१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ मङ्सिर ७ आइतबार १३:४०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोभिडका बिरामीको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको आग्रह

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १३:४०:००

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिडका बिरामीमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि प्रयोग नगर्न सिफारिस गरेको छ । डब्ल्युएचओका विशेषज्ञहरूको प्यानलले रेम्डेसिभिरको प्रयोगले कोभिड मृत्युदर र बिरामीमा कुनै पनि प्रभाव नपारेको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो । मेकानिकल भेन्टिलेसन र क्लिनिकल सुधारमा रेम्डेसिभिर प्रभावहीन रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ । 

रेम्डेसिभिरको निर्माता कम्पनी गिलियड साइन्सेजले भने रेम्डेसिभिर औषधि विश्वभरि नै कोभिडका बिरामीमा प्रयोग भइरहेको बताएको छ । साथै विभिन्न अध्ययनले सुरुवातीको चरणमा रेम्डेसिभिरको प्रभावकारिता देखाएको थियो । महिनौँदेखि विश्वभर प्रयोगमा आइरहेको रेम्डेसिभिरको उपयोगिताबारे बहस र शंका उत्पन्न भइरहेको छ । अक्टोबरको अन्तिम साता एफडिएले रेम्डेसिभिरलाई कोभिडविरुद्धको पहिलो औषधि घोषणा गरे पनि यसबारे झन् बहस चुलिएको थियो । नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको बृहत् अध्ययनले रेम्डेसिभिरको प्रयोगबाट बिरामीको संक्रमणबाट निको हुने दर ११ देखि १५ दिन घटाएको बताएको थियो । 

मार्चमा जब कोभिड महामारी चीन हुँदै युरोप, अमेरिकासम्म फैलिइसकेको थियो औषधि निर्माता कम्पनीहरू र अनुसन्धानकर्ताहरूले स्टेरोइडसहितको उपचार पद्धतिको तीव्र खोजी गरिरहेका थिए । सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठनको विज्ञहरूको प्यानलले गम्भीर अवस्थाका बिरामीमा स्टेरोइड प्रयोगका लागि सिफारिस गरेको थियो । थप विश्लेषणका लागि प्यानलले नेसनल इन्स्टिच्युट अफ हेल्थको सहयोगमा चार चरणमा क्लिनिकल ट्रायल पनि गरेको थियो । जसमा पाँच हजारभन्दा बढी बिरामी सहभागी थिए । जुन अध्ययन साइन्टिफिक जर्नलमा भने प्रकाशित गरिएको छैन । 

नेसनल इन्स्टिच्युट अफ हेल्थको उक्त अध्ययनमा केही प्रतिशतमा औषधिले प्रभाव देखाएको उल्लेख छ । रेम्डेसिभिर औषधि केही निश्चित व्यक्तिका लागि प्रभावकारी हुन सक्ने भन्दै यसको ट्रायललाई भने जारी राख्न भनिएको छ । एफडिए (अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन) ले प्रमाणित गरेपछि रेम्डेसिभिर पछिल्लो समय निकै प्रयोगमा आइरहेको छ । अन्य विज्ञहरूले भने विश्व स्वास्थ्य संगठनको निर्णय तत्कालका लागि उपयुक्त नभएको बताएका छन् । कोभिड संक्रमितमा अत्यधिक प्रयोग भइरहेकाले कोभिडका केही बिरामीमा पनि प्रभावकारी देखिएकोले ट्रायलमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । यसअघि डेक्सामेथासोन नामक औषधि पनि प्रयोगमा ल्याइएको थियो । सामान्य लक्षण देखिएका बिरामीका लागि सो औषधि पनि प्रभावकारी रहेको थियो । 
–एजेन्सीको सहयोगमा