मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार १७:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणहिटीकाे ‘श्री सदन’ सर्वसाधारणका लागि खुला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार १७:३१:००

नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । 

आजबाट खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए । इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन–अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए । 

देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदिका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नेपाली इतिहासमा २४० वर्षीय शाह वंशीय इतिहासको साक्षत् नमुनाको रूपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए ।  

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिडका कारण सम्भव नभएको बताए । 

अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए ।  ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको पनि उनले बताए । 

अझै मनाङ, मुस्ताङ, जाजरकोटजस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रमअनुसार सबै खुला हुने जानकारी दिए । 

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरूप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । 

यस्तै, तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकाेप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ । 

०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए ।

अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार संग्रहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो ।

तस्बिर : विकिपिडियाबाट