मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ७ आइतबार १९:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकमा बेवारिसे ८० वर्षीय वृद्धको उद्धार

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १९:२५:००

वर्षौँदेखि सडक जीवन बिताइरहेका ८० वर्षीय एक वृद्धको उद्धार गरिएको छ । बेसीसहर नगरपालिका– १ उदीपुरको सडकछेउबाट वृद्धको आइतबार उद्धार गरिएको हो । मानवसेवा आश्रम लमजुङको पहलमा उमेर बताउने नाम र ठेगाना भन्न नसक्ने वृद्धको उद्धार गरिएको हो ।

आश्रमका संयोजक अनिता अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, डिएसपी गंगाबहादुर थापा, बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याललगायत सञ्चारकर्मीको रोहवरमा उनलाई उद्धार गरी बेसीसहर नगरपालिका– ७ हाइस्कुल चोकमा रहेको मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रम लमजुङका संयोजक अनिता अधिकारीले बताइन् । 

लामो समयदेखि सडकजीवन बिताउँदै आएका वृद्धको जीवन दुःखदायी र पीडादायी भएको  खबर पाएपछि उद्धार गरी आश्रममा ल्याइएको संयोजक अधिकारीले बताइन् । उद्धार गरिएपछि उनलाई नुवाइधुवाई गरी आश्रममा राखिएको छ । उनको परिचय नखुलेको र आफन्तजन पनि कोही सम्पर्कमा नभएकाले उनलाई आश्रममै राखिनेछ । 

उमेरले बुढ्यौली लागेर काम गर्न नसक्ने भएसँगै उनी बेवारिसे अवस्थामा सडकमा माग्दै दैनिकी चलाउँदै आएका थिए । वृद्धको कोही पनि आफन्त नभएको जानकारी आएकाले पछि कोही वृद्धको आफन्तजन सम्पर्कमा आएमा उनलाई परिवारमा पुनर्मिलन गराउने आश्रमकी संयोजक अधिकारीको भनाइ छ । 

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले दुःख पाएर सडकमा कसैले पनि रात बिताउन नपरोस् भन्ने उद्देश्यले सडकमा बेवारिसे वृद्धको उद्धार गरिएको बताए । बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले बेसीसहर नगरपालिका– १ उदीपुरमा सडकमै बेवारिसे अवस्थामा दैनिकी चलाएका वृद्धको मानव सेवा आश्रम, नगरपालिका, प्रशासन र प्रहरीको समन्वयमा उद्धार गरिएको बताए । उनले नगरपालिकाले सडकमा अलपत्र परेका नागरिकका लागि भनेर बर्सेनि बजेट विनियोजन गरेको बताए ।  

वृद्धले दिनभर बेसीसहर नगरपालिका– १ उदीपुर बजारमा पैसा माग्दै सडकमा हिँड्ने र राति सडकछेवैमा खाना पकाउने र सडकमा रात बिताउने गरेको बेसीसहर नगरपालिका– १ का वडाध्यक्ष एवं स्थानीय बलराम श्रेष्ठले बताए । लमजुङमा रहेको मानव सेवा आश्रमले सडकमा बेवारिसे बनेका २३ जना सडकमानवलाई आश्रय दिएको छ । आश्रमले आगामी पुस महिनासम्ममा लमजुङ जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ ।