मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुनीता नारायण
२०७७ मङ्सिर ७ आइतबार ०८:२१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पर्यावरणको मुद्दामा बाइडेन दौडिनुपर्छ

Read Time : > 2 मिनेट
सुनीता नारायण
२०७७ मङ्सिर ७ आइतबार ०८:२१:००

बाइडेनसत्ता आएपछि सबै ठीक हुनेछ भन्ने जरुरी छैन, तर पर्यावरणको मुद्दामा उनी हिँड्ने होइन, दौडिनुपर्छ 

डोनाल्ड ट्रम्प अब संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति भइसकेका छन् । र, अन्ततः हामी सन्तुष्टिको सास फेर्न सक्छौँ । राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला हैरिसका अनुसार उनले पेरिसमा भएको जलवायु सम्झौताको सर्त पालना गर्नेछन् । यति वेला संसारको अस्तित्वमाथि सबैभन्दा ठूलो खतरामध्येको एक जलवायु परिवर्तनलाई इन्कार गर्न सकिने अवस्था छैन । अब हामीले निर्णायक पाइला चाल्नु पर्नेछ । कम्तीमा यत्तिको आशा त गर्नैपर्छ । त्यसैले यतिवेला हामी यथार्थवादी हुनुपर्ने छ । मैले बाइडेन र हैरिसको जितलाई न्यून मूल्यांकन गरेकी होइन । मेरो भनाइको आशय कति मात्र हो भने हामी भविष्यका चुनौतीतर्फ सचेत हुनैपर्छ । हाम्रो पृथ्वी जलवायु परिवर्तनजनित प्रलयतिर अग्रसर छ । हामीसँग अब आधा अधुरा पाइला चाल्ने समय छैन । अब बाइडेनको जितको आत्मनिरीक्षण गरिनुपर्छ । उनीहरूले निर्वाचन जितेको कुरा सत्य हो, तर ट्रम्पवादको अन्त्य भइसकेको छैन भन्ने पनि त्यति नै सत्य हो । आधाजति अमेरिकीले ट्रम्पको समर्थनमा मतदान गरेका छन् र यस निर्वाचनलाई अमेरिकाभन्दा बाहिरबाट नियालिरहेका हामीजस्ता अधिकांश मानिसका लागि यो आश्चर्यको विषय हो । 

ट्रम्प कोभिड–१९ महामारीलाई रोक्न असफल त भएकै छन्, साथै उनले जलवायु परिवर्तनलाई नकारेका पनि छन् । लिंग र नश्लसम्बन्धी विवादमा पनि उनले घिउ थपेका छन् । यति हुँदाहुँदै पनि ट्रम्पले सन् २०२० मा सन् ०१६ को तुलनामा धेरै मत प्राप्त गरेका छन् । हामीले यो ध्यान दिनुपर्ने विषय हो । अमेरिका एउटा विभाजनकारी मुलुक हो र विभाजनको यो गहिरो खाडलको मूल कारण त्यहाँका आधा जनताका आकांक्षा हुन् । तपाईं भन्न सक्नुहुन्छ– बाइडेनको विजयको कारण उनी भाइरसमाथि नियन्त्रण कायम गर्ने वाचा गर्छन्, उनी मास्कको वैज्ञानिकतामा विश्वास गर्छन् र आवश्यक पर्दा लकडाउनका लागि पनि तयार हुन्छन् भन्ने हो । तर, यति हुँदाहुँदै पनि मानिसले ट्रम्पलाई भोट दिएका छन् । यसको अर्थ हो– जनतालाई यी विषयमा केही स्वाद छैन । उनीहरूका अनुसार अर्थव्यवस्था भाइरसभन्दा पनि महत्वपूर्ण हो । 

बाइडेनले निर्वाचन जितेको कुरा सत्य हो, तर ट्रम्पवादको अन्त्य भइसकेको छैन भन्ने पनि त्यति नै सत्य हो । आधाजति अमेरिकीले ट्रम्पको समर्थनमा मतदान गरेका छन् र अमेरिकाभन्दा बाहिरबाट नियालिरहेकालाई यो आश्चर्यको विषय हो ।
 

भाइरसले भेदभाव गर्दैन भन्ने तर्क गर्न सकिन्छ, तर यसले गरिब मानिसलाई बढी प्रभावित पार्छ भन्ने कुरालाई नकार्न सकिँदैन । तर, उनीहरू यो कुरा सुन्न चाहँदैनन् । यसपटकको अमेरिकी निर्वाचनको मुख्य मुद्दा जलवायु परिवर्तन थियो र यो मुद्दा बहसको केन्द्रमा थियो । यो विषय स्वयं ट्रम्पले सुनिश्चित गरेका थिए । उनले विज्ञानको भरपूर विरोध गरेको देखियो । उनले कोइलाको प्रयोगलाई लिएर आफ्नो प्रतिबद्धता जाहेर गरे र ‘मेड इन युएसए’को नारा दिँदै अमेरिकी उत्पादनलाई बढावा दिए । भयानक जंगलको आगो र चक्रवाती तुफानबाट भएको नोक्सानीका बाबजुद ट्रम्पले आफ्नो काम जलवायु विज्ञानका खिलाफमा केन्द्रित गरेका थिए । उनका अनुसार अमेरिकी अर्थव्यवस्थाका लागि यो अत्यावश्यक विषय हो ।

उनका समर्थकले यो स्पष्ट देखे होलान् । हामीले आफ्नो आँखामा लागेको गुलाबी चस्मा उतार्नुपर्ने हुन्छ किनभने अवस्था ठीक छैन । जहाँसम्म जलवायु परिवर्तनको मुद्दामा कारबाहीको कुरा छ, अमेरिका सधैँ पाखण्डी राष्ट्र हो– पेरिस सम्झौतामा ऊ आफैँले तय गरेको साधारण लक्ष्यलाई नै प्रमाणका रूपमा लिन सकिन्छ । हो ट्रम्पको तुलनामा बाइडेनले जलवायु परिवर्तको मुद्दामा केही त गर्ने नै छन्, त्यो बेग्लै विषय हो । तर, यो यस कारण मात्रै भएको छ कि ट्रम्पवादले हामीलाई त्यति पछि घचेटेको छ, जसको हामीले पहिले कहिल्यै कल्पना पनि गरेका थिएनौँ ।

एउटा साँचो कुरा के हो भने ट्रम्प एउटा कुरामा सही छन् र अर्को कुरामा गलत । उनी भन्छन्– उनको कार्यकालमा अमेरिकाले हरितगृह ग्यास उत्सर्जनमा पछिल्लो दशककै ३० प्रतिशतले कमी ल्याएको छ । यो सही कुरा हो । यो सबै बजारमा आएको परिवर्तनको फलस्वरूप सम्भव हुन गएको हो । ऊर्जा उत्पादनका लागि कोइलाको साटो सेल र प्राकृतिक ग्यासको प्रयोग गर्न थालियो, जुन पर्यावरणका हिसाबले न्यून क्षतिजनित छ । अब अमेरिका कोइलामा निर्भर रहेन, तर यो देश सस्तो ऊर्जा स्रोतको पुजारी हो । साथै अमेरिका आर्थिक महाशक्तिको आफ्नो भूमिका चीनबाट खोसेर आफूमा निहित गर्न चाहन्छ । यसको अर्थ हो, औद्योगिक विकासका लागि धेरै इन्धन जलाउनु र अधिक ऊर्जाको उपयोग गर्नु, जुन स्वच्छ इन्धनको सबै लाभलाई नकार्ने गर्छ । यतिवेला हामीलाई परिवर्तनकारी जवाफको आवश्यकता छ । त्यसैले बाइडेन सत्तामा आएपछि सबै ठीक हुनेछ भनेर बुझ्न जरुरी छैन । अब हामीले उनलाई पर्यावरणको मुद्दामा हिँड्न होइन, दौडिनका लागि बाध्य बनाउनुपर्छ ।

(लेखक प्रसिद्ध भारतीय पर्यावरणविद् हुन्) डाउन टु अर्थबाट