगलबार १९:०७:००

दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना आएको छ । मंगलबार दिउँसो १ बजेर ४३ मिनेटदेखि भीमेश्वर मन्दिरको शिलामा निरन्तर आएको पसिना ३ बजेर ५४ मिनेट जाँदा रोकिएको मन्दिर क्षेत्रका स्थानीयसमेत रहेका भीमेश्वर– २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । लगातार पसिना आएपछि मन्दिर व्यवस्थापन पक्ष र स्थानीयले पूजाआराधाना गरेका थिए । 

शिलामा पसिना आएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीसहितको सरकारी टोली मन्दिर परिसर दोलखा बजार पुगेको थियो । शिलामा आएको पसिनाबारे सरकारी टोलीले राष्ट्रपति कार्यालयलाई जानकारी गराएको र प्राप्त निर्देशनका आधारमा क्षमा पूजा गरिने एक अधिकारीले बताएका छन् । 

कोभिडका कारण लामो समयदेखि भीमेश्वर मन्दिर बन्द गरिएको भए पनि केही समयअघिदेखि नियमित पूजाआजा हुँदै आएको थियो । तर, सर्वसाधारणलाई भने खुला नगरिएको स्थानीय भरतनारायण प्रधानले बताए । उनका अनुसार मंगलबार दिउँसो सुरुमा शिलाको देब्रे भागबाट आएको पसिना केहीबेरमा रोकिएको र त्यसपछि दुवैतिरबाट लगातार पसिना आएको थियो । भीमेश्वरको पसिनालाई विगतमा राजपरिवार तथा सरकारसँग जोडेर अनिष्टको संकेत या कुनै ऐतिहासिक तथा युगान्तकारी परिवर्तन हुने जनविश्वास रहँदै आएको छ । तर, यसपटकको पसिना दुवै भागबाट आएकाले संकेत शुभ या अशुभ भनेर छुट्याउन सक्ने अवस्था नरहेको मन्दिरका पुजारीहरूको तर्क छ । 
भीमेश्वर मन्दिरको शिलामा यसअघि गत वर्ष ८ फागुनमा पसिना आएको थियो । गत वर्ष पनि घन्टाैँसम्म आएको पसिनाले देशमा कोरोना भाइरस भित्रिएको भीमेश्वर क्षेत्रका ज्येष्ठ  नागरिकले बताउँदै आएका छन् ।