१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ७ आइतबार ०५:५१:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

चितवन घटनापछि सुरेन्द्र पाण्डे भन्छन्– जसले प्रश्रय दिन्छ ऊ पनि सिद्धिन्छ

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर ७ आइतबार ०५:५१:००

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः जिल्ला–जिल्लामा विस्तार हुँदै गएको छ । ओली र प्रचण्डले १३ मंसिरमा डाकिएको केन्द्रीय सचिवालय बैठकमा आरोप–प्रत्यारोपसहितको बेग्ला–बेग्लै राजनीतिक दस्ताबेजमा छलफलको तयारी गरिरहेका वेला केन्द्रीय विवाद जिल्ला–जिल्लामा विस्तार हुँदै गएको हो ।

दुवै समूहका नेता–कार्यकर्ता अर्को समूहका नेताविरुद्ध नाराबाजी गर्ने, बेग्ला–बेग्लै भेला गरेर गुट विस्तार र सुदृढ गर्ने तहमा सक्रिय बनेका छन् । चितवनको वीरेन्द्रनगरमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहारको प्रयास भएको छ भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय खेलाडी भेला गरेको छ । 

चितवनमा नेकपा राप्ती नगर कमिटीले आयोजना गरेको बैठकमा ओली समूहका कार्यकर्ताले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेको सम्बोधन बिथोल्दै अभद्र व्यवहार गर्ने प्रयास गरेका छन् । चितवन– १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पाण्डेले सम्बोधन गरिरहेका वेला ओली समूहका करिब एक दर्जन कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए । 

विकास निर्माण तथा संसद् विकास कोषको विषयमा छलफल गर्ने भनिए पनि नेता पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको विरोध गर्दै सम्बोधन गरेपछि नाराबाजी गरेको ओली पक्षका कार्यकर्ताहरूको दाबी छ । ‘उहाँले चितवनमा कार्यकर्ता भेला गराइरहेको थाहा पाएपछि हामी पनि शनिबारको कार्यक्रममा पुग्यौँ । अर्कै विषय भनिए पनि गुटगत कार्यक्रम रहेछ,’ विरोधमा उत्रिएका केदार आचार्यले भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जन गर्ने गरी सम्बोधन सुनेपछि हामीले उहाँका विरुद्ध नारा लगाएका हौँ ।’ उनीहरूले पार्टी एकता जिन्दावाद, राजनेता केपा ओली जिन्दावाद भन्दै नारा लगाएपछि पाण्डेले बीचैमा सम्बोधन स्थगित गरेका थिए ।

घटनापछि नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले बेग्ला–बेग्लै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । ‘सभ्य, सुसंस्कृत, एवं समुन्नत समाज निर्माण गर्ने, उद्देश्य बोकेर कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने–गराउने जोसुकै भए पनि कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु,’ वरिष्ठ नेता नेपालले विज्ञप्तिमा भनेका छन् ।

अर्का वरिष्ठ नेता खनालले पनि दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्तरिक विवाद उत्कर्षमा पुगेको र समाधानको उपायको खोजी भइरहेका वेला घटनालाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पार्टीपंक्तिलाई अनुरोध गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सुनियोजित दुव्र्यवहार घटनाको निन्दा र भत्र्सना गर्दै त्यस्तो व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र नभएर कसैको हित नहुने बताएका छन् ।

स्थायी समिति सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्यस्तो हुलहुज्जत बहुदलीय जनवादको कोर्स नै हुन नसक्ने बताएका छन् । ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो,’ भट्टराईले ट्विट गर्दै भनेका छन् ।

उता, घटनापछि नेकपा राप्ती नगर कमिटीले विज्ञप्ति प्रकाशित गरी हुलहुज्जत्त गर्दै नेता पाण्डेविरुद्ध दुव्र्यवहारमा उत्रिने पार्टी कार्यकर्तामाथि कारबाही गर्न जिल्ला कमिटी चितवनसमक्ष माग गरेको छ ।

सुर्खेतमा ओली पक्षको जबजबारे छलफल गर्न खेलाडी भेला 
मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशले जनताको बहुदलीय जनवाद विषयमा खेलाडीहरू स्वागत तथा प्रदेश भेला नाममा प्रशिक्षण दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, एकेडेमीका उपाध्यक्ष धु्रव आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । सुर्खेतको घन्टाघरमा भएको प्रशिक्षण कार्यक्रममा खेलाडीलगायत नेकपा नेता तथा कार्यकर्तासहित करिब दुई सय सहभागी थिए । प्रचण्ड–नेपाल समूहले पार्टी फुटाउने उद्देश्यले प्रशिक्षण दिइएको आरोप लगाएको छ । 

एकेडेमीका कर्णाली प्रदेश अध्यक्ष तेजविक्रम बस्नेतले भने कर्णालीमा खेल क्षेत्रलाई कसरी अगाडि बढाउने विषयमा स्वागत तथा प्रदेश भेला आयोजना गरिएकोे बताए । ‘यो कार्यक्रम पार्टी विवादबारे गुटको भेला होइन,’ उनले भने, ‘आगामी दिनमा खेल क्षेत्रलाई कर्णालीमा कसरी अगाडि बढाउने भन्ने विषयमा प्रशिक्षण भएको हो ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव उपस्थित भएको कार्यक्रममा नेकपाका सबै विचार राख्ने खेलाडी उपस्थित भएको बस्नेतको दाबी छ । ‘यो खेल क्षेत्रलाई कसरी जनताको बहुदलीय जनवादसँग जोड्न सकिन्छ,’ उनले भने, ‘त्यसमा सामान्य छलफल भएको हो ।’

नेताका आफन्तहरूले नै हुलहुज्जत गरे  : सुरेन्द्र पाण्डे,  स्थायी कमिटी सदस्य, नेकपा

राप्ती नगरपालिकामा पार्टीको नगर कमिटी बैठकमा अतिथिका रूपमा गएको थिएँ । मैले त्यहाँ पार्टीभित्र विभिन्न प्रतिष्ठानका नाममा गुटहरू चलेका छन्, यसलाई रोक्नुपर्छ भन्ने आवाज पहिलादेखि थियो । दुई अध्यक्ष, सचिवालयका अन्य कमरेडहरू पनि सहमत हुनुभयो । त्यसैअनुसार हामीले विवाद समाधान गर्ने कार्यदलमार्फत प्रतिष्ठानमार्फत हुने गुटगत गतिविधि रोक्ने प्रस्ताव गर्‍यौँ । फेरि दुई अध्यक्षले सहमति गर्नुभयो ।

सचिवालयमा सहमति भयो र स्थायी कमिटीबाट पारित नै भयो । पछि २९ भदौमा सर्कुलर नै जारी भयो । सर्कुलरमै हामीले पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरू परिचालित छन् । यीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् र गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ भन्ने निष्कर्ष पठाएका छौँ । पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने भनेकै छौँ ।

प्रतिष्ठानमार्फत कुनै पनि गुटका गतिविधि गर्नुहुँदैन भन्ने पार्टीको औपचारिक निर्णय छ र यसमा सबैको सहमति छ भन्ने पृष्ठभूमिसहित व्याख्या गर्दै थिएँ । त्यहीवेला केही केटाहरू जुरुक्क उठे । नाराबाजी गर्न थाले । राजनेता केपी ओली जिन्दावाद भन्न थाले, जबज जिन्दावाद भने । मदन भण्डारी फाउन्डेसन जिन्दावाद भनेर पनि नारा लगाए । बैठककक्षमा प्रवेश गर्दा मेयरसँगै केही ती केटा आएका थिए । तीमध्ये केही चिनेका थिए र केही नचिनेका ।

यसरी नारा लगाउनेमा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया हुन् । सुरजका ससुरा दाबा लामा बागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री छन् । मन्त्रीका ज्वाइँ आफैँ नाराबाजीमा उत्रे । मन्त्री दाबाकै पिए प्रकाश कालाखेती पनि त्यहाँ थिए । केदार आचार्य पनि थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न थिए भन्ने छ । उनीहरू मदन भण्डारी फाउन्डेसनसँग जोडिएका होलान् । 

उनीहरूका गतिविधि सुरुदेखि नै स्वाभाविक थिएनन् । मेयरलाई आशन ग्रहण गराउँदा ताली पिट्थे । मेयर बोल्दा पनि ताली पिट्थे । तर, अरू कोही बोल्दा पनि चासो थिएन । पार्टी कमिटीको बैठकमा कमिटीमै नरहेका मान्छे पसेका थिए । हलको घटनाक्रम हेर्दा घटना सुनियोजित रूपमा नै भएको देखिन्छ । यद्यपि, यस्तो योजना कहाँ र कसले बनायो थाहा भएन ।

ती केटाहरूले बीचबीचमा कानेखुसी पनि गरेका थिए भन्ने अरू साथीहरूको कुरा थियो । म अर्को कार्यक्रममा जानुपर्ने भएकाले छोटो नै बोलेको थिएँ, सकिने वेलातिर नाराबाजी गरेका हुन् । यो बिल्कुलै अराजनीतिक प्रवृत्ति हो । गैरराजनीतिक चरित्र देखाइयो । यस्तो प्रवृत्तिले असफलता मात्रै भोग्ने हो । जसले प्रश्रय दिन्छ ऊ पनि सिद्धिन्छ । जंगलमा आगो लगाएर रूख जोगाउन सकिन्न । खराब सोचले आफैँलाई सक्छ । यस विषयमा पार्टीभित्र पनि छलफल होला ।