मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर ७ आइतबार २०:१९:००
Read Time : > 1 मिनेट
फिचर

गुजरातमा मास्क नलगाउनेबाट मात्रै एक अर्ब २४ करोड जरिवाना संकलन

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार २०:१९:००

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या बढिरहेको छ । कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित राख्न राज्य नै पिच्छे फरक–फरक प्रावधान कार्यान्वयनमा छन् । सरकारले अहमदाबादमा सातामा ५७ घन्टा कफ्र्यु लागू गरेको छ भने राजकोट तथा सुरतमा सातामा दुई रात कफ्र्यु आदेश जारी गरिएको छ । यसबाहेक पनि प्रशासनले कोरोनाबाट सुरक्षित राख्न मास्क प्रयोगलाई अनिवार्य, भिडभाड नगर्नेलगायतका हरप्रयास गरिरहेको छ । तर, कतिपयले भने कोरोना भाइरसलाई हल्का रूपमा लिएर सामान्य अवस्थामा जस्तै गरी हिँडिरहेका छन् । 

सरकारले लकडाउन खुकुलो गरेसँगै देशैभर मास्क प्रयोगप्रति झनै कडा नियम अख्तियार गरेको छ । मास्क नलगाउनेलाई ठूलै रकम जरिवानाको समेत व्यवस्था गरेको छ । गुजरातमा मात्रै मास्क नलगाई हिँडेका एक लाखभन्दा बढी व्यक्ति कारबाहीमा परेका छन् । उनीहरूलाई गरिएको जरिवानाबाट मात्र गुजरातमा ७८ करोड भारु (एक अर्ब २४ करोड नेपाली रुपैयाँ) राज्यले आम्दानी गरेको भारतीय मिडियाहरूले जनाएका छन् । यो रकम भनेको गुजरातको स्टेच्यु अफ युनिटीको वर्षभरको आम्दानीभन्दा बढी रहेको भारतीय एजेन्सीहरूले जनाएका छन् । 

अहमदाबादमा हरेक मिनेट एक सय २० जना कारबाहीमा
गुजरात सरकार र प्रहरी प्रशासनले सर्वसाधारणलाई घरबाट निस्कँदा वा कामकाजले अफिस जाँदा अनिवार्य रूपमा मास्क लगाउन बारम्बार भन्दै आएको छ । तर, स्थानीयले प्रशासनको निर्देशन पालना गरेका देखिँदैन । अहमदाबाद सहरमा प्रत्येक एक मिनेटमा एक सय २० जना मास्क नलगाएकै कारण कारबाहीमा पर्ने गरेका छन् । अहमदाबाद हस्पिटल एन्ड नर्सिङ होम एसोसिएसनले थप कारबाही गर्र्न माग राखेका छन् । 

मास्कको मूल्य दुई रुपैयाँ, जरिवाना एक हजार
भारतमा एउटा मास्कलाई दुई रुपैयाँ मात्रै पर्छ । सरकारले आफ्ना नागरिकलाई सुलभ रूपमा मास्क उपलब्ध गराउन मास्क सस्तोमा उपलब्ध गराएको छ । केवल दुई रुपैयाँ भारु पर्ने मास्क नलगाई बाहिर निस्कँदा त्यस्ता व्यक्तिबाट प्रहरीले एक हजार भारु जरिवाना लिइरहेको छ । जरिवाना मात्र होइन, तत्कालै ती व्यक्तिको कोरोना परीक्षण पनि हुन्छ । यदि पजिटिभ आएमा उसलाई प्रहरीले सीधै अस्पताल भर्ना गर्छ । कारबाहीस्वरूप अस्पतालको सबै खर्च पनि ती व्यक्तिले नै तिर्नुपर्छ । 

बारम्बार कारबाहीमा परे जेल
मास्क नलगाएको आरोपमा बारम्बार कारबाहीमा परे त्यस्ता व्यक्तिलाई अस्थायी रूपमा जेल चलान गर्न अधिकार सरकारले सम्बन्धित अधिकारीलाई प्रदान गरेको छ । प्रशासनले यस्तो व्यक्तिको हकमा अस्थायी जेल पनि बनाएको छ । यहाँ ती व्यक्तिको कोभिड परीक्षण पनि हुन्छ । दीपावलीपछि संक्रमितको संख्या बढ्न सक्ने अनुमान लगाउँदै विभिन्न राज्यमा मास्क अनिवार्य गरिएको छ । 

जरिवाना मिलान प्रयास
रमाइलो पक्ष यो छ कि ‘अन द स्पट’ पक्राउ पर्ने व्यक्ति सम्बन्धित अधिकारीसँग लेनदेनमा हिसाब मिलान गर्न अनुरोध गर्छन् । कारबाही परेका ५० प्रतिशतले मात्र रसिद काट्न आग्रह गर्छन् । अझ राजधानी नयाँदिल्लीमा मास्क नलगाएर हिँड्दा दुई हजार भारुसम्म तिर्नुपर्ने नियम चाँडै जारी हुने भएको छ । कोरोना भाइरसको तेस्रो लहर चलेपछि सरकारले गठन गरेको समितिले आइतबार र सोमबार जागरुक अभियान चलाउने भएको छ । 

कारबाही गर्ने एक सय ४१ टोली
सरकारको निर्देशन पालना गराउन गुजरातमा एक सय ४१ टोली छन् । यी टोलीमा प्रहरी, प्रशासन तथा नगरपालिकाका कर्मचारी रहेका छन् । उनीहरू सहरको विभिन्न क्षेत्रमा गस्ती गर्छन् । सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्ने व्यक्तिलाई तत्कालै पक्रेर जरिवाना र कोरोना परीक्षण गरिन्छ । 

–एजेन्सीको सहयोगमा