मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ९ मंगलबार ०७:५६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

वायु प्रदूषणको कहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ९ मंगलबार ०७:५६:००

दसैँ–तिहारका बीचमा केही स्वच्छ र सफा देखिएको काठमाडाैं उपत्यका फेरि घुर्मैलो देखिन थालेको छ । मौसमी प्रणालीमा आएको सामान्य परिवर्तनसँगै उपत्यकाको वायुमण्डलमा धुलो र धुवाँका तह जम्मा भएर प्रकाश छिर्न मुस्किल पर्ने गरी छेक्न थालेको छ । हिउँद महिनामा बर्सेनि देखिने यो समस्यासँगै वायु प्रदूषणको समस्या फेरि चर्चामा छन् । उपत्यकाको पछिल्लो वायु प्रदूषण मापनअनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रतिघनमिटर क्षेत्रमा धुलोका कण २.२५ माइक्रोमिटरभन्दा कम हुनुपर्छ । तर, अहिले उपत्यकाको वायुमण्डलमा मापदण्डभन्दा पाँच गुणासम्म बढी यस्ता कण पाइएका छन् । वायुमण्डलमा भएका यी कण श्वासप्रश्वासका माध्यमबाट सीधै फोक्सोसम्म पुग्छन् र स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छन् । 

प्रदूषण नियन्त्रणका उपायलाई कडाइका साथ पालन गर्दै दीर्घकालमा यसको न्यूनीकरण गर्न अहिले नै सक्रिय हुनु जरुरी छ । साथै तत्कालका लागि मास्कको प्रयोग अनिवार्य गरेर यसका प्रभावलाई कम गर्न सकिन्छ ।

भारतका उत्तरी राज्यमा फैलिने धुलो र धुवाँ पश्चिमी वायुसँगै नेपाल प्रवेश गर्ने र यो कचौराजस्तो उपत्यकामा आएर वायुमण्डलमा तैरेर बस्ने गर्नाले पनि यो मौसममा प्रदूषणको मात्र बढ्ने गरेको छ । यता काठमाडौंमै प्रदूषण बढाउने अनेक पक्ष छन् । मापदण्ड पालन नगरिएका र पुराना डिजल चालित सवारीसाधन, चोक र घर करेसामा बालिने घुरान या ढोड परालले निःसृत गर्ने धुवाँ तथा निर्माणका क्रममा रहेका सडकमा चल्ने सवारीसाधनले उडाउने धुलो र इँटाभट्टा तथा उद्योगबाट निस्किने धुवाँ पनि प्रदूषणका लागि कारण बन्ने गरेका छन् । धेरै वर्षदेखि वायु प्रदूषणका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी समस्या र त्यसले परिवार, समाज तथा राष्ट्रिय अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावबारे बहस हुँदै आएको र त्यससम्बन्धी नीतिगत व्यवस्था गर्दै प्रदूषण कम गर्ने योजना र मापदण्ड तयार भएको भए पनि व्यवहारमा पालना गर्न राज्यले तदारुकता नदेखाउँदा यसले जटिल समस्याको रूप लिइरहेको छ । 

जाडोसँगै बढेको चिसोले मौसमी रुघाखोकी र निमोनियाका बिरामी बढ्छन् । त्यसलाई यो प्रदूषणले थप नकारात्मक असर पार्छ । यस वर्ष यसै पनि कोरोनाका कारण स्वास्थ्यसम्बन्धी समस्याले समाज आक्रान्त छ । अस्पतालमा आइसियू र भेन्टिलेटरमा उपचार गर्नेहरूको संख्या बढ्दै गएको छ । वातावरणीय प्रदूषणका कारण चिसो मौसममा वृद्धवृद्धा, दीर्घरोगी र बालबालिकालाई निकै सकस पर्छ । उनीहरूलाई यसबाट जोगाउन समस्या पर्ने समयमा नै कोरोना संक्रमण दर पनि उच्च रहेको छ । कोरोनाका बिरामीलाई वायु प्रदूषणको असरसमेत थपिँदा निमोनिया हुने र त्यसले संक्रमितलाई थप हानि गर्छ भन्दै दिल्ली सरकारले मास्कको प्रयोगलाई अनिवार्य बनाएको छ । कोरोनाबाट बच्न मास्क अनिवार्य मानिएजस्तै प्रदूषणका लागि पनि मास्क अनिवार्य मानिन्छ । 

घरबाहिर निस्किँदा गुणस्तर भएको मास्कको प्रयोगलाई कडाइका साथ लागू गर्ने हो भने वायु प्रदूषणको प्रभावलाई कम गर्न सहयोग पुग्छ । यसको अर्थ दुवै रोगको एउटै उपचारजस्तो देखिन आउँछ । काठमाडौं उपत्यकामा अझै पनि मास्कको प्रयोगमा झन्झट मान्ने र प्रयोग नगर्नेको संख्या अत्यधिक छ । प्रदूषण नियन्त्रणका उपायलाई कडाइका साथ पालन गर्दै दीर्घकालमा यसको न्यूनीकरण गर्न अहिले नै सक्रिय हुनु जरुरी छ । साथै तत्कालका लागि मास्कको प्रयोग अनिवार्य गरेर यसका प्रभावलाई कम गर्न सकिन्छ । साथै सचेतना जगाउने र कडाइ गर्नेतिर स्थानीय सरकारसँग मिलेर संघीय सरकारले योजना बनाएरै काम गर्नु आवश्यक भइसकेको छ ।