१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार ०७:३३:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कोरोना महामारी : दर्शकलाई कसरी हलमा बोलाउनू ?

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार ०७:३३:००

अभिनेत्री रेखा थापाको योजना थियो, ‘यस वर्षको तिहारमा नयाँ चलचित्र प्रदर्शन गरौँला ।’ तर, समय उनको योजनाको विरुद्धमा उभियो । संसारलाई नै कोभिड–१९ ले आक्रमण गरिदियो । रेखा मात्र होइन, धेरै चलचित्रकर्मीको योजना तुहियो । ‘प्र्रेमगीत ३’, ‘म यस्तो गीत गाउँछु २’ जस्ता चलचित्रले प्रमोसनमा टन्न खर्च गरिसकेका थिए । प्रदर्शनको मिति नजिकिइरहेका वेला कोरोनाले मुलुक आक्रान्त भयो । सरकारले लकडाउन घोषणा गरिदियो । 

निर्माता निर्देशकको पहिचान बनाएकी रेखाले पनि नयाँ चलचित्रका लागि सबै तयारी गरिसकेकी थिइन् । स्क्रिप्टदेखि कलाकारसम्म लगभग पक्का भइसकेको थियो । सबै काम सकिइसकेको अवस्थामा बाँकी थियो, सुटिङमा जानु । त्यसको पनि तयारी गरिसकेकी थिइन् । गत वैशाखमा सुटिङमा जाने तयारी हुँदै गर्दा लकडाउन भइदियो । ‘त्यसपछि सबै योजना थाती रहे । लगानीका कुरा थिए, ती फ्रिज भए । फिल्मका कुरा थिए, ती यत्तिकै रहे,’ उनी सुनाउँछिन्, ‘यस्तो अवस्था नआइदिएको भए यतिवेला मेरो चलचित्र प्रदर्शन भइरहेको हुन्थ्यो या प्र्रदर्शनको अन्तिम तयारीमा हुन्थ्यो, म प्रमोसनमा लागिरहेकी हुन्थेँ । तर, समय नै यस्तै भइदियो ।’

मनोरञ्जन क्षेत्र मात्र नभएर सबै क्षेत्र आक्रान्त छ अहिले । हरेक क्षेत्र धराशयी बनेका छन् । सिनेमा हलहरू खुलेका छैनन् । लामै समयसम्म खुल्ने सम्भावना पनि छैन । खुलाउनेबारे छलफल र विमर्श भने भइरहेकै अवस्था छ । यस्तो विषम परिवेशमा हल खुलाउनेभन्दा पनि पहिला सबै मान्छे उठ्नुपर्ने धारणा छ रेखाको । पहिला सबै नउठी हल मात्र खुलाउनुको औचित्य देख्दिनन् उनी, ‘पहिला त सबै उठौँ । हरेक क्षेत्रका मान्छे उठौँ । उद्योग त अनि चलाउला नि,’ रेखा भन्छिन्, ‘यस्तो अवस्थामा दर्शकलाई हलमा आओ भनेर कुन मुखले भन्ने ?’ 

दिनदिनै कोरोना संक्रमित बढिरहेका छन् । हलै खुलाए पनि सुरक्षा दिने अवस्था पनि छैन । दर्शकको स्वास्थ्यसँग खेलबाड गर्ने कुरा पनि रहेन । दुई सय क्षमताको हलमा ५० जनालाई बोलाएर पनि हुँदैन । आधा दर्शक राखेर चलाएर पनि लगानी उठ्ने सम्भावना यसै पनि खतरामा छ । शतप्रतिशत दर्शकका लागि हल खोल्दा पनि लगानी सुरक्षित गर्न सकस हुने, अधिकांश फिल्महरू असफल हुने क्षेत्रमा ५० प्रतिशत दर्शकलाई देखाउनुको कुन औचित्य पनि छैन । 

 

‘मनोरञ्जनका कुरामा मानिस भित्रैबाट उत्साहित हुनुपर्छ । जबर्जस्तीको कुरा हुँदैन । अहिले मनोरञ्जनभन्दा पनि मानिसको स्वास्थ्यलाई कसरी ख्याल गर्ने भन्ने कुरो छ,’ रेखा भन्छिन्, ‘कोरोना हल्का भन्नेहरूलाई होइन, लागेको मान्छेलाई थाहा छ कति गम्भीर हो भनेर । हामीले अहिले चलचित्र हेर्न आउनुस् भनेर भन्दै गर्दा कोरोनाले बाआमा, सन्तान गुमाएकाहरूप्रतिको उपहास मात्र हुन सक्छ ।’ 

बाटोमा साग बेच्ने आमाहरू या कहीँ कतै काम गर्ने श्रमजीविहरूले हेर्ने हुन् नेपाली चलचित्र । यतिवेला लाखौँ श्रमजीवि बेरोजगार भएका छन् । हातमुख जोर्नै समस्या छ । रेखा प्रश्न गर्छिन्, ‘हल त चलाऔँला, तर उहाँहरूलाई कुन नैतिकताले मनोरञ्जन लिन आऊ भन्ने ? फिल्मपछि चलाऔँला, सके उहाँहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नु अहिलेको हाम्रो जिम्मेवारी हो ।’

चलचित्र क्षेत्र लथालिंग छ । रेखाले भनेझैँ हरेक क्षेत्र लथालिंग छ । यस्तो अवस्थामा चलचित्र विकास बोर्डको भूमिका खासै देखिँदैन । त्यस्तो पहल गरेको पनि देखिँदैन । राहतका केही प्याकेज ल्याए पनि त्यो हात्तीको मुखमा जिरा भएको अवस्था छ । उनले विकास बोर्डलाई लिएर बुझेको एउटै कुरा हो, ‘विकास बोर्डको अध्यक्ष हुने वेला भयंकर हल्ला हुन्छ ।

एउटा अवस्था कटेर गइसकेपछि त्यो हल्ला बिरालोको घाँटीमा घन्टी बजाएजस्तो मात्र हुन्छ ।’ प्रमोसनमा पनि खर्च गरिसकेका फिल्मका लागि विकास बोर्डको पहल शून्यजस्तो भएको बुझाइ छ रेखाको । यस्तो वेला जुन संस्थाले या त जसले यस क्षेत्रमाथि चासो दिएर प्रोत्साहन दिनुपर्ने हो, तिनीहरू मौन छन् । उनीहरूको मौनतामाथि केही भन्ने जाँगरै नभएको बताउँछिन् रेखा । थापा भन्छिन्, ‘केही नगरे पनि संरक्षण गर्ने, पहल गर्ने, फिल्महरू कहाँ कसरी के कारणले अड्कियो भनेर सोध्न त सक्छ नि ?’ अब त त्यो अपेक्षा पनि मरिसकेको उनको गुनासो छ । भन्छिन्, ‘निर्माताहरू लोनको ब्याजले थला परेका छन् । लगानीको कुरा अर्कै छ । यस्तो वेला कि राहत दिने, नभए पनि ढाडस त दिन सकिन्छ नि !’

यता, प्राविधिकहरूको हालत छ । पर्दा पछाडि रहेर काम गर्नेहरूको अवस्थामाथि पनि कुनै चासो र चियो गरेको देख्दिनन् उनी । ‘यस क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू गरिब हुँ भन्ने भावनासहित मर्नुपर्दा के होला ? हाम्रो क्षेत्रकै कति मान्छे बेरोजगार बनेर बसेका छन्, जसको ढाडसकै लागि मात्र भए पनि विकास बोर्डले भूमिका खेल्नुपर्ने थियो, जो छैन,’ रेखा भन्छिन् । 

रेखाले ‘हिम्मतवाली’बाट निर्देशनमा डेब्यु गरिन् । करिब आधा दर्जन सिनेमा निर्माण गरिसकिन् । अझै बनाउने योजनामा छिन् । अभिनय, निर्माण र निर्देशनको जिम्मेवारी पनि एकसाथ निभाएकी छन् । उनको नयाँ चलचित्रको निर्देशन सविर श्रेष्ठले गर्ने तय भइसकेको थियो । तर, अहिले रोकिएको छ । यो वर्षभरि नयाँ सिनेमाको काम अघि नबढ्ने उनको भनाइ छ । कोरोना महामारी लम्बिने अवस्था देखिएका अर्को वर्षतिरै सुटिङमा जाने योजनामा छिन् उनी । भन्छिन्, ‘निर्देशनको कुरामा चाहिँ हेरौँ के हुन्छ । सविर दाइ व्यस्त हुनुभो भने आफैँ लागिपर्छु ।’