१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ७ आइतबार ०६:४१:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णाली प्रतिष्ठानमा ३९ दिनदेखि ताला

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार ०६:४१:००

उपकुलपति काठमाडौंबाट फर्किए, कर्मचारी आन्दोलनमा, लामो तालाबन्दीले कामकाज ठप्प, शैक्षिक कार्यक्रम पनि प्रभावित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ दिनदेखि तालाबन्दी छ । शैक्षिक र प्रशासन फाँटमा गरिएको तालाबन्दीले कामकाज ठप्प भएको छ भने शैक्षिक कार्यक्रम पनि प्रभावित भएका छन् ।

उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले मुनिराज क्षत्रीलाई जनस्वास्थ्य संकायको डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानको काठमाडौंस्थित सम्पर्क कार्यालयबाटै अनावश्यक रूपमा डिन नियुक्त गरिएको बताउँदै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानलाई अनावश्यक भार थपेको बताउँदै कर्मचारीले २८ असोजमा तालाबन्दी गरेका थिए ।

अहिले प्रतिष्ठानमा ३० विद्यार्थी अध्ययनरत छन् । दुईजना डिन यसअघि नै नियुक्त भएका थिए । थप तेस्रो डिन आवश्यक नभएको कर्मचारीको भनाइ छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक÷एकजना डिन मात्रै रहेकाले कर्णाली प्रतिष्ठानमा आफ्ना मान्छेलाई काम दिन तेस्रो डिन नियुक्त गरिएको कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताए । उनले भने, ‘यसबाट प्रतिष्ठानलाई अनावश्यक आर्थिक भार थपिएको छ ।’

३९ दिनसम्म तालाबन्दी खोल्न पहल भएको छैन । उपकुलपति प्रा.डा. वाग्ले काठमाडौंबाट जुम्ला फर्केका छैनन् । उनले काठमाडौंस्थित सम्पर्क कार्यालयबाटै काम गर्दै आएका थिए । जब कि, सरकारले एक वर्षअघि नै सम्पर्क कार्यालय हटाउन निर्देशन दिएको थियो । उपकुलपति प्रा.डा. वाग्लेले बेवास्ता गर्दा कर्मचारीले पनि आन्दोलन फिर्ता लिएका छैनन् । सोहीकारण प्रतिष्ठानको कामकाज अस्तव्यस्त बनेको छ ।

उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र प्रशासनमा तालाबन्दीले शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । एमबिबिएस पढाइ सुरु गर्ने प्रतिष्ठानको तयारी अलपत्र परेको छ । पदाधिकारीहरू जिम्मेवार नबन्दा यो अवस्था आएको आन्दोलनरत कर्मचारीको भनाइ छ । पटक–पटक कोसिस गर्दा पनि उपकुपति प्रा.डा. वाग्ले फोन सम्पर्कमा आएनन् ।

प्रशासन र लेखा शाखामा पनि तालाबन्दी गरिएका कारण स्वास्थ्यकर्मीसहित कर्मचारीले तलब पाएका छैनन् । दसैँ र तिहारमा समेत तलब नपाएको उनीहरूको गुनासो छ । प्रतिष्ठानमा करिब तीन सय ५० जना कर्मचारी छन् ।